विराज भट्टको फिल्मलाई १० लाख दिएको भन्दै गाउँपालिका अध्यक्षसँग स्थानीय आक्रोशित

Shikharkhabar Shikharkhabar
|
शनिबार, आषाढ ७, २०७६
|
|
१७ पटक हेरिएको
Shares
विराज भट्टको फिल्मलाई १० लाख दिएको भन्दै गाउँपालिका अध्यक्षसँग स्थानीय आक्रोशित

सारांश

  • अभिनेता विराज भट्टले निर्माण गर्न लागेको चलचित्र ‘साङ्लो’ लाई जोरायल गाउँपालिकाले १० लाख रुपैयाँ विनियोजन गरेपछि स्थानीयहरु आक्रोशित बनेका छन् ।
  • गाउँपालिकाको विकासका लागि आएको बजेटले गाउँको विकास गर्नुको सट्टा चलचित्रका लागि बजेट विनियोजन गरेको भन्दै स्थानीयहरु गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझासँग आक्रोशित बनेका छन् ।
  • गाउँ–गाउँमा सडक, विद्युत, विद्यालय लगायतका विकासका पूर्वाधारमा खर्चिनु पर्ने रकम चलचित्र बनाउन खर्चिएको भन्दै स्थानीय आक्रोषित बनेका हुन् ।

अभिनेता विराज भट्टले निर्माण गर्न लागेको चलचित्र ‘साङ्लो’ लाई जोरायल गाउँपालिकाले १० लाख रुपैयाँ विनियोजन गरेपछि स्थानीयहरु आक्रोशित बनेका छन् । गाउँपालिकाको विकासका लागि आएको बजेटले गाउँको विकास गर्नुको सट्टा चलचित्रका लागि बजेट विनियोजन गरेको भन्दै स्थानीयहरु गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझासँग आक्रोशित बनेका छन् ।

गाउँ–गाउँमा सडक, विद्युत, विद्यालय लगायतका विकासका पूर्वाधारमा खर्चिनु पर्ने रकम चलचित्र बनाउन खर्चिएको भन्दै स्थानीय आक्रोषित बनेका हुन् । स्थानीय प्रेमबहादुर मल्ल भन्छन् ‘हामीलाई फिल्म होइन, विकास चाहिएको छ ।’

गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझाले गएको जेठ २७ गते सम्पन्न पाँचौं गाउँ सभाबाट ‘साङ्लो’ चलचित्रका लागि १० लाख रुपैयाँ विनियोजन गरेको दाबी गरे । उनी भन्छन्, ‘फिल्मका लागि मैले एक्लै बजेट विनियोजन गरेको होइन, गाउँ सभाबाट बजेट विनियोजन गरिएको हो, मलाई मात्रै दोष किन ?’

तत्कालीन नेकपा एमालेबाट निर्वाचित अर्थात् हालको नेकपा सम्बद्ध जनप्रतिनिधिहरुको स्पष्ट बहुमत रहेको गाउँ कार्यपालिकामा रहेका नेपाली कांग्रेसका जनप्रतिनिधिहरुले समेत रकम विनियोजन गर्ने निर्णय गरेको गाउँपालिका उपाध्यक्ष जमुना बोहराले बताइन् । सबै दलबाट निर्वाचित जनप्रतिनिधिले रकम विनियोजन गर्न हस्ताक्षर गरेको दावी उपाध्यक्ष बोहोराले गरेकी छन । उनी थप्छिन ‘अहिले हामीलाई मात्रै दोष लगाएर उम्किने प्रयास हुँदैछ ।’

चलचित्रका लागि बजेट विनियोजन गरेको भन्दै आलोचना गर्नेहरुमा नेकपाका कार्यकर्ता र नेपाली कांग्रेससम्बद्ध सबै रहेका छन् । तर आलोचनाका विषयमा जोरायल गाउँपालिकाले हालसम्म कुनै आधिकारिक धारणा भने सार्वजनिक गरेको छैन ।

गाउँपालिका अध्यक्ष ओझा भन्छन्, ‘विराज भट्टले निर्माण गर्न लाग्नुभएको ‘साङ्लो’ फिल्मले जोरायलका विभिन्न पर्यटकीय क्षेत्रलाई समेटेको छ, अहिले पनि छायाङ्कन जारी छ, फिल्ममा जोरायल क्षेत्र समेटिएर विश्व सामु चिनिनु गर्वको विषय हो । हामीले फिल्मका लागि नभई कलाकारहरुको यातायात र खाना खर्चमा १० लाख रुपैयाँ विनियोजन गरेका हौँ ।’

गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझादेखि स्थानीय बासिन्दाहरुले पनि चलचित्रमा भूमिका निर्वाह गरेका छन् । कतिपयले जोरायलमा ‘साङ्लो’ चलचित्र छायाङ्कन हुनुलाई अवसरका रुपमा लिएका छन् भने कतिपयले बजेटको दुरुपयोग भनेको बताउँदै आएका छन् ।

स्थानीयहरुले आक्रोशित हुँदै सामाजिक सञ्जालमा टिकाटिप्पणी गर्न थालेपछि चलचित्र जोरायलमा छायाँकन गर्ने वा नगर्ने भन्ने विषयमा निर्माताहरु दोधारमा परेका छन् । ‘साङ्लो’ चलचिका नायक विराज भट्टले भने यस बारेमा केही प्रतिक्रिया नदिने बताए ।

भट्टले भने ‘जोरायलसहित समग्र सुदूर पश्चिमको कला, संस्कृतिलाई देशैभरि चिनाउनका लागि मैले निर्माण गर्न लागेको चलचित्रमा गाउँपालिकाको रकम विवाद बारे म केही बोल्दिन ।’ नायक विराज भट्ट सुदूर पश्चिमको डडेल्धुरा जिल्लाका स्थायी बासिन्दा हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?