साँघुरो गल्लीभित्र चुरा र मेहन्दीको व्यापार

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण ९, २०७६
|
|
३२ पटक हेरिएको
Shares
साँघुरो गल्लीभित्र चुरा र मेहन्दीको व्यापार

सारांश

  • काशीराम शर्मा नेपालगञ्जको सबैभन्दा पुरानो बजार हो, एकलैनी ।
  • एकलैनी बजारको साघुँरो गल्लीसँग नेपालगञ्जको परिचय जोडिएको छ ।
  • हुन त नेपालगञ्ज धेरै विकसित भइसक्यो ।

काशीराम शर्मा
नेपालगञ्जको सबैभन्दा पुरानो बजार हो, एकलैनी । एकलैनी बजारको साघुँरो गल्लीसँग नेपालगञ्जको परिचय जोडिएको छ । हुन त नेपालगञ्ज धेरै विकसित भइसक्यो । एकलैनीभन्दा ठूला बजार र गल्लीहरु नेपालगञ्जमा जताततै विस्तार भइसके । नेपालगञ्जमा पाइलैपिच्छे थरीथरीका पसलहरु खुलेका छन् तर, ग्राहकको रोजाइमा अझै पनि एकलैनी बजार नै पर्छ ।

नेपालगञ्जको स्थापनासँग जोडिएको एकलैनी बजारमा जुत्ता, चप्पल, कपडादेखि सौन्दर्य प्रशाधन, चुरापोते लगायतका पसलहरु सानो गल्लीभित्र लहरै रहेका छन् । यो यस्तो गल्ली हो, जहाँ ग्राहकको भीड नलागेको दिन होस् । सस्ता र राम्रा सामानहरु पाइने विश्वासमा सधैं ग्राहकले भरिने बजार हो, एकलैनी । सदाबहार सबैको रोजाइमा पर्ने एकलैनी बजारमा सामान किनमेल गर्नेको भीड र ताँती सधैं एकनासको हुन्छ ।

साउन लागेपछि एकलैनी बजारमा ग्राहकको थेगिनसक्नु भीड हुन्छ । खासगरी महिला ग्राहकहरुले भरिने एकलैनी बजारको साँघुरो गल्ली पूरै हरियो देखिन्छ जहाँ हरेक पसलमा हरिया चुरापोते झुण्डिरहेका हुन्छन् । ग्राहकले मनपर्ने चुरापोते र रंगीबिरंगी मेहन्दी छानिरहेका हुन्छन् । पसलेलाई बिक्री गर्न भ्याइनभ्याई हुन्छ । ग्राहकहरु गल्लीभित्र प्रवेश गर्दै गर्दा चुरापोते पसलका साहुजीहरु ग्राहकलाई बोलाउँदै चिच्याइरहेका हुन्छन् ।

पन्ध्र वर्षकी किशोरीदेखि वृद्ध महिलाहरु हरिया चुरा, पोते र रंगीबिरंगी मेहन्दी किन्नकै लागि यहाँ आउँछन् । त्यसो त नेपालगञ्जका अन्य बजार र गल्लीहरुमा हरिया चुरापोते र रंगीबिरंगी मेहन्दी नपाइने भन्ने होइन । तर, ग्राहकलाई एकलैनीकै सामानमा विश्वास छ । सबैको रोजाइमा एकलैनी नै पर्ने गर्छ । अझ यहाँ खाद्यान्नका पसल पनि उत्तिकै छन् । यसैकारण एकलैनीलाई गृहिणीको बजार पनि भनिन्छ ।

“यही बजारमा कस्मेटिक सामानको किनबेच धेरै हुन्छ, साउन महीना लागेपछि चुरापोते र मेहन्दीको व्यापार निकै बढेको छ,” दुई दशकदेखि एकलैनीमा पसल चलाइरहेका आशीष निगमले भन्नुभयो । साउन महीना शुरु भएसँगै किनमेलका लागि भीड लाग्ने भएकाले अहिले व्यापारीलाई फुर्सद छैन । एकलैनीमा सबैभन्दा बढी सौन्दर्य प्रशाधनकै पसल छन् । दोस्रो स्थान खाद्यान्न पसलले ओगटेका छन् ।

सौन्दर्य प्रशाधनका पसल सञ्चालक अनु सिद्दिकीले भन्नुभयो – “सस्तोमा दिने प्रतिस्पर्धाले नै एकलैनी बजार चलिरहेको छ । साउन महीना लागेपछि महिला दिदीबहिनीहरु किनमेलका लागि धेरै आउनुहुन्छ । हाम्रा लागि पनि यो त सिजनै हो ।” बजार बढ्दै गएपछि पसल पनि उत्तिकै बढेका छन् । एकलैनी बजारमा अहिले २०० भन्दा बढी पसल सञ्चालनमा रहेका छन् ।

यहाँ सस्तोमा पाइने चुरा र मेहन्दी मात्र होइन, रु १०० देखि रु दुई हजारभन्दा बढी मूल्यका जुत्ता–चप्पल पनि यहाँ पाइन्छन् । तर साउन लागेपछि जुता चप्पलभन्दा चुरापोते र मेहन्दीकै व्यापार चम्किएको बताउनुहुन्छ, ३० वर्षदेखि एकलैनीमा जुत्ता–चप्पलको पसल गर्दै आउनुभएका अजिज अहमद सिद्दिकी । “यहाँ पाउने सामान बाहिर किन्दा महङ्गो पर्छ, त्यही सामान यहाँ सस्तोमा पाउँछ,” सिद्दिकीले भन्नुभयो ।

साउनमा पनि दशैं, तीज एवं विवाहमा भन्दा राम्रो व्यापार हुुने गरेको एकलैनीका व्यापारी बलराम हेमकारले बताउनुभयो । साउनमा रातो, हरियो तथा पहेँलो रंग समिश्रण गरिएको पोते किन्न आउनेहरुको सङ्ख्या धेरै रहेको उहाँको भनाइ छ । “अहिले चुरापोते किन्न आउनेहरुको भीड निकै धेरै छ,” हेमकारले भन्नुभयो – “हरिया चुराका साथमा पहेँलो, रातो, रानी तथा सुन्तला रंगका चुराहरू पनि त्यत्तिकै बिक्री हुने गरेका छन् ।”

बिहेबारीको लगनका बेलामा समेत सामान्य रहेको चुरा र मेहन्दीको व्यापार यतिखेर अत्यधिक बढेको छ । साउन महिनामा हरियो चुरा र मेहन्दी लगाउने चलन बढ्दै गएपछि यसको व्यापार फस्टाएको हो । साउन महिनामा प्रायः सबै विवाहित महिलाले हातभरि हरियो वा पहेँलो चुरा र मेहन्दी लगाउने चलन बढ्दै गएको छ ।

साउन महिना शुरु भएसँगै हरियो चुरापोते र मेहन्दीको माहोलले महिलाहरुलाई छोपिसकेको छ । यतिबेला बजारमा हरियो चुरापोते र मेहन्दी लगाउने महिलाहरुको चाप श्रृंगार पसलहरुदेखि सडक पेटीमासमेत देख्न सकिन्छ । अरु समयमा नलगाए पनि साउन महीनामा महिलाहरुले विशेष रुचिका साथ हरियो चुरापोते र मेहन्दी लगाउने गरेको एकलैनी बजारमा चुरापोते किन्दै गर्नुभएकी सुमित्रा रानाले बताउनुभयो ।

“साउन महीनामा सबैले हरियो चुरा र मेहन्दी लगाउने गर्छन्,” रानाले भन्नुभयो – “म पनि चुरापोते र मेहन्दी किन्नकै लागि बर्दियाको मैनापोखरबाट नेपालगञ्ज आएकी हुँ ।” यो लामो समयदेखि चल्दै आएको नेपालीहरुको संस्कृति भएको उहाँको भनाइ छ । त्यसो त कतिपय अविवाहित युवतीहरुले राम्रो र योग्य पति पाइन्छ भन्ने मान्यता र विश्वास राखेर हरियो चुरा र मेहन्दी लगाउने गरेका छन् ।

त्यसो त साउन महीनामा हरेक सोमबार भगवान् शिवको नाममा व्रत बस्दा अविवाहितले राम्रो श्रीमान् र विवाहित महिलाले आफ्नो श्रीमान्को लामो आयुको कामना गर्ने गर्छन् । साउन महीना महिलाहरुका लागि सौभाग्यको महीना भएकाले पनि विवाहित महिलाहरुले हरियो चुरापोते र मेहन्दी लगाउने गरेको बताउने नेपालगञ्ज–५ की अस्मिता थापाले भन्नुभयो – “साउनमा व्रत बसेर श्रीमान्को दीर्घायु हुन्छ भन्ने हाम्रो सामाजिक र धार्मिक मान्यता पनि हो ।”

कतिपय किशोरीले भने देखासिकी र रहरले साउन महीनामा हरियो चुरा र मेहन्दी लगाउने गरेको उहाँको भनाइ छ । चुरा सौभाग्यको निशानी हो भन्ने धारणा अधिकाँश महिलाको छ । तर, आजभोलि अविवाहित किशोरीहरुमा पनि साउन महिनामा हरियो र पहेँलो चुरा तथा हातमा मेहन्दी लगाउने चलन बढ्दै गएको छ । साउनमा चुरा र मेहन्दीको माग उच्च हुने नेपालगञ्जका चुरा व्यवसायीहरु बताउँछन् ।

साउनमा पहिले यस्तो तामझाम हँुदैनथ्यो, हिन्दु धर्मानुसार विवाहिताले मात्र चुरा लगाउँथे । पश्चिमा संस्कृतिको प्रभावमा नयाँ पुस्ता यसप्रति बढी आकर्षित भएका हुन् । “अहिले दैनिक सात÷आठ हजार रुपैयाँको चुरा बिक्री हुने गरेको छ,” व्यवसायी हेमकारले भन्नुभयो – “साउनमा सबैले हरियो चुरा र मेहन्दी खोज्ने हुनाले सबैभन्दा बढी यसकोे व्यापार यही बेला हुन्छ । दुई÷तीन वर्ष यतादेखि साउनमा हरियो चुरा र मेहन्दी लगाउने चलन ह्वात्तै बढेको छ ।”

बजारको प्रतिस्पर्धासँगै अहिले गुणस्तरीय, टिकाउ र साडीसँग मेल खाने रङका चुरा खोज्नेहरु धेरै आउन थालेको व्यवसायीहरु बताउँछन् । बजारमा गुणस्तरसँगै मूल्यमा पनि प्रतिस्पर्धा हुने गरेको छ । एकलैनी बजारमा अहिले प्रतिसेट रु ३० देखि एक हजार मूल्यसम्मको चुराको व्यापार भइरहेको छ । हरियो चुराको सांस्कृतिक महत्व थाहा नभएकाहरुले समेत हरियो चुरा र मेहन्दी लगाइरहेका छन् ।

अरु समयमा हरियो चुरा र कपडाको महत्व नभए पनि साउन महीनामा भने नारीहरु प्रायः त्यही चिजमा झुम्मिएका हुन्छन् । कतिपय ग्राहकले वास्तुशास्त्र अनुसार चुराको रङ छनोट गर्ने गरेका छन् । रातोले शुभलाभ र ऋिद्धिसिद्धि, पहेँलोले ज्ञानबुद्धि र शिक्षा, नीलोले सु–स्वास्थ्य तथा हरियोले प्राकृतिक र बौद्धिक उन्नतिको प्रतिनिधित्व गर्ने भएकाले कतिपय ग्राहकले त्यही अनुरुप चुरा छनोट गर्ने गरेको चुरा व्यवसायीहरु बताउँछन् ।

एकलैनी बजारमा चुरा व्यवसाय गर्दै आएकी नसरुल सिद्दिकीले भन्नुभयो – “साउन महीना त चुरा व्यापारीलाई तिहारजस्तै हुन्छ, महिलाहरुको भीड नै लाग्छ । आज सामान ल्यायो भोलि सकिन्छ । दिनमा सयौं दर्जनभन्दा बढी चुरा बिक्री भइरहेको छ ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ग्याल्पो ल्होसारमा ३ दिन विदा दिन माग राख्दै शेर्पा संघले बुझायो ज्ञापनपत्र
ग्याल्पो ल्होसारमा ३ दिन विदा दिन माग राख्दै शेर्पा संघले बुझायो ज्ञापनपत्र
सर्वोच्चद्वारा अवहेलना मुद्दामा लिखित जवाफ पेस गर्न मेयर बालेन्द्रलाई  आदेश
सर्वोच्चद्वारा अवहेलना मुद्दामा लिखित जवाफ पेस गर्न मेयर बालेन्द्रलाई आदेश
ललिता निवास प्रकरणमा नक्कली मोही बनेको आरोपमा दुई पक्राउ
ललिता निवास प्रकरणमा नक्कली मोही बनेको आरोपमा दुई पक्राउ
सरकारले प्रतिबन्ध लगाएको इराकमा कसरी पुगे २० हजार नेपाली ?
सरकारले प्रतिबन्ध लगाएको इराकमा कसरी पुगे २० हजार नेपाली ?
देउवा पौडेल लडाई, वार कि पारतर्फ
देउवा पौडेल लडाई, वार कि पारतर्फ
यी मनकारी वडा अध्यक्ष जस्ले वर्ष दिनको तलब गाउँमै वितरण गरे
यी मनकारी वडा अध्यक्ष जस्ले वर्ष दिनको तलब गाउँमै वितरण गरे
खड्कबहादुर विश्वकर्मा(प्रकाण्ड)लाई आज तीन दिनको म्याद थप
खड्कबहादुर विश्वकर्मा(प्रकाण्ड)लाई आज तीन दिनको म्याद थप
वर्षमान पुनलाई लक्षित गरी गोली प्रहार : प्रहरीले गर्‍यो जवाफी फायरिङ
वर्षमान पुनलाई लक्षित गरी गोली प्रहार : प्रहरीले गर्‍यो जवाफी फायरिङ
बङ्गलादेशी नागरिकलाई बन्धक बनाउने सात पक्राउ
बङ्गलादेशी नागरिकलाई बन्धक बनाउने सात पक्राउ
हवाई मार्गको विकल्प नहुँदा सयौँ पर्यटक लुक्लामै अलपत्र
हवाई मार्गको विकल्प नहुँदा सयौँ पर्यटक लुक्लामै अलपत्र

तपाईंले छुटाउनुभयो कि?