विदेशी शक्तिले चुनावमा लगानी गरेर राजनीतिमा विकृति ल्याउन खोजेको आरोप
सारांश
- काठमाडौं, १० चैत ।
- राष्ट्रिय जनमोर्चाले विदेशी शक्तिले गत निर्वाचनमा लगानी गरेर देशको राजनीति र निर्वाचनमा विकृति विकृति ल्याउने काम गरेको आरोप लगाएको छ ।
- अध्यक्ष चित्रबहादुर केसीले आज विज्ञप्ति जारी गरी त्यस्तो आरोप लगाएका हुन् ।
काठमाडौं, १० चैत । राष्ट्रिय जनमोर्चाले विदेशी शक्तिले गत निर्वाचनमा लगानी गरेर देशको राजनीति र निर्वाचनमा विकृति विकृति ल्याउने काम गरेको आरोप लगाएको छ । अध्यक्ष चित्रबहादुर केसीले आज विज्ञप्ति जारी गरी त्यस्तो आरोप लगाएका हुन् ।
विज्ञप्तिमा युरोपियन यूनियन (इयु)ले गत प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनको अनुगमन प्रतिवेदनमा “खस आर्यलाई आरक्षण सूचीबाट हटाउन” सुझाव दिएको विषयमा र कतिपय कुटनीतिक नियोग एवं अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका अधिकारीहरुले कुटनीतिक आचारसंहिताको उल्लंघन गर्दै स्वच्छन्द प्रकारले राजनीतिक तथा प्रशासनिक तहका उच्च अधिकारीहरुलाई भेट्ने गरेको कुराप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ । नयाँ संविधान लेखनको क्रममा नै यूरोपियन युनियनका केही देशका कुटनीतिक नियोगहरुले नेपालमा संघीय व्यवस्था लागू गर्न र त्यस प्रकारको संघीय व्यवस्था जातीय र क्षेत्रीय आधारमा निर्माण गर्न निकै दवाव दिने गरेको विज्ञप्तिमा उल्लेख छ । भारतले एक मधेश, एक प्रदेशसहितको क्षेत्रीय संघीय संरचना निर्माण गर्न दवाव दिएको उल्लेख गर्दै अध्यक्ष केसीको विज्ञप्तिमा भनिएको छ, “यस प्रकारका वाह्य राजनीतिक शक्तिले गत निर्वाचनमा पनि लगानी गरेर हाम्रो देशको राजनीति र निर्वाचनमा विकृति ल्याउने काम गरे ।”
विदेशीहरुबाट पहिले देशमा जातीय र क्षेत्रीय हिंसा उत्पन्न गराउने र राष्ट्र विखण्डन गर्ने प्रयत्न भएको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ, “अहिले ईयुले त्यही प्रकारले हाम्रो मिलेको समाज व्यवस्थालाई खलल पार्न प्रयत्न गरेको छ । यो व्यवस्थाका विरुद्ध प्रतिवेदन दिएर एउटा स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न देशको संविधानको हस्तक्षेप गरेको छ ।” उक्त प्रतिवेदनलाई सरकार, राजनीतिक दल र संघसंस्थाहरुले सच्चाउन माग गर्दा समेत प्रतिवेदन नसच्चाउने भनि नेपालको संविधान र नेपाली जनतालाई चुनौती दिएको विज्ञप्तिमा उल्लेख छ । ईयुको उक्त हठप्रति गम्भीर विरोध प्रकट गर्दै कतिपय जातिवादी र क्षेत्रीयतावादी राजनीतिक संगठन र संस्थाले ईयुको उक्त सुझावलाई समर्थन गरेकामा त्यसलाई गलत भन्दै पार्टीले विरोध गरेको छ ।
प्रदेशसभा र प्रतिनिधिसभाको चुनावपछि राज्यका विभिन्न तहका निकाय, मुख्यमन्त्री, मन्त्री र उच्च तहका अधिकारीहरुलाई कतिपय कुटनीतिक नियोगका अधिकारीहरुले स्वच्छन्द प्रकारले भेटघाट गर्ने गरेको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्न सरकारले भेट्ने समय र भेटघाटको विषय खुलाएर पराष्ट्र मन्त्रालयको पूर्व स्वीकृति लिएर भेटघाट गर्न निर्देशन गरेकोमा पार्टीले त्यसको स्वागत गरेको छ । नेपालको अन्तरिम र अस्थिर राजनीतिक कालमा नेपालस्थित विशेषगरी भारतीय, अमेरिकी, युरोपियन युनियन र यिनीहरुद्वारा सञ्चालित विकास आयोजनामार्फत पनि गम्भीर रुपमा कुटनीतिक आचरण विरुद्धको काम भएको विज्ञप्तिमा उल्लेख छ । त्यसले नेपालको राजनीति र स्वतन्त्रतामा गम्भीर रुपले नकारात्मक प्रभाव परेको राष्ट्रिय जनमोर्चाको ठहर छ ।
विदेशी चलखेलका कारण नेपाली राजनीति प्रदुषित भएको उल्लेख गर्दै अध्यक्ष केसीको विज्ञप्तिमा त्यसको विरोध गरिएको छ । हाम्रो समाज र राष्ट्रमा विग्रह र विखण्डन ल्याउने कार्यप्रति गम्भीर बन्न सबैमा आग्रह गर्दै आवश्यक परे उनीहरुलाई देशबाट निष्काशन गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ । विश्वका कतिपय देशले आफ्नो देशको स्वतन्त्रता, स्वाधीनता र राष्ट्रिय हितलाई ध्यानमा राखी त्यसो गरेका उदाहरण दिँदै कुटनीतिक नियोगलाई आफ्नो सीमा र आचरणमा बस्न तथा सरकारलाई ती विषयमा सचेत रहन विशेष आग्रह गरिएको छ ।
प्रतिक्रिया