सदस्य भागबण्डा लगाउँदै देउवा पौडेल र सिटौला

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण २७, २०७५
|
|
४० पटक हेरिएको
Shares
सदस्य भागबण्डा लगाउँदै देउवा पौडेल र सिटौला

सारांश

  • काठमाडौं २७ साउन ।
  •   भदौभित्रै महासमिति बैठक राख्ने निर्णय गरेको नेपाली कांग्रेसले अलमलका बीच तिहारपछि मात्रै महासमिति बैठक राख्ने भएको छ ।
  • तीनै तहको निर्वाचनपछि प्रतिपक्षमा पुगेको कांग्रेस पार्टीभित्रका आन्तरिक संगठन निर्माणमा पनि कमजोर बन्दै गएका बेला पूर्वनिर्धारित महासमिति बैठक सारेर कांग्रेसले तिहारपछि महासमिति राख्ने भएको हो ।

काठमाडौं २७ साउन ।  भदौभित्रै महासमिति बैठक राख्ने निर्णय गरेको नेपाली कांग्रेसले अलमलका बीच तिहारपछि मात्रै महासमिति बैठक राख्ने भएको छ । तीनै तहको निर्वाचनपछि प्रतिपक्षमा पुगेको कांग्रेस पार्टीभित्रका आन्तरिक संगठन निर्माणमा पनि कमजोर बन्दै गएका बेला पूर्वनिर्धारित महासमिति बैठक सारेर कांग्रेसले तिहारपछि महासमिति राख्ने भएको हो ।

महासमिति बैठकमार्फत पार्टीको विधान संशोधन गर्ने कांग्रेस तयारी छ । तर, विधान संशोधन गर्न बनाइने मस्यौदा समिति गठनका विषयमा नै नेताहरूबीच सहमति जुटेको छैन । सो समिति नबन्दासम्म महासमितिको औचित्य नहुने नेताहरूले नै बताउँदै आएका छन् । राजधानी दैनिक का अनुसार विधान समितिले नै पार्टीको नयाँ संरचनाअनुसारको विधानलाई ड्राफ्ट गर्ने काम गर्छ । समितिले बनाएको विधानलाई महासमितिमार्फत पारित गर्नुपर्छ ।

कांग्रेस उच्च स्रोतका अनुसार अब महासमिति बैठक तिहारपछि हुनेछ । ‘विधान संशोधन साधारण संशोधन होइन, पहिले गरिएजस्तो सामान्य संशोधनले पनि अब चल्नेवाला छैन, विधान संशोधनका लागि बनाइने समितिलाई पनि आवश्यक समय चाहिन्छ, त्यसअनुसार मात्र महासमिति कहिले हुने भन्ने टुंगो लाग्छ, सम्भवतः तिहारपछि हुन्छ,’ कांग्रेस उच्च स्रोतले भन्यो ।कांग्रेस कार्यवाहक सभापति विमलेन्द्र निधिले पनि केन्द्रीय समितिको निर्णयानुसार भदौभित्र महासमिति गर्नेगरी मिति तोकिएको भए पनि व्यावहारिक रूपमा अब भदौभित्र महासमिति हुने सम्भावना टरेको बताए ।
‘केन्द्रीय समितिको निर्णय भदौभित्रै गर्ने भन्ने हो तर अब व्यावहारिक रूपमा सम्भव देखिँदैन, असोज पहिलो वा दोस्रो साता हुन सक्छ,’ कार्यवाहक सभापति निधिले भने ।

उनले विधान संशोधन समितिका लागि वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला समूहबाट समितिमा बस्ने सदस्यको नामसमेत मागिएको जानकारी दिए ।कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले विधान समितिले विधान मस्यौदा बनाउन लगाउने समयका आधारमा महासमिति बैठक हुने जनाए ।‘विधान समितिले विधान बनाउन कति समय लगाउँछ, त्यसका आधारमा कहिले महासमिति बस्ने भन्ने भनौंला, अहिलेसम्म त भदौकै कुरा छ तर अब सकिँदैन,’ सहमहामन्त्री महतले भने ।

विधान मस्यौदा समितिका विषयमा भने पटकपटक वरिष्ठ नेता रामचन्द्र पौडेलसहित नेता सिटौला र अन्य शीर्ष नेताबीचमा औपचारिक तथा अनौपचारिक संवादसमेत भइसकेको छ तर सहमति जुटेको छैन । केही समयअघि सभापति शेरबहादुर देउवाले समितिका विषयमा छलफल गर्न भन्दै आफ्नै निवास बूढानीलकण्ठमा शीर्ष तहका नेताको बैठकसमेत बोलाएका थिए । समिति ९ वा ११ सदस्यीय हुने भन्नेमा भने नेताहरूबीच सहमति छ ।

११ सदस्यीय समति हुँदा संस्थापनले ५ र पौडेल सिटौलाले ५ सदस्य बाँड्ने, संयोजक संस्थापनले लिने अथवा ९ सदस्यीय भए पनि संयोजक संस्थापनले नै राखेर ४÷४ सदस्य भाग लगाउने नेताहरूबीच सहमति भएको छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Pramesh Bishwas

    Good news

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?