विधान मस्यौदा समितिको बैठक रामचन्द्र पौडेल पक्षधरद्वारा बहिष्कार
सारांश
- काठमाडौं, ८ भदौ ।
- नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा बसेको पार्टीको विधान मस्यौदा समितिको बैठकलाई रामचन्द्र पौडेल पक्षधरका नेताहरुले बहिष्कार गरेका छन् ।
- कांग्रेसले बिहीबार गठन गरेको विधान मस्यौदा समितिमा असन्तुष्टि जनाउँदै पौडेल पक्षका नेताहरु शुक्रबार बिहानको बैठकमा अनुपस्थित भएका हुन् ।
काठमाडौं, ८ भदौ । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा बसेको पार्टीको विधान मस्यौदा समितिको बैठकलाई रामचन्द्र पौडेल पक्षधरका नेताहरुले बहिष्कार गरेका छन् । कांग्रेसले बिहीबार गठन गरेको विधान मस्यौदा समितिमा असन्तुष्टि जनाउँदै पौडेल पक्षका नेताहरु शुक्रबार बिहानको बैठकमा अनुपस्थित भएका हुन् ।
पहिले ९ सदस्यीय बनाउने भनिएको समिति ११ सदस्यीय बनाइएको र आफ्नो पक्षका व्यक्तिहरु कम परेकोमा पौडेल पक्षले असन्तुष्टि जनाएको हो । बैठकमा सिटौला पक्षका प्रदीप पौडेलले भने काम विशेषले उपस्थित हुन नसकेको बताइएको छ ।
बैठकमा नवीन्द्रराज जोशी, दिलेन्द्रप्रसाद बडु उपस्थित भएनन् । पौडेल पक्षका मीनेन्द्र रिजाल भने बैठकमा थिए । महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा ११ सदस्यीय मस्यौदा समिति गठन भएको हो । समितिमा डा. मीनेन्द्र रिजाल, फरमुल्लाह मन्सुर, मानबहादुर विश्वकर्मा, दिलेन्द्रप्रसाद बडू, महालक्ष्मी उपाध्याय डिना, आनन्दप्रसाद ढुंगाना, नवीन्द्रराज जोशी, सीता गुरुङ, प्रदीप पौडेल र रमेश लेखक सदस्य छन् ।
शुक्रबार समितिका संयोजक तथा महामन्त्री पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको बैठकले देशभरका सबै नेता, कार्यकर्ताको सुझाव लिएर विधान तयार पार्ने गरी औपचारिक छलफल गरिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । बैठकले समितिको सदस्य सचिवको जिम्मेवारी पार्टी केन्द्रीय कार्यालय सचिव केशव रिजाललाई दिएको छ ।
यही भदौ अन्तिम साता बस्ने भनिएको पार्टीको महासमिति बैठकमा पेश गर्ने गरी कांग्रेसले विधान संशोधन मस्यौदा निर्माणको काम शुरु गरेको हो । कांग्रेस केन्द्रीय कार्यसमितिको आजै बस्ने बैठकले महासमिति बैठकको मिति तय गर्ने बताइएको छ । मुलुक संघीयतामा गए पनि कांग्रेसले सोही अनुसारको पार्टी संरचना बनाउने विधान हालसम्म बनाउन सकेको थिएन ।
प्रतिक्रिया