शहिदको सम्झनामा बृक्षारोपण
सारांश
- सुर्खेत, २१ साउन ।
- कर्णाली प्रदेश स्थापनाका लागि आफ्नो प्राणको बलिदानी दिने शहिदको सम्झनामा देउती बज्यै सामुदायिक वनको चारकुनेमा बृक्षारोपण गरिएको छ ।
- याम बिसी स्मृति प्रतिष्ठानको आयोजनामा सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आज (सोमबार) बृक्षारोपण कार्यक्रमको आयोजना गरिएको हो ।
सुर्खेत, २१ साउन । कर्णाली प्रदेश स्थापनाका लागि आफ्नो प्राणको बलिदानी दिने शहिदको सम्झनामा देउती बज्यै सामुदायिक वनको चारकुनेमा बृक्षारोपण गरिएको छ । याम बिसी स्मृति प्रतिष्ठानको आयोजनामा सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आज (सोमबार) बृक्षारोपण कार्यक्रमको आयोजना गरिएको हो । बृक्षारोपण कार्यक्रममा कर्णाली प्रदेश सभा सदस्य पदमा खड्काले प्रमुख अतिथिको रुपमा बोल्दै तत्कालिन समयमा भएको आन्दोलनमा चार जना सपुतहरुले दिएको बलिदानीका कारण आज कर्णाली प्रदेश भएको बताउनु भयो ।
उहाँले भन्नुभयो, हामी शहिदको सपना साकार पार्छौ । यो हाम्रो जिम्मेवारी र कर्तव्य दुबै हो । शहिद परिवारले शोकलाई शक्तिमा बदलेर रचनात्मक कार्यहरु गर्नु भनेको कर्णाली प्रदेशलाई समृद्धि तर्फ लैजाने शुरुवाती भएको उहाँको भनाइ थियो । वन भएपछि जीवन हुन्छ भन्ने मान्यतालाई सर्वोपरी ठान्नु पर्ने बताउँदै प्रमुख अतिथि खड्काले भन्नुभयो, हामीले शहिदको सपनालाई साकार पार्नका लागि वर्षको एक दिन शहिद दिवस मनाउनु भन्दा पनि उनीहरुले देखाएको बाटोलाई अंगिकार गर्नु पर्दछ । शोकमा डुबेर केही हुँदैन शोकलाई शक्तिमा बदल्न सक्नु पर्छ जुन कार्य याम बिसी स्मृति प्रतिष्ठानले शुरुवात गरेको छ ।
कार्यक्रममा वीरेन्द्रनगर नगरपालिका वडा नं. ११ का वडाअध्यक्ष नन्दलाल शर्माले शहिदको रगतले सिंचित कर्णाली प्रदेशलाई समृद्धि तर्फ लैजान सबैले पहल गर्नु पर्ने र आफूले गर्नु पर्ने कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । बृक्षारोपण गर्ने क्रममा देउती बज्यै सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दीपा शर्माले भन्नुभयो, सामुदायिक वनको विकासका लागि याम बिसी स्मृति प्रतिष्ठानले बृक्षारोपणको आयोजना गरेकोमा प्रतिष्ठानलाई धन्यवाद दिँदै शहिदको सम्झनामा रोपिएका विरुवाहरुलाई जोगाउनु र हुर्काउनु सबै उपभोक्ताहरुको दायित्व हो ।
वीरेन्द्रनगर नगरपालिकाको सहयोगमा इलाका वन कार्यालयले उपलब्ध गराएका बकाइनो, बेल, खयर लगायतका १ सय ५० भन्दा बढि विरुवाहरु बृक्षारोपण गरिएको छ । बृक्षारोपण कार्यक्रममा सहभागी सबैलाई धन्यवाद दिँदै शहिद याम बिसी स्मृति प्रतिष्ठानका अध्यक्ष शेर बहादुर बुढाले यस कार्यलाई निरन्तरता दिने बताउनु भयो ।
अस्पताललाई सामग्री हस्तान्तर
सुर्खेतमा रहेको मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई विभिन्न सामग्रीहरु हस्तान्तरण गरिएको छ । कर्णाली प्रदेश स्थापनाका लागि भएको आन्दोलनमा शहादत प्राप्त गरेका ४ जना शहिदहरुको सम्झनामा याम बिसी स्मृति प्रतिष्ठानले अस्पताललाई सामग्रीहरु हस्तान्तरण गरेको हो । १२ थान बेडसिट (तन्दा) र २ वटा बाल्टिन याम बिसी स्मृति प्रतिष्ठानका अध्यक्ष एवम् शहिद याम बहादुर बिसीका पिता शेरबहादुर बुढाले हस्तान्तरण गर्नुभएको हो । क्षेत्रीय अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. डम्बर खड्कालाई उहाँले सामग्रीहरु हस्तान्तरण गर्नुभएको थियो ।
सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै अस्पताल प्रमुख मेसु डा. खड्काले आन्दोलनको समयमा भएको क्षति प्रति दुःख व्यक्त गर्नु भयो । राजनीतिक श्रेय लिन खोज्नेहरुका कारण उक्त आन्दोलनमा सर्वसाधारणले ज्यान गुमाउनु परेकोमा आफू दुःखी भएको बताउँदै शहिदहरुको आत्माको चीरशान्तिको कामना समेत गर्नुभएको थियो । शोकलाई शक्तिका रुपमा परिणत गर्दै शहिद परिवारले अस्पतालप्रति गरेको सहयोगले ठूलो सहयोग मिलेको डा. खड्काको भनाई थियो । याम बिसी स्मृति प्रतिष्ठानले गरेको सहयोग बराबर नै आफूले पनि व्यक्तगत रुपमा अस्पताललाई प्रदान गर्ने प्रतिवद्धता समेत गर्नुभएका डा. खड्काले कर्णालीको राजधानी सुर्खेतमा रहेको अस्पताललाई सबैको साथ र सहयोगले अझैँ परिस्कृत गर्दै लैजान सकिने बताउनु भयो । अस्पताल प्रतिको विश्वासका कारण पनि अस्पतालले धेरै विरामीहरुको सेवा गर्न पाएकोमा मलाई खुसी लागेको छ डा. खड्काको भनाई थियो ।
यही श्रावण १९ गतेदेखि २५ गतेसम्म शहिदहरुको सम्झनामा आयोजना गरिएको सप्ताहव्यापी कार्यक्रमहरु गरिरहेको छ । तत्कालिन आन्दोलनमा सुर्खेतका यामबहादुर बिसी, टीकाराम गौतम, गोपालसिं रजवार र जुम्लाका हरिबहादुर कुँवरले शहादत प्राप्त गरेका थिए ।
प्रतिक्रिया