मुक्तिनाथमा पनि नागरिक अभिनन्दन, सरसफाइदेखि सुरक्षा व्यवस्था पनि चुस्त

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख २५, २०७५
|
|
२७ पटक हेरिएको
Shares
मुक्तिनाथमा पनि नागरिक अभिनन्दन, सरसफाइदेखि सुरक्षा व्यवस्था पनि चुस्त

सारांश

  • बेनी, म्याग्दी, २५ वैशाख ,भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथमा नागरिक अभिनन्दन गरिने भएको छ ।
  • नेपालको दुईदिने राजकीय भ्रमणमा आउनुहुने प्रधानमन्त्री मोदी वैशाख २९ गते मुक्तिनाथ पुग्नुहुने कार्यक्रम छ ।
  • उहाँकोे सम्मानमा मुस्ताङवासीले मुक्तिनाथमा नागरिक अभिनन्दन गर्ने कार्यक्रम तय भएको जिल्ला स्तरीय स्वागत समितिका सहसंयोजक एवं बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष इन्द्रधारा विष्टले जानकारी दिनुभयो ।

बेनी, म्याग्दी, २५ वैशाख ,भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथमा नागरिक अभिनन्दन गरिने भएको छ ।

नेपालको दुईदिने राजकीय भ्रमणमा आउनुहुने प्रधानमन्त्री मोदी वैशाख २९ गते मुक्तिनाथ पुग्नुहुने कार्यक्रम छ । उहाँकोे सम्मानमा मुस्ताङवासीले मुक्तिनाथमा नागरिक अभिनन्दन गर्ने कार्यक्रम तय भएको जिल्ला स्तरीय स्वागत समितिका सहसंयोजक एवं बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष इन्द्रधारा विष्टले जानकारी दिनुभयो ।

“हिन्दु र बौद्ध धर्मावलम्बीको आस्थाको धरोहर मुक्तिनाथमा आउने उहाँ नै उच्च विदेशी पाहुना हुनुहुन्छ, यसले मुक्तिनाथको प्रचार विश्वव्यापी हुनेछ”, उहाँले भन्नुभयोे, “त्यसैले उहाँको सम्मानमा हामीले कुनै कन्जुस्याइँ गर्दैनौँ ।”

मोदीलाई मुक्तिनाथ क्षेत्रको मौलिक कला संस्कृति देखाउने तयारीसमेत भइरहेको उहाँले बताउनुभयो । “तर, यी कुराहरु उहाँको समयअनुसार हुन्छ, हामीले तयारी भने गरेका छौँ”, विष्टको भनाइ थियो ।

काठमाडौँबाट हेलिकोप्टरमा आउने मोदीको विशेष पूजाका लागि मुक्तिनाथ मन्दिरको मर्मत र रंगरोगन, अतिविशिष्ट कक्ष तयार, १०८ धारा, शौचालयको सरसफाइ र हेलिप्याड निर्माण गरिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले जानकारी दिनुभयो । मोदीको स्वागतका लागि मुक्तिनाथ गाउँ र मन्दिर प्रवेशद्वारमा विशेष गेट बनाइएका छन् ।

वैशाख २९ गते हेलिकोप्टरबाट मुक्तिनाथ ओर्लेपछि मोदीले एक घण्टा विशेष पूजापाठ गर्नुहुनेछ । पूजापाठ अघि नै उहाँलाई नागरिक अभिनन्दनको तयारी भइरहेको छ । उच्च विदेशी पाहुना आउने भएपछि मुस्ताङ र म्याग्दीको सिमाना घाँसा, मनाङको थोराङ पासमा सुरक्षा गस्ती बढाइएको छ ।

“ वैशाख २८ र २९ गते बेनी–जोमसोम सडक र मनाङको सिमाना थोराङ पास बन्द हुनेछ । मुस्ताङको मार्फादेखि कागबेनीसम्मका होटलमा दैनिक पाहुनाको विवरण लिने काम पनि भइरहेको छ”, प्रजिअ पौडेलले भन्नुभयोे, “दैनिकरुपमा सुरक्षा समितिको बैठक बस्ने गरेका छौँ ।”

मन्दिरमा विशिष्ट पाहुना आउँदा पूजापाठका लागि गरिने सम्पूर्ण प्रक्रियाको तयारी पूरा भएको मुक्तिनाथका मुख्य पुजारी कृष्णप्रसाद सुवेदीले जानकारी दिनुभयो । “हाम्रो देशका प्रधानमन्त्रीदेखि राष्ट्रपतिसम्म यहाँ आएर पूजा गर्नुभएको थियो । अहिले भारतीय प्रधानमन्त्री आउनुहुने भएपछि उहाँलाई सम्पूर्ण विधि विधान पु¥याएर पूजापाठ गराउनेछौँ”, उहाँले भन्नुभयोे, “मन्दिरभित्र उहाँलाई बटुकले स्वागत र सम्मान दिनेछन् ।”

भारतीय प्रधानमन्त्रीका लागि मिनी आइसियू

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणलाई लक्षित गरी मुस्ताङको मुक्तिनाथमा मिनि आइसियु कक्ष स्थापना गरिएको छ ।

उच्च स्थानमा पुग्दा मोदीसँगै भ्रमण टोलीका सदस्यमा आउन सक्ने स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै आइसियू कक्ष स्थापना गरिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले जानकारी दिनुभयो ।

आइसियू कक्षमा नेपाल र भारतका विशेषज्ञ चिकित्सक रहनेछन् । “एम्बुलेन्स पनि तयारी अवस्थामा राखेका छौँ”, प्रजिअ पौडेलले भन्नुभयो । आइसियू कक्षमा जिल्ला अस्पताल मुस्ताङका स्वास्थ्यकर्मीसमेत रहनेछन् ।

“कस्तो किसिमको जनशक्ति, पूर्वाधार र औषधि चाहिने भन्ने कुरा स्वास्थ्य मन्त्रालयले समन्वय गरिरहेको छ”, प्रजिअ पौडेलले बताउनुभयो ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Laxman Dc

    वामको भारूमोह अतिनै भयो।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?