समस्या बुझिदिने कोही नभएको गन्धर्व समुदायको गुनासो

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन १, २०७९
|
|
१८ पटक हेरिएको
Shares
समस्या बुझिदिने कोही नभएको गन्धर्व समुदायको गुनासो

सारांश

  • बनियानी ।
  • झापाको कचनकवल गाउँपालिका–२ का ५५ वर्षीय गोविन्द गन्धर्वले सारङ्गी रेटेको चार दशक बितिसकेको छ ।
  • पूर्वी पहाडको भोजपुरबाट बसाइँ सरेर २०२७ सालतिर झापा आएका उनको परिवार कचनकवलको पथरियास्थित ‘गाइने गाउँ’ भनेर चिनिने आदर्श टोलमा बसोबास गरिरहेको छ ।

बनियानी । झापाको कचनकवल गाउँपालिका–२ का ५५ वर्षीय गोविन्द गन्धर्वले सारङ्गी रेटेको चार दशक बितिसकेको छ । पूर्वी पहाडको भोजपुरबाट बसाइँ सरेर २०२७ सालतिर झापा आएका उनको परिवार कचनकवलको पथरियास्थित ‘गाइने गाउँ’ भनेर चिनिने आदर्श टोलमा बसोबास गरिरहेको छ ।

उतिबेला जङ्गल फाँडेर बसोबास गरेको सुनाउँदै उनले हाल यहाँ करिब तीन सयको सङ्ख्यामा ४६ घरपरिवार गन्धर्वको बसोबास छ । पुख्र्यौंली थलो गोरखाको आँधीखोला गाउँबाट गन्धर्वका पाँच जना पुर्खालाई ऊ बेलाका किराँत राजाले भोजपुर ल्याएको कथा उहाँले आफ्ना अग्रजबाट सुनेका रहेकाछन् । “पछि त्यहाँ परिवार बढ्दै जीविकाको स्रोत कम हुँदै गएपछि जीवन धान्ने मेलो खोज्दै भोजपुरको माङ्दिन गाउँबाट पनि केही परिवार झापा आइपुगेका हौँ”, उनले भने,

गोविन्दले श्रीमती र एउटा छोरासहितको परिवारको गुजारा गाइने पेसाबाटै धानिरहेको सुनाए । “सारङ्गी रेट्दै लोकभाकामा गीत गाएरै दैनिक सरदर रु पाँच सय कमाउँछु”, उनी भन्छन्, “छोरा पढाउन झापा झरेको हुँ, अहिले छोराले १२ कक्षा पास ग¥यो ।”

पथरियाको गाइने गाउँबाट हाल १७–१८ जना गन्धर्व सारङ्गी लिएर जिल्लाका विभिन्न सहरबजार र पहाडका बजारमा समेत पुगेर गाउँदा पाएको स्वेच्छिकरूपमा प्राप्त रकमबाटै जीविका चलाइरहेका छन् । कतिपयले खेतीपाती पनि गर्ने गरेका छन् भने छ जना कामदारका रूपमा खाडी मुलुकसमेत गएका छन् । पछिल्लो पुस्ताका प्रायःजसो गन्धर्व परिवारका बालबालिका विद्यालय गइरहेका छन् । केही युवायुवतीले कलेजसम्मको अध्ययनसमेत गरेका छन् ।

“आजकाल कहिलेकाहीँ सार्वजनिक कार्यक्रममा र अलि धेरै चाहिँ घरेलु व्यक्तिगत कार्यक्रममा हामीलाई बोलाउँछन् र हामी पाँच÷सात जना पुग्छौँ, त्यहाँ उनीहरूले भनेअनुसार सारङ्गीको तालमा लोकभाका हालेर प्रेमका, विरहका, दुःखका, सङ्घर्षका, मुग्लान गएकाका, गरिबका, चेलीबेटीका वेदनाका गीत गाउँछौँ”, गोविन्द भन्छन्, “उनीहरूले पनि खुसी भएर रु चार÷पाँच हजारसम्म दिनुहुन्छ, हामीले एकैखेप बढी पैसा पाउने भनेको त्यस्तै कार्यक्रममा मात्रै हो, अरू बेला त प्रायः एक्लाएक्लै वा दुई जना भएर दिनहुँ गीत गाउँदै हिँड्ने हाम्रो चलन छ ।”

केही वर्षयता झापामै गन्धर्वको बाक्लो बस्ती रहेको कचनकवल–२ मा पर्ने पथरियामा ‘पूर्वाञ्चल गन्धर्व उत्थान समाज’ पनि अस्तित्वमा छ । सोही समाजको पहलमा गाउँपालिकाले आदर्श टोलमा गन्धर्व सङ्ग्रहालयका लागि हालै एउटा सभाकक्ष र तीन कोठा भएको एकतले पक्की भवनसमेत बनाइदिएको अध्यक्ष रवीन बोगटीले बताए । “सङ्ग्रहालयमा राखिनुपर्ने गन्धर्व समुदायका मौलिक पहिचानका वस्तु सङ्ग्रह गर्न बाँकी छ”, उनले भने, “त्यसको व्यवस्थापन गर्न अब हामी लाग्दैछौँ ।”

गोविन्दको सरकारसित गुनासो छ, “हामीलाई दलित भनिन्छ, हामी थोरै सङ्ख्यामा पनि छौँ, तर सरकारले दिने भनेको ६० वर्ष उमेर पुगेपछि वृद्धभत्ता मात्रै हो, गाउँपालिकाले पनि थप सुविधा केही दिएको छैन, हामी अधिकांश परिवार सुकुम्बासी नै छौँ, यत्रो वर्षदेखि यस ठाउँमा बसिरहेका छौँ, सुकुम्बासी आयोग पनि आइसक्यो भन्छन्, तर हाम्रो समस्या हेरिदिने, बुझिदिने कोही भएनन् ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?