ललिता निवास जग्गा प्रकरण- ९ जनाविरुद्ध किन चलेन मुद्दा !

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ २६, २०७६
|
|
२७ पटक हेरिएको
Shares
ललिता निवास जग्गा प्रकरण- ९ जनाविरुद्ध किन चलेन मुद्दा !

सारांश

  • काठमाडौं ।
  • बालुवाटारको सरकारी जग्गा हिनामिना काण्डमा संलग्न रहेको भनिएका नेकपाका महासचिव विष्णु पौडेल, मन्त्रिपरिषद्बाट निर्णय गराउने तत्कालीन प्रधानमन्त्री माधव नेपाल, बाबुराम भट्टराईलगायत ९ जनाले उन्मुक्ति पाएका छन् ।
  • उक्त जग्गा प्रकरणमा संलग्न भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन पूर्वमन्त्री र तीन पूर्वसचिवसहित १७५ जना विरुद्ध मुद्दा दायर गरे पनि पौडेलसहित ९ जनालाई उन्मुक्ति दिएको छ ।

काठमाडौं । बालुवाटारको सरकारी जग्गा हिनामिना काण्डमा संलग्न रहेको भनिएका नेकपाका महासचिव विष्णु पौडेल, मन्त्रिपरिषद्बाट निर्णय गराउने तत्कालीन प्रधानमन्त्री माधव नेपाल, बाबुराम भट्टराईलगायत ९ जनाले उन्मुक्ति पाएका छन् ।

उक्त जग्गा प्रकरणमा संलग्न भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन पूर्वमन्त्री र तीन पूर्वसचिवसहित १७५ जना विरुद्ध मुद्दा दायर गरे पनि पौडेलसहित ९ जनालाई उन्मुक्ति दिएको छ । अनौठो नजिर कायम गर्दै अख्तियारले जग्गा फिर्ता गर्ने प्रतिबद्धता गरेका कारण महासचिव पौडेलविरुद्ध मुद्दा नचलाइएको जनाएको छ । यस्तै सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीले पनि जग्गा फिर्ता गर्ने प्रतिबद्धता जनाएको भन्दै अख्तियारले मुद्दा चलाएको छैन ।

तर, बालुवाटारका योजनाकारसँग जग्गा किनेका ६५ जना सर्वसाधारणको भने जग्गा जफत गर्न मुद्दा चलाइएको छ । पौडेलका छोरा नवीन र रेग्मीले जग्गा फिर्ता गर्ने बताएकाले मुद्दा नचलाउने निर्णय भएको अख्तियारले आफ्नो मिसिलमा लेखेको छ ।

यस्तै अख्तियारले मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने मन्त्री विजयकुमार गच्छदार, चन्द्रदेव जोशी र डम्बर श्रेष्ठमाथि मुद्दा चलाएको छ । तर, निर्णय गराउने पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईले भने उन्मुक्ति पाएका छन् । पूर्वप्रधानमन्त्री नेपालको हकमा २०६७ सालमा मन्त्रिपरिषद्बाट भएको निर्णयमा अख्तियार प्रवेश गर्न नमिल्ने भएकाले मुद्दा दर्ता नगरिएको अख्तियारले जनाएको छ ।

यस्तै पूर्वप्रधानमन्त्री भट्टराईको हकमा पनि २०६९ सालमा गुठीका नाममा कायम गर्ने भनी गरेको सैद्धान्तिक निर्णयमा अख्तियार प्रवेश गर्न नमिलेकाले प्रतिवादी नबनाएको जनाइएको छ । यस्तै पूर्वमुख्यसचिव माधव घिमिरेको निधन भइसकेकाले उनका विषयमा प्रवेश नगरिएको अख्तियारले जनाएको छ । अर्का पूर्वमुख्यसचिव लीलामणि पौड्याल मन्त्रिपरिषद्को निर्णय प्रमाणित गरी त्यसबारे पत्राचारमात्रै गरेकाले उनीविरुद्ध मुद्दा चलाउन उचित नदेखिएको अख्तियारको ठहर छ ।

पूर्वभूमिसुधार अधिकारी उमानाथप्रसाद ज्ञवालीलाई राणा परिवारको जग्गामा मोहि कायम गर्ने निर्णय गरे पनि प्रत्यक्ष रूपमा सरकारी जग्गा हानी भएको नदेखिएको भन्दै अख्तियारले चोख्याएको छ । पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहलाई पनि अतियारले प्रत्यक्ष रूपमा संलग्न नदेखिएको भन्दै उन्मुक्ति दिएको छ । जब कि जग्गा बकस लिएको भन्दै उनकी श्रीमती उर्मिला शाहविरुद्ध मुद्दा दायर भएको छ ।

यस्तै अख्तियारले पूर्वसहचिव गेहनाथ भण्डारीलाई पनि उन्मुक्ति दिँदै उनकी पत्नी र सासुविरुद्ध मुद्दा चलाइएको छ ।

पौडेलको जग्गा बैंकमा

सरकारी जग्गा किनेका नेकपाका महासचिव विष्णु पौडेलेका छोरा नवीन पौडेलले सो जग्गा साविक यती डेभलपमेन्ट बैंकमा राखेर ४९ लाख ऋण लिएको खुलासा भएको छ ।

साविकको यती डेभलपमेन्ट बैंक हालको महालक्ष्मी विकास बैंकसँग मर्ज भएको थियो । ललिता निवासको सरकारी जग्गा भूमाफियासँगको मिलेमतोमा व्यक्तिगत बनाएको सार्वजनिक भएसँगै नेकपा महासचिव पौडेलले समेत ८ आना जग्गा छोराको नाममा किनेको खुलेको थियो ।

सोही जग्गा बैंकमा राखेर उनले ऋण निकालेका हुन् । पौडेलले ललिता निवासको रजिष्ट्रेसन नम्बर ४१७ ‘क’ को जग्गा धितोमा राखेर कर्जा लिएको स्रोतले बतायो । उनले २०७० कात्तिक ४ गते ऋण लिएको पाइएको छ । अख्तियारले सो जग्गा सरकारको नाममा ल्याउन निर्देशन दिइसकेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?