विकास र समृद्धिमा सहकार्य हुन्छ, ओली राष्ट्रवादी नेता हुनुहुन्छ: राजेन्द्र लिङ्देन

Shikharkhabar Shikharkhabar
|
शनिबार, पौष १, २०७४
|
|
२४ पटक हेरिएको
Shares

सारांश

  • राजेन्द्र लिङ्गदेन राप्रपाका महामन्त्री हुन् ।
  • देशभर कांग्रेससँग गठबन्धन भए पनि झापा–३ मा वामपन्थीसँग मिलेर उनले कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलालाई पराजित गरे ।
  • उनीसँग चुनावलगायत विविध विषयमा भएको छोटो कुराकानी: जुन हिसाबले कांग्रेसले झापामा धोका दियो, त्यसबेला देशैभर वामपन्थीसँग तालमेल गर्न सम्भव थिएन ।

राजेन्द्र लिङ्गदेन राप्रपाका महामन्त्री हुन् । देशभर कांग्रेससँग गठबन्धन भए पनि झापा–३ मा वामपन्थीसँग मिलेर उनले कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलालाई पराजित गरे । उनीसँग चुनावलगायत विविध विषयमा भएको छोटो कुराकानी:

जुन हिसाबले कांग्रेसले झापामा धोका दियो, त्यसबेला देशैभर वामपन्थीसँग तालमेल गर्न सम्भव थिएन । त्यसैकारण झापामा कम्युनिस्टसँग तालमेल गरेका हौँ ।

तेस्रो पटकको कोसिसपछि विजयी बन्नुभएको छ, तपाईँको भूमिका के हुनेछ ?

जनप्रतिनिधिको हिसावमा आफ्नो क्षेत्रको विकास निर्माणका लागि मेरो नेतृत्वदायी भूमिका रहनेछ । राष्ट्रियरूपमा नीति निर्माण तहमा एउटा जनप्रतिनिधि भएको हिसाबमा मेरो भूमिका नै रहन्छ । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीको महामन्त्रीको हिसाबमा पार्टीको अहिलेको हारको समीक्षा गर्दै पार्टीलाई वैकल्पिक राजनीतिक दलका रूपमा स्थापित गर्नका लागि मेरो महŒवपूर्ण भूमिका रहन्छ । अब केन्द्रीय समितिको बैठक बसेर समीक्षा गरेर अघि बढाउँछौँ । अब दोहोरो भूमिका रहन्छ, पार्टीको जिम्मेवारीका हिसाबमा र जनप्रतिनिधि भएको हिसावमा ।

कांग्रेसका प्रभावशाली नेतालाई पराजित गर्नुभयो, जित्छु भन्ने लागेको थियो ?

मेरो कस्तो इच्छा थियो भने एकपटक जनताको बीचबाट निर्वाचित हुन सकुँ । आफ्नो क्षेत्रको पछौटेपन हटाउन कोसिस गरुँ भन्ने थियो, त्यो यस पटक पूरा भएको छ । खासगरी उहाँ (कृष्णप्रसाद सिटौला) समानुपातिक छाडेर प्रत्यक्षमा आइ उहाँलाई नै पराजित गर्ने मेरो इच्छा पूरा गरिदिनुभएको छ । सिटौलालाई धन्यवाद दिन चाहन्छु ।

मुलुकभर कांग्रेस र राप्रपा मिलेर गठबन्धन गरिएको छ तर तपाईँले त कांग्रेसकै नेतालाई पराजित गर्नुभयो । के हो यो पारा ?

त्यसबारे म खासै टीकाटिप्पणी गर्न चाहन्न । नेपाली कांग्रेसले राप्रपाप्रति जुन हिसाबको बेइमानी ग¥यो त्यसबारे के चर्चा गरुँ ? सबै सहमति भएर कागजपत्र आदान–प्रदान भएर पनि जब्बर भएर झापा–३ मा उठेर सिटौलाजी पराजित हुनुभएको हो । अन्तिम समयमा आएर नेपाली कांग्रेसले जुन धोकापूर्ण काम ग¥यो त्यसबारे टिप्पणी गर्न चाहन्न । नेपाली कांग्रेसका नेता सिटौलालाई जितेर जनताको सेवा गर्ने मेरो उत्कट चाहनालाई उहाँले नै पूरा गरिदिनुभएकामा हार्दिक धन्यवाद दिन चाहन्छु । देशभर अन्य ठाउँमा कांग्रेससँग तालमेल हुनु र झापामा कम्युनिस्टसँग गठबन्धन गर्ने निर्णय केन्द्रीयस्तरकै हो । जुन हिसाबले कांग्रेसले झापामा धोका दियो, त्यसबेला देशैभर वामपन्थीसँग तालमेल गर्न सम्भव थिएन । त्यसैकारण झापामा कम्युनिस्टसँग तालमेल गरेका हौँ ।

यो तालमेल आवश्यक थियो कि संयोग ?

यसलाई संयोग पनि भन्नुपर्यो । यो तात्कालिक परिस्थितिका लागि आवश्यक पनि थियो । जसरी पनि सिट जित्नुपर्ने बाध्यताका कारण यस्तो तालमेल आवश्यक थियो ।

अब प्रत्यक्षतर्फ निर्वाचित हुने तपाईँमात्रै एक्लो सांसद हुनुभएको छ राप्रपाबाट । थ्रेस होल्ड कट्ने सम्भावना पनि देखिन्न, अब तपाईँको हैसियत के रहन्छ संसद्मा ?

संसदीय फाँट संवैधानिक व्यवस्थाअनुसार मेरो हैसियत स्वतन्त्र हुने नै छ । तर पार्टीको जिम्मेवार व्यक्ति भएको हिसाबमा मेरो केही जिम्मेवारी भने रहन्छन् । पार्टीका केही जिम्मेवारी हुन्छन्, जनप्रतिनिधिका हिसाबमा हुने हैसियत नै मेरो संसद्मा रहनेछ । त्यसबाहेक विकास निर्माणका सन्दर्भमा मैले गर्नुपर्ने काम यथावत् नै हुनेछन् ।

तपाईँको पार्टीको हिन्दु राष्ट्र र सवैधानिक राजसंस्थाको अजेन्डा मन पराएर मतदाताले मत दिएकोजस्तो लाग्छ ? अब त ती अजेन्डा एक्सपायर भए, हैन र ?

मैले चुनावका बेला मुख्य प्राथमिकता विकास निर्माणमा नै दिएको थिएँ । अहिले पनि जिल्लामा विकास र केन्द्रमा राजनीति भन्ने मेरो मान्यता छ । अब जहाँसम्म मेरो पार्टीको अजेन्डाको सवाल छ, त्यसमा लेनदेनको विषय जोडिन्छ । अब मेरो क्षेत्रमा अन्य पार्टीले मेरो अजेन्डा मन पराएर भोट दिएका पनि हैनन् र अन्य क्षेत्रमा मेरो पार्टीका साथीहरूले एमाले र माओवादीको अजेन्डा मन पराएर भोट दिएका पनि छैनन् । यो संसदीय गणित हो, जुनसुकै हालतमा जित्नका लागि थियो । यो जित्नका लागिमात्रै हो । राजतन्त्र र हिन्दु राज्यको कुरा बिकाउ अजेन्डा हैनन् । यो फरकखाले राजनीतिक विचार हो, यो कालान्तरमा देशीय आवश्यकता हो भनेर पार्टीले स्वीकार गरेको पार्टीको राजनीतिक लाइन हो ।

तपाईँको बुझाइमा यो अजेन्डा अझै काम लाग्ला ?

यो बिकाउ र पपुलिस्ट अजेन्डा भन्दा पनि पार्टीको राजनीतिक दर्शन हो । अब बाटो बाटोमा ठीक हो होइन भनेर टुंग्याउने विषय हैन । यो पार्टीको राजनीतिक लाइन हो । महाधिवेशनबाट पारित प्रस्ताव हो । यसलाई हामी छलफलका माध्यबाट टुंगोमा पु¥याउने नै छौँ । कति उचित र अनुचित थियो, यसलाई हामी पक्कै समीक्षा गर्नेछौँ ।

तपाईँ अजेन्डा र विचार नमिल्ने कम्युनिस्ट पार्टीसँग तालमेल गर्नुभयो । अब तपाईँका राजनीतिक लाइन कामयावी होला र ?

यो अजेन्डा र विचारको विषय हैन । यो त प्रतिनिधिसभातर्फ जसरी पनि विजय हासिल गर्ने विषय थियो । त्यो तात्कालिक थियो । झापाका अन्य ४ क्षेत्रमा भने वाम उम्मेदवारलाई सहयोग गरेका थिए नि त । न मलाई सघाउँदा वामपन्थीको अजेन्डा मान्नुपर्ने थियो न राप्रपालाई सघाउँदा उनीहरूको अजेन्डा मान्नुपर्ने थियो । त्यसैले यो चुनावी तालमेलमात्रै थियो । यो मेरोमात्रै विषय पनि थिएन । राप्रपाका अध्यक्ष कमल थापा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच कुरा भएर तालमेल भएको हो ।

तपाईँको पार्टीले प्रत्यक्षमा एकमात्रै सिट जितेको अवस्थामा कसरी अगाडि बढ्ने त ?

एउटा जनप्रतिनिधिको हिसाबमा क्षेत्रप्रतिको दायित्व र प्रतिनिधिसभामा पूरा गर्ने भूमिका सशक्त ढंगमा निर्वाह गर्नेछु । अब पार्टीभित्र हामी गम्भीर समीक्षा गर्छौँ । कहाँ कमजोरी भयो त्यसलाई समीक्षा गरेर अबको ५ वर्षभित्र सशक्त पार्टी बनाउने अभियानमा जुट्ने छौँ । दोस्रो संविधानसभामा हामीले प्रत्यक्ष जित्न सकेका थिएनौँ, अहिले प्रत्यक्षमा जितेका छौँ । एउटा चुनाव हार्दैमा पार्टी सकिने भन्ने हँुदैन, अब फेरि हामी अगाडि बढ्न सक्छौँ ।

पार्टी सानो आकारमा खुम्चिएपछि तपाईँ राजनीतिक भविष्य सुनिश्चित गर्नका लागि अन्य पार्टीमा प्रवेश गर्ने तयारी गर्नुभएको हल्ला छ नि ? एमालेसँग त सहमति नै भएको छ रे ?

यो वाहियात कुरा हो । म आफैँ पार्टीको नेता हुँ, महामन्त्री हुँ । मेरो विजयले मुलुकभरका साथीले आशा र भरोसा गर्नुभएको छ । त्यो निराधार हो । अर्को कुरा के भने प्रतिनिधिसभा निर्वाचनमा सहकार्य भयो, वामपन्थी दलसँग अब फेरि पनि विकास र समृद्धिको सवालमा भने सहकार्य हुन सक्छ । अब पार्टी सानो भयो भन्दैमा फेर्ने भए म २०६२–६३ पछि नै पार्टी फेरेर सांसद, मन्त्री भइहाल्थेँ नि, यो मेरो कल्पनाभन्दा बाहिरको विषय हो । केपी शर्मा ओली आदरणीय र राष्ट्रवादी नेता हुनुहुन्छ । म अत्यन्त सम्मान गर्छु, उहाँले पनि एउटा देशभक्त, जात/गोत्रको राजनीतिभन्दा माथि उठेर मलाई माया गर्नुहुन्छ । यसबाहेक अरु केही छैन ।

प्रस्तुति : युवराज विवश/नागरिक न्युज

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    Nand Gurung

    we hope so.

    Comment Author

    Keshab Khatri

    Ligdenji alikati pani buddi xa vane kamale pachaadi laagna chodnus.

    Comment Author

    Bishnu Begha

    Aaja kamale ko paxi lageko vaye lingden jiu yesari bolne haisiyat ma hunu hunna thiyo tesai le kamale bata tada nai rahe thin hola vanxu ma

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?