सरकारले आफैंले बनाएको मापदण्ड विपरीत अस्थायी मुकाम र प्रमुख ताेकिए !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ ४, २०७४
|
|
२७ पटक हेरिएको
Shares
सरकारले आफैंले बनाएको मापदण्ड विपरीत अस्थायी मुकाम र प्रमुख ताेकिए !

सारांश

  • काठमाडौं : लामो रस्साकस्सीपछि सरकारले प्रदेशको अस्थायी मुकाम तोकेको छ ।
  • प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशको अस्थायी मुकाम निर्धारण गर्दै सातै प्रदेशमा प्रदेश प्रमुख नियुक्तिका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ ।
  • राष्ट्रपतिले नियुक्ति गरेपछि मात्रै प्रदेश प्रमुखहरूले आफ्नो जिम्मेवारी वहन गर्न पाउनेछन् ।

काठमाडौं : लामो रस्साकस्सीपछि सरकारले प्रदेशको अस्थायी मुकाम तोकेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशको अस्थायी मुकाम निर्धारण गर्दै सातै प्रदेशमा प्रदेश प्रमुख नियुक्तिका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ । राष्ट्रपतिले नियुक्ति गरेपछि मात्रै प्रदेश प्रमुखहरूले आफ्नो जिम्मेवारी वहन गर्न पाउनेछन् ।

सरकारले प्रदेश १ को विराटनगर, प्रदेश २ को जनकपुर, प्रदेश ३ को हेटौंडा, प्रदेश ४ को पोखरा, प्रदेश ५ को रुपन्देही (बुटवल), प्रदेश ६ को सुर्खेत र प्रदेश ७ को धनगढीलाई अस्थायी मुकाम तोकेको मन्त्रिपरिषद् बैठकपछि महिला बालबालिका तथा समाजकल्याणमन्त्री विक्रमबहादुर थापाले जानकारी दिए ।

संविधानअनुसार प्रदेशसभाले दुईतिहाइ बहुमतबाट प्रदेशको राजधानी नतोक्दासम्म तत्काल प्रदेशको कार्य सञ्चालन गर्नका लागि स्थान तोकिएको मन्त्री थापाले जानकारी दिए ।

यसगैरी, सरकारले प्रदेश प्रमुखमा प्रदेश १ मा गोविन्द सुब्बा, प्रदेश २ मा रत्नेश्वरलाल कायस्थ, प्रदेश ३ मा अनुराधा कोइराला, प्रदेश ४ मा बाबुराम कुँवर, प्रदेश ५ मा उमाकान्त झा, प्रदेश ६ मा दुर्गाकेशर खनाल र प्रदेश ७ मा मोहनराज मल्ललाई नियुक्ति गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । राजनीतिक सहमतिका आधारमा प्रदेश प्रमुख र प्रदेश मुकाम तोक्ने बताउँदै आएको सरकारले एकपक्षीय रूपमा प्रदेश प्रमुख र अस्थायी मुकाम निर्धारण गरेको छ ।

संविधानको धारा २८८ को उपधारा ३ बमोजिम सरकारले सातै प्रदेशमा प्रदेशको कार्य सञ्चालन गर्ने स्थान मात्रै तोकेको बताएको छ ।

संविधानको धारा २८८ को उपधारा २ अनुसार प्रत्येक प्रदेशको राजधानी सम्बन्धित प्रदेशसभामा तत्काल कायम सदस्य संख्याको दुईतिहाइ बहुमतबाट निर्णय भएबमोजिम हुने उल्लेख छ ।

प्रदेशसभामा तत्काल कायम रहेका सदस्य संख्याको दुईतिहाइ बहुमतबाट स्थायी राजधानी नतोक्दासम्म सरकारले तत्काल कार्य सञ्चालन गर्न स्थान तोकेको वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्माले जानकारी दिए ।

सरकारले प्रदेशको कार्य सञ्चालन गर्ने मुकाम तोक्न नसक्दा प्रदेशमा कुनै पनि संरचना निर्माण हुन सकेको छैन भने प्रदेश प्रमुख नियुक्त गर्न नसक्दा निर्वाचन आयोगले प्रदेशसभा निर्वाचन परिणाम बुझाउन पाएको छैन ।

अस्थायी मुकामहरू

प्रदेश १ : विराटनगर

प्रदेश २ : जनकपुर

प्रदेश ३ : हेटांैडा

प्रदेश ४ : पोखरा

प्रदेश ५ : रुपन्देही (बुटवल)

प्रदेश ६ : सुर्खेत

प्रदेश ७ : धनगढी

 

प्रदेश प्रमुख :

प्रदेश १ : गोविन्द सुब्बा

प्रदेश २ : रत्नेश्वर लाल कायस्थ

प्रदेश ३ : अनुराधा कोइराला

प्रदेश ४ : बाबुराम कुँवर

प्रदेश ५ : उमाकान्त झा

प्रदेश ६ : दुर्गाकेशर खनाल

प्रदेश ७ : मोहनराज मल्ल

मापदण्ड विचार नगरी नियुक्ति

सरकारले आफैंले बनाएको मापदण्डविपरीत राजनीतिक दलमा प्रत्यक्ष रूपमा संलग्न भएका व्यक्तिलाई प्रदेश प्रमुख बनाएको छ । प्रदेश प्रमुख नियुक्ति हेर्दा सरकारले प्रदेश प्रमुखको योग्यता सम्बन्धमा बनाएको प्रदेश प्रमुखसम्बन्धी ऐन, २०७४ विपरीत प्रदेश प्रमुख नियुक्ति गरेको पाइएको छ । ऐनमा प्रदेश प्रमुखमा नियुक्ति हुँदाका बखत कुनै राजनीतिक दलको सदस्य नरहेको व्यक्तिलाई प्रदेश प्रमुख नियुक्ति गर्नुपर्ने व्यवस्था छ । तर, सरकारले प्रदेश ३ मा प्रमुखमा नियुक्तिका लागि सिफारिस अनुराधा कोइराला केही समयअघि मात्रै कांग्रेस प्रवेश गरेकी थिइन् ।

कांग्रेस, राष्ट्रिय जनता पार्टी र समाजवादी फोरमबीचको भागबन्डाका आधारमा प्रदेश प्रमुख नियुक्तिको सिफारिस भएको छ । कोइरालाले समाज सेवामा भने राम्रो छवि बनाउँदै आएकी छन् । उनी चेलीबेटी बेचविखनविरुद्ध कार्यरत माइती नेपालकी संस्थापक अध्यक्ष हुन् ।

प्रदेश ३ प्रमुखमा सिफारिस कोइरालाको वंशजको नागरिकता भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । प्रदेश १ को प्रमुखमा सिफारिस गोविन्द सुब्बा विभिन्न आईएनजीओ र एनजीओमा कार्यरत छन् । धनकुटा निवासी उनी अंग्रेजी विषयका प्राध्यापक हुन् । सुरुमा कम्युनिस्ट राजनीतिमा सक्रिय उनी जनमत संग्रहपछि कांग्रेसमा प्रवेश गरेका थिए । प्रदेश २ प्रमुखमा सिफारिस रत्नेश्वरलाल कायस्थ सरकारका पूर्वसचिव हुन् ।

राष्ट्रिय योजना आयोगका पूर्वसदस्यसमेत रहेका उनी संघीय समाजवादी फोरमको समानुपातिक सांसदका उम्मेदवार थिए । यसैगरी, प्रदेश ४ प्रमुखमा सिफारिस बाबुराम कुँवर पूर्वमहान्यायाधिवक्ता हुन् ।

अर्घाखाँचीका कुँवर सुशील कोइराला नेतृत्वको सरकारका महान्यायाधिवक्ता हुन् । यस्तै, प्रदेश ५ को प्रदेश प्रमुखमा सिफारिस उमाकान्त झा पूर्वसिँचाइ तथा ऊर्जासचिव हुन् ।

उनी खिलराज रेग्मी नेतृत्वको सरकारमा ऊर्जामन्त्री थिए । झा राष्ट्रिय जनता पार्टी अध्यक्ष मण्डलका नेता महन्थ ठाकुरका सम्धी हुन् ।

यस्तै, प्रदेश ६ को प्रमुखमा सिफारिस दुर्गाकिशोर खनाल पुराना कांग्रेस नेता हुन् । सुर्खेत निवासी खनाल पूर्वशिक्षक हुन् भने बहुदल आएपछि उनी कांग्रेसबाट राष्ट्रियसभा सदस्य बनेका थिए ।

यस्तै, प्रदेश ७ प्रमुखमा सिफारिस भएका मोहनराज मल्ल राष्ट्रिय पञ्चायतका पूर्वसदस्य हुन् । कैलाली निवासी मल्ल केही समयअघि मात्रै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कांग्रेस प्रवेश गरेका थिए ।

राष्ट्रपतिले हटाउन सक्ने

संविधानको धारा १६३ मा प्रदेश प्रमुखसम्बन्धी व्यवस्था गरिएको छ । संविधानले प्रदेश प्रमुखलाई नेपाल सरकारको प्रतिनिधिका रूपमा स्थापित गरेको छ । तर, संविधानको सोही धाराको उपधारा ३ मा राष्ट्रपतिले पदावधि समाप्त हुनुभन्दा अगावै निजलाई पदमुक्त गरेमा बाहेक प्रदेश प्रमुखको पदावधि पाँच वर्षको हुने व्यवस्था छ । यो संवैधानिक प्रावधानले राष्ट्रपतिलाई प्रदेश प्रमुख हटाउने अधिकार दिइएको छ ।

संविधानको धारा १६७ मा प्रदेश प्रमुखले आफ्नो कार्यभार सम्हाल्नुअघि संघीय कानुनबमोजिम राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिनु पर्र्नेछ ।

हालै सम्पन प्रदेश र प्रतिनिधिसभामा बहुमत ल्याएको वाम दलको सरकारले चाहे प्रदेश प्रमुखलाई हटाउन सक्ने संवैधानिक व्यवस्था रहेकाले अहिले नियुक्त हुने प्रदेश प्रमुख नरहने अवस्था आउन सक्छ ।

एमालेसचिव योगेश भट्टराईले प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्ने सरकारको निर्णयप्रति बुधबार ट्विटमार्फत असन्तुष्टि जनाएका छन् । भट्टराईले सरकारले गरेका यी दुवै निर्णयप्रति टिप्पणी गर्नु आवश्यक नरहेको बताउँदै भनेका छन्, ‘यो सरकारले नभएको अधिकार प्रयोग ग¥यो, आउने सरकारले आफ्नो संवैधानिक अधिकार प्रयोग गर्छ । कुरा त्यति मात्र हो ।’

निकै कठिन भयो मुकाम तोक्न र प्रदेश प्रमुख सिफारिस गर्न

सरकारले निर्वाचनलगत्तै २१ मंसिरदेखि अस्थायी मुकाम र प्रदेश प्रमुख नियुक्ति प्रक्रिया थाले पनि डेढ महिनापछि मात्रै तोकेको छ । पछिल्लो एक सातादेखि यिनै दुई विषयमा निर्णय गर्न सरकारले पटक–पटक मन्त्रिपरिषद् बैठक बोलाउने स्थगित गर्ने गर्दै आयो ।

सरकारले सोमबार मन्त्रिपरिषद्को बैठक बोलाउने तयारी गरे पनि सहमति नपुगेको भन्दै मंगलबार बिहान बैठक बोलायो । तर, मंगलबार साढे चार बजेका लागि सारिएको मन्त्रिपरिषद्को बैठक बस्नै सकेन । पुन: बैठक बुधबार बिहान ९ बजे राखियो । ९ बजेको बैठक मध्याह्न १२ बजेसम्म चल्यो तर सरकारका प्रवक्ता सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले सहमति हुन बाँकी रहेको भन्दै बैठक ३ बजेसम्मका लागि स्थगन भएको जनाउँदै बालुवाटारबाट बाहिरिए । बुधबार ३ बजे अर्काे बैठक बसेर यी दुई विषयमा टुंगो लगाएको हो ।

यस्ता छन् प्रदेश प्रमुख

प्रदेश प्रमुख : प्रदेश १ : गोविन्द सुब्बा, एनजीओकर्मी, अंग्रेजी विषयका प्राध्यापक, सुरुमा कम्युनिस्ट, जनमतसंग्रहपछि कांग्रेस ।

प्रदेश २ : रत्नेश्वरलाल कायस्थ, पूर्वसचिव, राष्ट्रिय योजना आयोगका पूर्वसदस्य, संघीय फोरमको समानुपातिक सांसद उम्मेदवार

प्रदेश ३ : अनुराधा कोइराला माइती नेपालकी संस्थापक अध्यक्ष, भर्खर कांग्रेसमा प्रवेश

प्रदेश ४ : बाबुराम कुँवर पूर्वमहान्यायाधिवक्ता

प्रदेश ५ : उमाकान्त झा पूर्वसिँचाइ–ऊर्जासचिव, पूर्वऊर्जामन्त्री, राजपा नेता महन्थ ठाकुरका सम्धी

प्रदेश ६ : दुर्गाकेशर खनाल, पुराना कांग्रेस नेता, पूर्वशिक्षक, राष्ट्रियसभाका पूर्वसदस्य

प्रदेश ७ : मोहनराज मल्ल, राष्ट्रिय पञ्चायतका पूर्वसदस्य, केही समयअघि मात्रै कांग्रेस प्रवेश

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महासचिव गुटेरेसको भ्रमण : कोप-२८ मा हिमालको मुद्दाले पाउला प्राथमिकता !
महासचिव गुटेरेसको भ्रमण : कोप-२८ मा हिमालको मुद्दाले पाउला प्राथमिकता !
पुस १ लाई कालो दिवसका रुपमा मनाइँदै
पुस १ लाई कालो दिवसका रुपमा मनाइँदै
कोरिया जानेका लागि स्वास्थ्य परीक्षण आजदेखि यी चार अस्पतालमा
कोरिया जानेका लागि स्वास्थ्य परीक्षण आजदेखि यी चार अस्पतालमा
मेट्रोमा युवतीको पछाडि गुप्तांग निकालेर युवक उभिएपछि…
मेट्रोमा युवतीको पछाडि गुप्तांग निकालेर युवक उभिएपछि…
नागरिकता विधेयकमा जबरजस्ती राम्रो हुँदैन-प्रदीप ज्ञवाली
नागरिकता विधेयकमा जबरजस्ती राम्रो हुँदैन-प्रदीप ज्ञवाली
मनसुन शुरुभएयता बाढीपहिरोले १०१ को मृत्यु, ५१ वेपत्ता
मनसुन शुरुभएयता बाढीपहिरोले १०१ को मृत्यु, ५१ वेपत्ता
धुलिखेल–खावा सडक : निर्माण कम्पनीविरुद्ध जाहेरी, ठेक्का रद्दको सिफारिस
धुलिखेल–खावा सडक : निर्माण कम्पनीविरुद्ध जाहेरी, ठेक्का रद्दको सिफारिस
कलाकार संघको अध्यक्षमा सरीता र लयको उम्मेद्वारी
कलाकार संघको अध्यक्षमा सरीता र लयको उम्मेद्वारी
सम्पादक बस्नेतलाई पक्राउ गर्नु निन्दनिय काम हाेः काँग्रेस सभापति देउवा
नेपालका २६ विद्यालयलाई ‘इन्टरनेशनल स्कुल अवार्ड’ प्रदान

तपाईंले छुटाउनुभयो कि?