विश्व सडक सुरक्षा सप्ताह आजदेखि सुरु !
सारांश
- काठमाडौँ, २५ वैशाख ।
- चौथो संयुक्त राष्ट्रसङ्घीय विश्व सडक सुरक्षा सप्ताह आजदेखि काठमाडौँमा सुरु भएको छ ।
- संयुक्त राष्ट्रसङ्घ तथा नेपालको सडक सुरक्षासँग सम्बन्धित विभिन्न सङ्घसंस्थाको सहभागितामा सडक सुरक्षा सप्ताह सुरु भएको हो ।
काठमाडौँ, २५ वैशाख । चौथो संयुक्त राष्ट्रसङ्घीय विश्व सडक सुरक्षा सप्ताह आजदेखि काठमाडौँमा सुरु भएको छ ।
संयुक्त राष्ट्रसङ्घ तथा नेपालको सडक सुरक्षासँग सम्बन्धित विभिन्न सङ्घसंस्थाको सहभागितामा सडक सुरक्षा सप्ताह सुरु भएको हो ।
सो अवसरमा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव भीमबहादुर तामाङले सवारी दुर्घटना रोक्न प्रचलित कानुनी व्यवस्था प्रभावकारी ढङ्गले कार्यान्वयन हुन नसकेको बताउँदै “पैदलयात्रु एवम् सवारी चालकको सुरक्षाका लागि सचेतना कार्यक्रमका साथै कानुन कार्यान्वयनमा कडाइ गर्नुपर्छ भन्नुभयो ।”
प्रहरी महानिरीक्षक प्रकाश अर्यालले पछिल्लो समयमा सवारी दुर्घटनाका मुख्य कारण तीव्रगति भएको उल्लेख गर्दै सडक सुरक्षालाई ध्यान दिन पैदलयात्रु तथा सवारी चालक दुवैलाई आग्रह गर्नुभयो ।
उहाँले हालैका दिनमा नागरिकबाट सडक सुरक्षा अभिवृद्धि गर्ने सन्दर्भमा प्राप्त सकारात्मक सहयोग र समर्थनका लागि संयुक्त राष्ट्रसङ्घका प्रतिनिधिलाई धन्यवाद दिनुभयो ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक मिङमार लामाले काठमाडौँको सडकमा हुने दुर्घटनामध्ये ४० प्रतिशत पैदलयात्री रहेको बताउँदै यसलाई कम गर्नका लागि महाशाखाले काम गरिरहेको जानकारी दिनुभयो ।
संयुक्त राष्ट्रसङ्घका नेपालस्थित निर्देशक रेनड मेयरले सवारी दुर्घटनाबाट हुने मानवीय क्षतिलाई कम गर्नु अहिलेको प्राथमिकता रहेको भन्दै संयुक्त राष्ट्रसङ्घको तर्फबाट सडक सुरक्षाको क्षेत्रमा महत्वपूर्ण कदम चालेको बताउनुभयो ।
विश्वका एकसयभन्दा बढी देशमा एकैसाथ मनाइने यो कार्यक्रम नेपालमा आगामी वैशाख ३१ गतेसम्म मनाइँदैछ ।
प्रतिक्रिया