संविधान कार्यान्वयनका लागि कानून निर्माण मुख्य विषय : सभामुख महरा
सारांश
- काठमाडौं, ४ साउन ।
- सभामुख कृष्णबहादुर महराले संविधान कार्यान्वयनका लागि कानून निर्माण मुख्य विषय भएको बताएका छन् ।
- शुक्रबार काठमाडौंमा आयोजित “संविधान कार्यान्वयन, संघ र प्रदेशबीचको अन्तरसम्बन्ध र दिगो विकास” विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सभामुख महराले यस्तो बताएका हुन् ।
काठमाडौं, ४ साउन । सभामुख कृष्णबहादुर महराले संविधान कार्यान्वयनका लागि कानून निर्माण मुख्य विषय भएको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित “संविधान कार्यान्वयन, संघ र प्रदेशबीचको अन्तरसम्बन्ध र दिगो विकास” विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सभामुख महराले यस्तो बताएका हुन् ।
“संविधान कार्यान्वयनका लागि संघीय संसदले धेरै कानूनहरु बनाउनुपर्ने दायित्व रहेको छ”, उनले भने, “संविधान कार्यान्वयनका लागि कानून निर्माण मुख्य विषय हो । अहिले केही कानूनहरु बनिरहेका छन् । म आशा गर्छु, सरकारले छिटोभन्दा छिटो अरु विधेयकहरु पनि ल्याउनेछ ।”
संविधान कार्यान्वयनको पहिलो कदमका रुपमा संघ, प्रदेश र स्थानीय तहको निर्वाचन सम्पन्न भएको भन्दै सभामुख महराले निर्वाचनपछि तीनवटै तहमा सरकार निर्माण गरी संघीय शासन प्रणालीको अभ्यास गरिरहेको बताए । प्रदेश र स्थानीय सरकार सञ्चालन र संघको समन्वयकारी भूमिका शुरु भइसकेको भन्दै सभामुख महराले संविधान कार्यान्वयनको ठोस–ठोस कामहरु अघि बढ्ने विश्वास व्यक्त गरे ।
जनसंख्या र विकासका लागि सांसदहरुको मञ्च नेपालले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख महराले अन्तरक्रियामा हुने छलफलले ऐन कानून निर्माण र संसदभित्र सांसदले खेल्नुपर्ने भूमिकाका बारेमा निचोड निकाल्ने आशा व्यक्त गरे । नेपालले सन् २०३० सम्म दिगो विकास लक्ष्य लिएको बताउँदै सभामुख महराले उक्त लक्ष्य हासिल गर्न सरकारले व्यक्त गरेका प्रतिबद्धतामा सांसदहरुको भूमिकाका बारेमा पनि पनि छलफल हुने विश्वास लिएको बताए ।
अन्तरक्रिया कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक देव गुरुङ, नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
प्रतिक्रिया