विद्यालय बन्द गरी विशाल प्रदर्शन गर्ने
सारांश
- काठमाडौं, १४ मंसिर ।
- नेपाल शिक्षक महासंघले आफ्नो आन्दोलनलाई सशक्त बनाउने भएको छ ।
- यसअघि प्रचारात्मक र अन्तक्र्रियात्मक पहिलो र दोस्रो चरणका आन्दोलनका गरेको महासंघ तेस्रो चरणको आन्दोलनलाई भने प्रतिरोधात्मक बनाउने भएको हो ।
काठमाडौं, १४ मंसिर । नेपाल शिक्षक महासंघले आफ्नो आन्दोलनलाई सशक्त बनाउने भएको छ । यसअघि प्रचारात्मक र अन्तक्र्रियात्मक पहिलो र दोस्रो चरणका आन्दोलनका गरेको महासंघ तेस्रो चरणको आन्दोलनलाई भने प्रतिरोधात्मक बनाउने भएको हो । शिक्षक महासंघको केन्द्रिय कार्यालय केशरमहलमा विहिवार पत्रकार सम्मेलन गर्दै महासंघले तेस्रो चरणको आन्दोलनलाई सशक्त र प्रतिरोधात्मक बनाउँदै लग्ने उद्घोष गरेको हो ।
शिक्षक महासंघ २०७५ जेष्ठ १७ गतेबाट निरन्तर आन्दोलनमा रहेको छ । पहिलो र दोस्रो चरणका प्रचारात्मक तथा अन्तरक्रियात्मक आन्दोलन पूरा गदा समेत सरकार शिक्षकका माग प्रति गम्भीर र सम्वेदनशिल नभएको महासंघले आरोप लगाएको छ । यसक्रममा पालिका, जिल्ला र प्रदेशमा ठूला ठूला धर्ना जुलश र विरोध सभा सम्पन्न भइसकेका छन् । आन्दोलनका क्रममा सकेसम्म विद्यालय बन्दका कार्यक्रम नल्याउने नीति भए पनि सरकारको शिक्षक आन्दोलन प्रतिको उपेक्षा तथा हेलचेक्र्याइँपूर्ण व्यवहारका कारण महासंघ विद्यालय बन्द गरी आन्दोलन गर्न हामी बाध्य भएको महासंघका अध्यक्ष बाबुराम थापाले बताए ।
यसैक्रममा महासंघले २०७५ मङ्सिर १४ गते शुक्रबारका दिन काठमाडौं, भक्तपुर, ललितपुर जिल्लाका सबै सामुदायिक विद्यालय बन्द गरी सबै प्रधानाध्यापक, शिक्षक तथा विद्यालय कर्मचारीहरुको काठमाडौंमा विशाल जुलुश तथा विरोध सभा गर्न लागेको अध्यक्ष थापाले स्पष्ट पारे ।शुक्रवार आन्दोलनको दिन भएको बन्दका कारण छुटेको पठनपाठन कार्य २०७५ मङ्सिर २९ गते शनिबार सम्पन्न गर्न समेत अध्यक्ष थापाले विद्यालयहरुसँग आग्रह गरे । नेपाल शिक्षक महासंघ शिक्षक सेवा आयोगलाई संवैधानिक बनाउनुपर्ने, विद्यालय तहको शिक्षा संघ, प्रदेश र स्थानीय तहको साझा अधिकार सुचिमा राख्नुपर्ने, प्रदेश र स्थानीय तहले संघीय शिक्षा ऐन अनुसार नै शिक्षा ऐन बनाउनुपर्ने माग राखेर आन्दोलनमा छन् ।
यसैगरी, शिक्षक काउन्सिलको व्यवस्था गर्नुपर्ने, शिक्षक कर्मचारीसँग भएका विगतका सम्झौता कार्यान्वयन हुनुपर्ने, शिक्षक अस्पतालको व्यवस्था गर्नुपर्ने, समयसापेक्ष तलववृद्धि हुनुपर्ने, प्राविधिक धारतर्फ कार्यरत शिक्षकको दरबन्दी सिर्जना गरी सेवा, शर्त र सुविधाको सुनिश्चितता हुनुपर्ने महासंघको माग रहेको छ ।
प्रतिक्रिया