सुर्खेतमा ग्यास संकटको भ्रम चिर्दै आयल निगम: ‘एक व्यक्ति, एक सिलिन्डर’ नियम लागू
सारांश
- उपभोक्तामा बजारमा इन्धनको कृत्रिम संकट देखिन थालेपछि नेपाल आयल निगम सुर्खेतले वीरेन्द्रनगरमा एलपी ग्यासको कुनै अभाव नरहेको स्पष्ट पारेको छ ।
- छिमेकी मुलुक भारतबाट आवश्यक परिमाणमा नियमित रूपमा ग्यास आयात भइरहेको अवस्थामा सर्वसाधारणले आवश्यकताभन्दा बढी सञ्चय गर्दा वितरण प्रणालीमा केही समस्या देखिएको कार्यालयले जनाएको छ ।
- आम नागरिकलाई हल्लाको पछि नलाग्न र आपूर्ति व्यवस्था सहज रहेको बुझ्न निगमले विशेष आग्रह गरेको छ ।
उपभोक्तामा बजारमा इन्धनको कृत्रिम संकट देखिन थालेपछि नेपाल आयल निगम सुर्खेतले वीरेन्द्रनगरमा एलपी ग्यासको कुनै अभाव नरहेको स्पष्ट पारेको छ । छिमेकी मुलुक भारतबाट आवश्यक परिमाणमा नियमित रूपमा ग्यास आयात भइरहेको अवस्थामा सर्वसाधारणले आवश्यकताभन्दा बढी सञ्चय गर्दा वितरण प्रणालीमा केही समस्या देखिएको कार्यालयले जनाएको छ । आम नागरिकलाई हल्लाको पछि नलाग्न र आपूर्ति व्यवस्था सहज रहेको बुझ्न निगमले विशेष आग्रह गरेको छ ।
बजारमा ग्यासको न्यायोचित वितरण सुनिश्चित गर्न र कालाबजारी रोक्न निगमले वीरेन्द्रनगरमा ‘एक व्यक्ति, एक सिलिन्डर’ को कडा नियम लागू गरेको छ । प्रादेशिक प्रमुख दीपककुमार घिमिरेका अनुसार अधिकृत बिक्रेताहरू मार्फत विभिन्न कम्पनीका २ हजार ९२२ वटा ग्यास सिलिन्डरहरू उपभोक्तालाई सहज रूपमा उपलब्ध गराइने छ । बजार अनुगमनलाई तीव्र पार्दै १४ दशमलव २ केजीको प्रति सिलिन्डर दुई हजार ६० रुपैयाँको तोकिएको मूल्यमा नै बिक्री वितरण भइरहेको उहाँले जानकारी दिनुभयो ।
वितरण प्रणालीलाई थप व्यवस्थित बनाउन वीरेन्द्रनगर औद्योगिक क्षेत्रमा रहेको न्यू जानकी ट्रेड एण्ड सप्लायर्सलाई विशेष जिम्मेवारी दिइएको छ । जसअन्तर्गत नेपाल ग्यासका ३२० वटा सिलिन्डर सोही सप्लायर्समार्फत उपभोक्ता माझ पुर्याइने निगमको योजना रहेको छ । यो कदमले बजारमा व्याप्त अनावश्यक हल्ला र सम्भावित कालाबजारीलाई निरुत्साहित गर्दै वास्तविक उपभोक्तासम्म इन्धनको पहुँच पुर्याउन मद्दत गर्ने विश्वास लिइएको छ ।
सर्वसाधारणलाई सचेत रहन आग्रह गर्दै ग्यासको अनावश्यक भण्डारण नगर्न सरोकारवालाहरूले जोड दिएका छन् । तोकिएको मूल्यभन्दा बढी रकम असुल गर्ने वा मौज्दात लुकाउने जस्ता गैरकानुनी कार्य गर्नेहरूलाई कानुनी दायरामा ल्याइने निगमको चेतावनी छ ।
बजारमा कसैले अनधिकृत रूपमा ग्यास सञ्चय गरेको वा बिक्री वितरणमा अवरोध सिर्जना गरेको पाइएमा तत्काल सम्बन्धित नियामक निकायमा जानकारी गराउन उपभोक्तालाई अनुरोध गरिएको छ । नियमनकारी निकाय र नागरिक दुवै सचेत भएमा मात्र संकटकालीन अवस्थामा पनि बजार संयन्त्रलाई पारदर्शी र व्यवस्थित राख्न सकिने निगमको भनाइ छ ।
प्रतिक्रिया