सबै शवको मुचुल्का गरी काठमाडौँ पठाउने तयारी
सारांश
- सुकेटार।
- नेपाली सेनाले हेलिकप्टर दुर्घटनामा परी निधन भएका बाँकी तीन जनाको शव अहिले सुकेटार विमानस्थल ल्याइपुर्याएको छ।
- बुधबार साँझ दुर्घटनास्थलबाट सेनाको हेलिकोप्टरले हुक गरेर चार शव सुकेटार विमानस्थलमा ल्याएपछि वर्षा र हिउँका कारण अन्य शव उठाउने कार्य प्रभावित भएको थियो ।
सुकेटार। नेपाली सेनाले हेलिकप्टर दुर्घटनामा परी निधन भएका बाँकी तीन जनाको शव अहिले सुकेटार विमानस्थल ल्याइपुर्याएको छ। बुधबार साँझ दुर्घटनास्थलबाट सेनाको हेलिकोप्टरले हुक गरेर चार शव सुकेटार विमानस्थलमा ल्याएपछि वर्षा र हिउँका कारण अन्य शव उठाउने कार्य प्रभावित भएको थियो ।
विमानस्थल क्षेत्रमा पुनः मौसम बिग्रेको छ। यसले गर्दा शव काठमाडौँ पठाउन मौसममा सुधार नआउन्जेलसम्म पर्खनुपर्नेछ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलगायत हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएकाहरू सबै शवको विमानस्थलमा मुचुल्का गरी आजै काठमाडौँ पठाइने प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले राससलाई जानकारी दिए। काठमाडौँबाट तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि मन्त्री अधिकारीसहितको टोली कार्यक्रम सकेर पाथीभरा हुँदै काठमाडौँ फर्किने क्रममा बुधबार ताप्लेजुङको दारेभीरमा दुर्घटनामा परेको थियो।
यसैबीच हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको अन्त्येष्टि उनको गृह जिल्ला कास्कीमा हुनेभएको छ।
कास्की क्षेत्र नं २ बाट सङ्घीय संसद्का लागि निर्वाचित अधिकारीको शव शुक्रबार बिहान ८ बजेदेखि पोखरा प्रदर्शनी केन्द्रमा अन्तिम श्रद्धाञ्जलिका लागि राख्ने तयारी भइरहेको उनका स्वकीय सचिव राजेन्द्र आचार्यले जानकारी दिए।
मन्त्री अधिकारी पोखरा–३३ भरतपोखरीको जामुनाबोटमा जन्मिएका हुन्। स्वकीय सचिव आचार्यका अनुसार अधिकारीको शव काठमाडौँ ल्याइएपछि त्रिवि शिक्षण अस्पतालमा शव परीक्षण गरिनेछ। त्यसपछि नेकपाको केन्द्रीय कार्यालयमा पार्टीको झण्डा ओढाउने र केहीबेर श्रद्धाञ्जलिका लागि राखिने कार्यक्रम छ।
गृहमन्त्रालयले निर्णय गरेपछि काठमाडौँ खुलामञ्चमा सम्मानका लागि लगिनेछ। सरकारले अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने मन्त्रिपरिषद्ले बुधबार निर्णय गरिसकेको छ।
पोखरा महानगरपालिका वडा नं ३३ का वडाध्यक्ष शिवप्रसाद आचार्यले आज बेलुकासम्म अधिकारीको शव पोखरा ल्याउने तयारी भएको र शुक्रबार बिहान ८ बजेदेखि अन्तिम श्रद्धाञ्जलिका लागि राखी त्यसपछि अन्त्येष्टि गरिने जानकारी दिए। रासस
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया