सञ्चार नहुँदा कसरी खबर पुराउँथे उहिले बाजेका पालामा ?

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष १६, २०७४
|
|
३३ पटक हेरिएको
Shares
सञ्चार नहुँदा कसरी खबर पुराउँथे उहिले बाजेका पालामा ?

सारांश

  • काठमाडौ, १६ पुस ।
  • सञ्चार प्रविधिको तीव्र र उच्च विकास भएको आजको जमानामा विश्वको जुनसुकै कुनामा खबर पुर्याउनु एक मिनेटको काम हो ।
  • मोबाइलको एउटा बटन थिचेमा जुनसुकै ठाउँमा खबर पुराउन सम्भव भएको छ आज ।

काठमाडौ, १६ पुस । सञ्चार प्रविधिको तीव्र र उच्च विकास भएको आजको जमानामा विश्वको जुनसुकै कुनामा खबर पुर्याउनु एक मिनेटको काम हो । मोबाइलको एउटा बटन थिचेमा जुनसुकै ठाउँमा खबर पुराउन सम्भव भएको छ आज । सञ्चारका कुनै पनि स्रोतसाधन नभएको समयमा उहिले हाम्रो बाजेका पालामा कसरी खबर पुराउने काम हुन्थ्यो होला ?

यही प्रश्नको उत्तर दिएका छन्, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य एवं सञ्चारकर्मी राजेश चाम्लिङ राईले । राजेशले लेखेको किराती राई समुदायको परम्परागत सञ्चारमाध्यम नामक पुस्तकको लोकार्पण नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले गरेका छन् । यो पुस्तकमा सञ्चारका आधुनिक माध्यमहरु नभएको समयमा हाम्रा पुर्खाले कसरी परम्परागत सञ्चारमाध्यमको प्रयोग गर्थे भन्ने कुरालाई गहन तरिकाले अध्ययन गरिएको छ ।

नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा आयोजित लोकार्पण कार्यक्रममा बोल्दै प्रमुख अतिथि गोविन्द आचार्यले युद्धकालमा आफूहरुले पनि पुस्तकमा भएका परम्परागत सञ्चारमाध्यमहरुको भरपुर उपयोग गरेको सम्झिए । उनले नेपाली सञ्चारजगतका लागि गहन सन्दर्भ ग्रन्थ दिएकोमा लेखक राईलाई धन्यवाद पनि दिए ।

महासंघका उपाध्यक्ष विपुल पोख्रेलले आफ्ना पुर्खाहरु र किरात राईका पुर्खाहरुको परम्परागत सञ्चारमाध्यम एउटै देखिएको चर्चा गर्दै यसैलाई विविधतामा एकता भएको मान्न सकिने बताए । उनले विभिन्न जातजाति, भाषाभाषीहरुको विविध संस्कार र संस्कृतिभित्र एकता पनि भएको प्रस्तुत पुस्तकबाट स्पष्ट भएको उल्लेख गरे ।

विश्लेषक तथा साहित्यकार युग पाठक र किरात राई पत्रकार संघका पूर्वअध्यक्ष गणेश राईले पुस्तकको समीक्षा गरेका थिए । कार्यक्रममा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत, प्रेस सेन्टर नेपालका वरिष्ठ उपाध्यक्ष बलराम थापा लगायतले पुस्तकको महत्वका बारेमा बोलेका थिए । लेखक राईले आफ्नो शोधपत्रलाई पुस्तकका रुपमा ल्याएको बताउँदै यसमा रहेका कमीकमजोरीहरु औंल्याइदिन आग्रह गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?