संसद् अधिवेशन पुस पहिलो साता
सारांश
- काठमाडौं, ६ मंसिर।
- संघीय संसद् सचिवालयले संघीय संसद्को तेस्रो अधिवेशन पुस पहिलो साता बोलाउने तयारी गरेको छ।
- सचिवालय स्रोतका अनुसार मंसिरको अन्तिमतिर बैठक आव्हान गर्ने तयारी गरिएको भए पनि नेपाली कांग्रेसको महासमिति बैठक भएकाले केही पछि सारिएको हो।
काठमाडौं, ६ मंसिर। संघीय संसद् सचिवालयले संघीय संसद्को तेस्रो अधिवेशन पुस पहिलो साता बोलाउने तयारी गरेको छ। सचिवालय स्रोतका अनुसार मंसिरको अन्तिमतिर बैठक आव्हान गर्ने तयारी गरिएको भए पनि नेपाली कांग्रेसको महासमिति बैठक भएकाले केही पछि सारिएको हो।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की संसदीय दलकी सचेतक शान्ता चौधरीले धेरैवटा विधेयक आएको र संसद्ले थोरै समयमा धेरै काम गर्नुपर्ने भएकाले बैठक पुसमा नै बोलाउन लागिएको जानकारी दिइन्।
दोस्रो अधिवेशन वैशाख २३ गतेबाट शुरु भई असोज ११ गते राति १२ बजेबाट अन्त्य भएको थियो। यो अधिवेशनमा प्रतिनिधिसभाको बैठक ७९ पटक र राष्ट्रियसभाको बैठक ६१ पटक बसेको थियो दुईवटै अधिवेशनमा दुवै सदनको बैठक एकै दिन सुरु भएर एकै दिन अन्त्य भएको थियो। संविधानको धारा ९३ मा अधिवेशनको आव्हान र अन्त्यसम्बन्धी प्रावधान छ । सरकारको सिफारिसमा राष्ट्रपतिले संसद् बैठक आव्हान र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ। दुवै सदनमा शुरु र अन्त्यमा राष्ट्रपति कार्यालयबाट पठाएको पत्र पढेर सुनाइनेछ।
२०७४ फागुन २१ गतेबाट संघीय संसद्को पहिलो अधिवेशन बसेको थियो, यो अधिवेशन चैत्र २० गतेसम्म चलेको थियो । पहिलो अधिवेशनमा राष्ट्रियसभाका १० र प्रतिनिधिसभाका ११ वटा बैठक बसेका थिए। ‘अधिवेशन समाप्ति र अर्को अधिवेशनको प्रारम्भका बीचको अवधि ६ महिनाभन्दा बढी हुने छैन’ संविधानमा लेखिएको छ। तर अधिवेशन सञ्चालन नरहेको अवस्थामा बैठक बोलाउनु आवश्यक छ भनी प्रतिनिधिसभाको सम्पूर्ण सदस्य संख्याको एक चौथाइ सदस्यले लिखित आव्हान गरेमा बैठक आव्हान हुन सक्नेछ।
प्रतिक्रिया