विप्लवले कृष्ण पहाडीको ओछ्यानमुनि बम पड्काउने भनेपछि…

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष २३, २०७४
|
|
१८ पटक हेरिएको
Shares
विप्लवले कृष्ण पहाडीको ओछ्यानमुनि बम पड्काउने भनेपछि…

सारांश

  • काठमाडौं, पुस २३ ।
  •  नेपालका चर्चित मानवअधिकारकर्मी कृष्ण पहाडीले घृणा, विखण्डनलाई मलजल गर्ने मानवअधिकार संस्था वा व्यक्तिहरुबाट आफूले कुनै पनि सहानुभुति स्वीकार नगर्ने अभिव्यक्ति दिएका छन् ।
  • नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द र मधेस विखण्डनको पक्षमा वकालत गर्दै आएका डा.

काठमाडौं, पुस २३ । नेपालका चर्चित मानवअधिकारकर्मी कृष्ण पहाडीले घृणा, विखण्डनलाई मलजल गर्ने मानवअधिकार संस्था वा व्यक्तिहरुबाट आफूले कुनै पनि सहानुभुति स्वीकार नगर्ने अभिव्यक्ति दिएका छन् ।

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द र मधेस विखण्डनको पक्षमा वकालत गर्दै आएका डा. सीके राउतले आफूतर्फ केन्द्रित रही प्रकट गरेको सार्वजनिक धारणाको जवाफमा पहाडीले गम्भीर अभिव्यक्तिसहितको वक्तव्य प्रकाशित गर्दै सो धारणा व्यक्त गरेका हुन् ।

कृष्ण पहाडी, सिके राउत र विप्लववीचको त्रिपक्षीय द्वन्द्वमा चर्चित विश्लेषक सिके लाल पनि मुछिएका छन् । पहाडीले सिके राउतको आलोचना गरेकोमा सिके लालले आपत्ति जनाएका छन् । र, सिके लालको लेख सिके राउतले ‘सेयर’ गरेका छन् ।

गत मंसिर २४ गते एउटा दैनिक पत्रिकामा मानवअधिकारकर्मी पहाडीले ‘मतदानद्वारा हिंसाको खारेज’ शीर्षकमा एउटा लेख लेखेका थिए । लेखमा विप्लवको हिंसात्मक राजनीतिको आलोचना गरिएको थियो ।

डा. पहाडीले आफ्नो वक्तव्यमा भनेका छन्-

‘नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवद्वारा २०७४ पुस २० गते लिखित कृष्ण पहाडीको चित्कार शीर्षकमा ‘बम पहाडीको ओछ्यानमुनी नै पड्काउने दिन नआउला भन्न सकिँदैन’ भन्ने धारणासहित मप्रति केन्द्रित ४ पृष्ठ लामो लेख र घृणा र विखण्डनको अभियानकर्ता डा. सिके राउतले मेरा बारेमा पुस २१ गते सामाजिक सञ्जालमा ओकलेको विषयप्रति मेरो ध्यानाकर्षण भएको छ ।’

‘त्यसो त २ वर्ष अगाडि तराईको सशस्त्र समुहका मुखिया जयकृष्ण गोइतको म प्रति लक्षित आक्रोश सार्वजनिक भएकै हो । उहाँहरुको विचार आफ्नो ठाँउमा छ, तर सबैलाई म प्रष्ट पार्न चाहन्छु भय भन्ने शब्द मेरो जीवनको शब्द कोषमा छैन । मेरो भौतिक उपस्थिति र विचारको समुपस्थिति रहेसम्म हिंसाको माध्यमबाट एकदलीय कम्युनिष्ट शासन स्थापना हुन नसक्ने निचोडले विप्लव र घृणाको खेती गर्दै विखण्डनको अभिष्ट पुरा हुन नसक्ने निचोडले राउत आक्रान्त भएको देखिन्छ ।’

‘म विनम्रताका साथ विप्लवलाई स्मरण गराउँछु, मेरो एउटा लेख वा विचारले तपाईं यति आक्रोशित हुनुभएको छ भने तपाईहरुले पड्काउनुभएको बम र हिंस्रक गतिविधिले कति नागरिकको मन हाहाकार गरेको छ, कति बा आमाहरु रुनुभएको छ, कृपया तिनीहरुको चित्कार सुन्नुहोस । आफ्नो अन्तरआत्मालाई घचघच्याउनुहोस् । तपाईहरुको उर्जाको यो देशलाई खाँचो छ । आग्रह यति मात्र हो, हिंसाको मार्ग त्याग गर्नुहोस । तपाईहरुले थालेको हिंसा वैदेशिक हस्तक्षेप र विखण्डन चाहनेहरुलाई लिस्नो त बन्ने होइन ? पुनरावलोकन गर्नुहोस् ।’

‘म कसैलाई पनि शत्रु ठान्दिनँ । डा. सीके राउतलाई पनि मेरो विनम्र आग्रह छ, सदभावलाई आफ्नो उर्जाको आधार बनाउनुहोस् । घृणा र विखण्डनको मार्ग त्याग गर्नुहोस् । तपाईले अवलम्बन गरेको घृणा र विखण्डनको मार्गले मधेशको उत्थान र प्रगतिलाई नै क्षति पु¥याइरहेको त छैन ? पुनरावलोकन गर्नुहोस् ।’

‘इतिहासको कालखण्डमा लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ नागरिक स्तरबाट आन्दोलनको नेतृत्व गर्ने अवसर मैले पाएँ । मेरो उपस्थिति पूर्वराजा ज्ञानेन्द्र र राजतन्त्रको पूनस्र्थापना चाहनेहरुलाई जहिले पनि खड्किने रहेछ भन्ने तथ्य एक दशकअगाडि मेरो निवासमा बम राखिएको घटना र आरोपको खेतिले स्पष्ट गर्छ । लामो समयदेखि विरामी मेरी आमा विछ्याउनामा थला परेको बेला केही साता अगाडि मेरो निधन भएको अफवाह मेरो तस्बिरसहित केही अनलाइन सञ्चारमाध्यममा प्रकाशित गरियो भने मेरो मृत्युको समाचार सामाजिक सञ्जालहरुमा छ्यापछ्याप्ती बनाउने कोशिस गरियो । कतिपयले मप्रति श्रद्धाञ्जली समेत अर्पण गर्न र मेरो कामको लेखाजोखा गर्न समेत भ्याए । ममाथि प्रहार गर्ने क्रममा मेरा सात पुस्तालाई गाली गर्ने र ८० वर्ष नाघेका मेरा परिवारका सदस्यलाई सामाजिक सञ्जालमा निशाना सोध्नेहरुको मानसिकताप्रति मलाई दया लागेर आउँछ ।’

‘भविष्यमा विप्लवले मेरो ओछ्यानमुनि बम पड्काउने र घृणा र विखण्डनका अभियानकर्ताले मेरो छातीमा बन्दुक तेस्र्याउने दिन आएछ भने पनि घृणा विखण्डनलाई मलजल गर्ने मानवअधिकार संस्था वा व्यक्तिहरुबाट कुनै पनि सहानुभुति म स्विकार गर्दिन । राष्ट्रिय स्वाभिमान, अहिंसा, सद्भाव, शान्ति, लोकतन्त्र, मानव अधिकारका पक्षमा मेरो विचार निरन्तर प्रवाहित भइरहने छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?