संस्कृतिवीद तथा साहित्यकार सत्यमोहन जोशीको सम्मानमा आज सार्वजनिक विदा
सारांश
- ललितपुर महानगरपालिकाले शताब्दी पुरुष सत्यमोहन जोशीको सम्मानमा वैशाख ३० गते सार्वजनिक बिदा घोषणा गरेको छ।
- ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले सार्वजनिक बिदा दिने जानकारी सोमबार दिए ।
- जोशी ३० गते ९९ वर्ष पूरा गरी सय वर्ष लाग्दै छन् ।
ललितपुर महानगरपालिकाले शताब्दी पुरुष सत्यमोहन जोशीको सम्मानमा वैशाख ३० गते सार्वजनिक बिदा घोषणा गरेको छ। ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले सार्वजनिक बिदा दिने जानकारी सोमबार दिए ।
जोशी ३० गते ९९ वर्ष पूरा गरी सय वर्ष लाग्दै छन् । राष्ट्रको कला, संस्कृति र साहित्य विकासमा महत्वपूर्ण योगदान गर्दै अन्तराष्ट्रिय स्तरमा चिनाएको भन्दै सय वर्ष पुगेकै दिन महानगरपालिका अन्तर्गतका सबै कार्यालयमा सार्वजनिक बिदा दिने निर्णय गरिएको हो ।
महानगरपालिकाले पाठयपुस्तकमा उनको जीवनी समावेश गर्ने, तस्बिर अंकित चाँदीका मुद्रा निष्काशन र हुलाक टिकट प्रकाशन गर्ने, नगरभित्रका पार्कमा उनको प्रतिमा राख्ने र उपयुक्त सडकको नामकरण उनको नाममा गरिनेलगायत २२ कार्यक्रम सार्वजनिक गरेको छ ।
वैशाख ३० सम्ममा सय वर्ष पुग्न लागेका सबै ज्येष्ठ नागरिकलाई सम्मान गर्ने महानगरको योजना छ । तर आफ्ना नगरमा के कति ज्येष्ठ नागरिक सय वर्ष पुग्न लागेका छन् जानकारी नभएको उनले बताए ।
सत्यमोहन जोशीको संक्षिप्त जीवनी
सत्यमोहन जोशी बाबु शंकरदास (शंकरराज) जोशी र आमा राजकुमारी (नोगलदेवी)का सुपुत्रका रूपमा वि.सं. १९७७ साल वैशाखमा बखुम्बहाल, ललितपुरमा जन्मेका हुन् । जोशीले नेपाली मौलिक लोकसंस्कृति र साहित्यको क्षेत्रमा अतुलनीय योगदान दिएका छन् । उनी ३ पटक मदन पुरस्कार प्राप्त गर्ने श्रष्टा हुन् । जोशीले हाम्रो लोकसंस्कृतिका लागि पहिलोपटक वि.सं. २०१३ सालमा, नेपाली राष्ट्रिय मुद्रा नामक ग्रन्थका लागि दोस्रोपटक वि.सं. २०१७ सालमा, र कर्णाली लोकसंस्कृति नामक ग्रन्थको लागि उनले संयुक्त रूपमा तेस्रोपटक वि.सं. २०२८ सालमा मदन पुरस्कार पाएका थिए ।
जोशीले त्रिचन्द्र कलेजबाट बिएसम्म अध्ययन गरेका छन् । जोशी वि.सं. २०१५ मा पुरातत्व र संस्कृति विभागका पहिलो निर्देशक थिए ।
नेपाली भाषा, कला, संस्कृतिको संरक्षण, संस्कृतिको संरक्षण, सम्बर्धन र विकासमा लागि परेका हुनाले उहाँको योगदानको कदर स्वरूप जोशीलाई सुप्रबल गोर्खा दक्षिणबाहु विख्यात त्रिशक्ति पट्ट, आदिकवि भानुभक्त पुरस्कार, काठमाडौं विश्व विद्यालयले विद्यावारिधीको मानार्थ प्रमाणपत्र प्रदान गरेको छ । नेपाल सरकारले पनि उज्ज्वल कीर्तिमान राष्ट्रदीपबाट सम्मानित गरेको छ । जोशी अनुसन्धानात्मक कृति नेपालीमा १०, नाटक पाँच, काव्य दुई र कथासङ्ग्रह पाँच तथा नेवारी भाषामा गरी करिब ५० कृति प्रकाशित भइसकेका छन् ।
प्रतिक्रिया