लोकतन्त्रको आज एक दशक…

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख ११, २०७५
|
|
२३ पटक हेरिएको
Shares
लोकतन्त्रको आज एक दशक…

सारांश

  • काठमाडौं – मुलुकको जीवनमा एक दशक छोटो हुन सक्ला तर व्यक्तिका निम्ति यो एक युग हो ।
  • तथापि, हाम्रो मुलुकका निम्ति बितेको दशक विश्वकै लागि अपत्यारिलो हुने गरी घटनाप्रधान रह्यो ।
  • प्रत्येक दशकमा कुनै न कुनै राजनीतिक परिवर्तन भोग्दै आएको मुलुक अब संक्रमणकाल अन्त्य भई स्थिरतातर्फ प्रवेश गर्ने अपेक्षा हुँदैछ ।

काठमाडौं – मुलुकको जीवनमा एक दशक छोटो हुन सक्ला तर व्यक्तिका निम्ति यो एक युग हो । तथापि, हाम्रो मुलुकका निम्ति बितेको दशक विश्वकै लागि अपत्यारिलो हुने गरी घटनाप्रधान रह्यो ।

प्रत्येक दशकमा कुनै न कुनै राजनीतिक परिवर्तन भोग्दै आएको मुलुक अब संक्रमणकाल अन्त्य भई स्थिरतातर्फ प्रवेश गर्ने अपेक्षा हुँदैछ । जनआन्दोलन २०६२/६३ नेपाली राजनीतिक इतिहासका निम्ति यस्तो कालखण्ड हो, जसले मुलुकको भाग्य र भविष्य फैसला गर्न सक्ने निर्णय गरेको छ।

जनआन्दोलनमा सहभागी सात दल र माओवादीको सहकार्यले मुलुकमा नयाँ परिस्थिति निर्माण गरेको हो । त्यसलगत्तै संविधानसभा निर्वाचनपछि माओवादी सबैभन्दा ठूलो दल बनेर सरकार मात्र बनाएन तत्कालीन प्रधानसेनापति रुक्मांगद कटवाललाई हटाउने विवादास्पद निर्णयमा समेत संलग्न भयो । तर, त्यो निर्णय तत्कालीन राष्ट्रपति रामवरण यादवबाट उल्ट्याइएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले पदबाट राजीनामा दिएका थिए।

पहिलो संविधानसभाले संविधान जारी गर्न नसकेको मात्र होइन प्रमुख दलहरूबीचको सम्बन्ध खल्बलिएको थियो । त्यति हुँदाहुँदै पनि दोस्रो संविधानसभा निर्वाचन मात्र भएन त्यसले संविधानसमेत जारी गर्‍यो । २०७२ वैशाख १२ को भूकम्पले तङ्ग्रिन नपाइरहेका बेला दलहरूले आपसमा मिलेर संविधान जारी गर्ने तारतम्य मिलाए।संविधान जारी गर्ने बेलामा देखिएको अस्थिरतापूर्ण राजनीतिक अवस्था, भारतको नाकाबन्दी आदिलाई दलहरूले चिर्न सक्नु बितेको दशकको उपलब्धि हो।

संसारभर शान्ति प्रक्रियामा प्रवेश गरेका मुलुक फेरि हिंसामा फर्केका उदाहरण छन् । तर, नेपालले आफ्नै विशेषतायुक्त शान्ति प्रक्रियालाई अपनाएन मात्र संक्रमणलाई एउटा निष्कर्षमा पुर्‍याउने कामसमेत गरेको छ।मुलुकको शान्ति प्रक्रिया र संविधान निर्माण विश्वका द्वन्द्वग्रस्त मुलुकका निम्ति एउटा उदाहरण बन्न पुगेको छ । यति हुँदाहुँदै पनि सशस्त्र द्वन्द्वपीडितको समस्या भने सम्बोधन भइसकेको छैन । राजनीतिक समस्या समाधान गरिसकेका हुनाले आगामी दिनमा सशस्त्र द्वन्द्वपीडितका पीडामा प्रमुख राजनीतिक दल र सरकारले मलम लगाउने आशा भने अझै मरिसकेको छैन।

बितेको दशक राजनीतिक सहमति र सहकार्यको दशक पनि हो । कुनै बेला एउटाले अर्कोलाई सिध्याउन हिँडेका दलहरू आज एकअर्कासँग सहकार्य गरिरहेका छन् । नेकपा एमाले र माओवादी केन्द्रले आपसमा मिलेर प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन मात्र लडेनन् अहिले यी दुई मिलेर एउटै कम्युनिस्ट पार्टी निर्माण प्रक्रियामा समेत जुटेका छन् । तर, यसले मूर्तरुप लिनेमा आशंका भने नरहेका होइनन्।

बितेको दशक नेपाली कांग्रेसले आफूलाई लोकतन्त्रको पर्यायका रुपमा उभ्याउँदै आएको हो । अधिकांश सरकारको नेतृत्व पनि उसैले गरेकोमा अहिले आएर दोस्रो ठूलो दलका रुपमा रहेको छ । वाम दलहरूको वर्चस्वबीच आफ्नो राजनीतिक विरासत जोगाउनुपर्ने अवस्थामा कांग्रेस आइपुगेको छ । राजनीतिमा स्थायी शत्रु र मित्रु हुँदैनन् भन्ने सिद्धान्तको पक्का अनुयायीका रुपमा रहेका दलहरूले कुनै पनि धु्रव परिवर्तन गर्नु अनौठो छैन । आज विरोधी देखिएको दल भोलि घनिष्ठ मित्रमा अनूदित भइसकेको हुन्छ।

आजको नागरिक दैनिकबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?