साउनको दोस्रो साता यी मन्त्रीहरु पदमुक्त हुन सक्छन !

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण १, २०७६
|
|
२२ पटक हेरिएको
Shares

सारांश

  • नेपाल कम्युनिष्ट पार्टीको एकता प्रक्रिया टुंगो लागेपछि सरकारमा व्यापक हेरफेर हुने भएको छ ।
  • पार्टीको महत्वपूर्ण जिम्मेवारी कस्ले पाउनेबारे साउनको पहिलो हप्ता टुंगो लाग्ने निश्चितप्रायः भएपछि लगत्तै मा जिम्मेवारी हेरफेर र परिवर्तन हुने भएको हो ।
  • नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डले पार्टीको महत्वपूर्ण विभागहरुमा भागवण्डाको सहमति बनाउँदै गर्दा मन्त्रिमण्डलमा परिवर्तन र हेरफेरमा समेत सहमति बनाएको बुझिएको छ ।

नेपाल कम्युनिष्ट पार्टीको एकता प्रक्रिया टुंगो लागेपछि सरकारमा व्यापक हेरफेर हुने भएको छ । पार्टीको महत्वपूर्ण जिम्मेवारी कस्ले पाउनेबारे साउनको पहिलो हप्ता टुंगो लाग्ने निश्चितप्रायः भएपछि लगत्तै मा जिम्मेवारी हेरफेर र परिवर्तन हुने भएको हो ।

नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डले पार्टीको महत्वपूर्ण विभागहरुमा भागवण्डाको सहमति बनाउँदै गर्दा मन्त्रिमण्डलमा परिवर्तन र हेरफेरमा समेत सहमति बनाएको बुझिएको छ । मन्त्रिमण्डलमा व्यापक परिवर्तन गर्ने सहमति भएपनि कस्लाई के जिम्मेवारी दिने टुंगो लगाइनसकिएको अध्यक्ष प्रचण्ड निकट स्रोतले बतायो ।

ओली र प्रचण्डबीचको छलफलमा सरकारको कामकारबाही र मन्त्रिहरुको कार्यशैलीको समेत समीक्षा भएको छ । सरकारलाई प्रभावकारी बनाउन मन्त्रिहरुको परिवर्तन र जिम्मेवारी हेरफेर आवश्यक रहेको निष्कर्षमा ओली र प्रचण्ड दुवै पुगेका छन् ।

विश्वस्त स्रोतका अनुसार ओली सरकारमा जिम्मेवारीको व्यापक हेरफेर गर्न चाहन्छन् । उनले त्यसको संकेत पछिल्लो मन्त्रिपरिषद् बैठकबाट दिइसकेका छन् ।

यसपटक सरकारका अधिकांश मन्त्रिहरुको पद धरापमा परेको छ । तरकारीको विषादी परीक्षणको विषयले कृषिमन्त्री चक्रपाणि खनाल र आपूर्ति, वाणिज्य तथा उद्दोगमन्त्री मातृका यादवको कार्यशैलीमा प्रश्न उठाइएको छ । अबको परिवर्तनमा दुवै मन्त्री तारोमा पर्न सक्छन् ।

वनमन्त्री शक्ति बस्नेत अघिल्लो मन्त्रिपरिषद् बैठकमा सहभागी समेत भएनन् । उनको पद पनि धरापमा परेको छ । विश्वस्त स्रोतका अनुसार सञ्चारमन्त्री गोकुल बाँस्कोटा सरकारमै रहिरहने भाग्यमानी मन्त्रीमा पर्छन् । उनलाई अर्को मन्त्रालयको जिम्मेवारी दिनेबारे समेत ओलीले आन्तरिक छलफल चलाएका छन् ।

गृहमन्त्री रामबहादुर थापा बादललाई हटाउन प्रचण्ड पक्षका केही नेताहरु सक्रिय छन् । तर, थापालाई ओलीको साथ रहेकाले हटाउन मुश्किल पर्छ ।

ओली सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितप्रति पनि सकारात्मक छैनन् । पण्डितले बढी हल्ला मच्चाएको तर काम गर्न नसकेको आरोप भोग्दै आएका छन् ।
भूमिसम्बन्धि विधयेक ल्याउँदा विवादमा परेकी भूमिसुधारमन्त्री पद्मा अर्यालको पद पनि धरापमा छ । भौतिकमन्त्री रघुवीर महासेठलाई पनि सजिलो छैन । अर्थमन्त्री डा.युवराज खतिवडा पनि हेरफेर वा परिवर्तनमा पर्न सक्छन् ।

ऊर्जा मन्त्री वर्षमान पुन अन्य मन्त्रालय पाउन इच्छुक छन् । उनलाई पनि सरकारमा जान नदिने चलखेल भइरहेको छ । खानेपानीमन्त्री विना मगर पनि विवादमा मुछिइन् । उनको कार्यकालमा मेलम्ची खानेपानीको पुनः ठेक्का आव्हान गरिएको छ । विना मगरलाई प्रचण्ड स्वयंले काँध थाप्न कठिन छ ।

गोकर्ण बिष्टले पनि पदबाट हट्नुपर्ने हुनसक्छ । मलेशिया कामदार लान प्रगति गर्न नसकेपछि बिष्ट विवादमा पर्दै गएका छन् । खानेपानी मन्त्री विना मगर पनि सरकारबाट हटाइन सक्छिन् । प्रदीपकुमार सरकारमै रहने भाग्यमानीमा पर्दछन् । परराष्ट्रमन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका उनी ओलीका खास विश्वासपात्र हुन् ।

अमेरिकी ग्रीनकार्ड होल्डरका छोराछोरी र दम्पत्तिको ग्रीनकार्ड बन्न कति समय लाग्छ ?

ग्रीनकार्ड वाहकका २१ बर्ष मुनीका छोराछोरी र दम्पत्तिले ग्रीनकार्ड प्राप्त गर्नका लागि आई १३० आवेदन दिनुपर्ने हुन्छ । यदि यो आवेदन स्वीकृत भएमा छोराछोरी र दम्पत्ति अमेरिकामा रहेकाहरुका सन्दर्भमा आई ४८५ फाइल गरेर ग्रीनकार्ड प्राप्त गर्न सकिन्छ भने अमेरिका बाहिर रहेकाहरुका सन्दर्भमा नेशनल भिसा सेन्टरमार्फत दूतावासबाट आप्रवासी भिसा प्राप्त गर्न सकिन्छ ।

अमेरिकाबाहिर छोराछोरीहरु र दम्पत्ति हुनेहरुका सन्दर्भमा युएससीआईएसमा आई १३० आवेदन स्वीकृत भइसकेपछि नेशनल भिसा सेन्टरमा पठाइन्छ र भिसा उपलब्ध हुनासाथ उक्त आवेदन नेशनल भिसा सेन्टरले प्रकृयामा लैजान्छ । अमेरिकामा हुनेहरुका सन्दर्भमा भने भिसा उपलब्ध भएपछिमात्र आई ४८५ फाइल गर्नुपर्छ र युएससीआईएसले उक्त आवेदनबारे निर्णय गर्छ ।

अहिलेको सन्दर्भमा आई १३० आवेदन स्वीकृतका लागि लाग्ने अवधि सर्भिस सेन्टर अनुशार फरकफरक रहेको छ । क्यालिफोर्निया सर्भिस सेन्टरमा ग्रीनकार्ड बाहकका २१ बर्ष मुनीका छोराछोरी र दम्पत्तिका लागि आई १३० आवेदन स्वीकृत हुन १९ महिनादेखि २५ महिनासम्म लाग्ने गरेको छ । तर नेब्रास्का सर्भिस सेन्टरमा भने ११ महिनादेखि १५ महिनासम्म लाग्ने गरेको छ ।

त्यस्तै टेक्सास सर्भिस सेन्टरमा एकसातादेखि ७ महिनासम्म लाग्ने गरेको छ । तर भर्मोन्ट सर्भिस सेन्टरमा भने ५ महिनादेखि ७ महिनासम्म लाग्ने गरेको छ । आई १३० स्वीकृत भइसकेपछि जुलाई महिनाका लागि सबै स्वीकृत हुनेहरुका लागि भिसा उपलब्ध रहेको छ । तर यस अगाडि भिसा उपलब्ध हुन आवेदन दिएको मितिले झण्डै २ बर्ष कुर्नुपर्ने अवस्था कायम रहेको थियो ।

कोहली, धोनी र शास्त्रीको विकल्प खोज्न थाल्यो बीसीसीआई
आईसीसी विश्वकप क्रिकेटको सेमिफाइनलबाट भारत बाहिरिएपछि उसको विश्वकप जित्ने सपना सकिएको थियो । विश्वकपको उपाधि इंग्ल्याण्डले जितिसकेको छ ।

विश्वकपलगत्तै अब भारतले वेस्ट इण्डिजविरुद्धको सिरिज खेल्दैछ । सिरिज अगाडि विराट कोहलीको कप्तानी पद धरापमा पर्ने आकलन गरिएको छ भने महेन्द्रसिंंह धोनी टिममा नपर्ने सम्भावना रहेको खबर भारतीय सञ्चारमाध्यमहरुले लेखेका छन् । यस्तैमा प्रशिक्षक रवि शास्त्रीको कार्यकाल नलम्बाउने पक्षमा बीसीसीआई रहेको बुझिएको छ ।

बीसीसीआईले नयाँ प्रक्रियाबाट प्रशिक्षक चयन गर्ने तयारी गरेपछि अब रवि शास्त्रीले पनि फेरि प्रशिक्षक हुन चाहेमा आवेदन दिनुपर्ने छ । विश्वकपपछि शास्त्रीको ४५ दिन कार्यकाल थप गर्ने पहिला घोषणा गरिएको थियो । त्यसैका आधारमा शास्त्री वेस्ट इण्डिज सिरिजसम्म रहने छन् ।

अहिले बीसीसीआईले ब्याटिङ, बलिङ र फिल्डिङ कोचका लागि आवेदन माग गरे पनि उनीहरुको कार्यकाल पनि ४५ दिन थप गरिएको छ । त्यसपछि सबै नयाँ प्रक्रियाबाट शुरु हुने बीसीसीआईका अधिकारीले बताएका छन् ।

ओशो कसरी बने ९० वटा रोल्स रोयस कारको मालिक ?
रजनिश ओशो आफ्नो जमाना चर्चित व्यक्तित्व हुन् । चर्चासँगै विवादले पनि पछ्याएका उनका संसारभर नै अनुयायी छन् । उनको निधन भएको लामो समय भइसक्यो । यद्यपी अहिले पनि विभिन्न मुलुकमा आश्रम खोलेर उनका विचारहरुको अनुशरण गर्नेहरुको संख्यामा बृद्धि भइरहेकै छ । ओशोका नेपालमा पनि थुप्रै अनुयायी रहेका छन् । काठमाडौँका विभिन्न स्थानमा ओशो आश्रमहरु रहेका छन् ।

विभिन्न कारणले चर्चासँगै विवाद पनि पनि फकेका ओशोसँग ९० रोल्स रोयस कार थियो भन्दा सायद विश्वास गर्न गाह्रो पर्ला । तर यो सत्य कुरा हो । ओशोको अनुयायीहरु उनलाई महँगा महँगा उपहारहरु दिने गर्थे । उनी आफ्ना अनुयायीहरुले उपहार दिएका कार सहर्ष स्वीकार गर्थे । उपहार पाएर नै उनीसँग भएको ९० रोल्स रोयस कार जम्मा भएका थिए ।

ओशो पनि गर्वका साथ आफ्ना भक्तजनहरुले चाहेको खण्डमा जति पनि कार दिन सक्छन् भन्ने अभिव्यक्ति दिदै हिड्थे । उनको भित्रि चाहना थियो आफुसँग ३६५ वटा रोल्स रोयस कार होस् र हरेक दिन अलग अलग कारमा यात्रा गर्न पाइयोस् । यस्तो अभिव्यक्ति उनी खुल्लमखुल्ला व्यक्त गर्थे । अनुयायीले कार उपहार दिनुलाई उनी सायद गौरव महशुष गर्थे होला ।

ओशोको जन्म ११ डिसेम्बर १९३९ मा भारत मध्यप्रदेशको रायसेन जिल्लामा भएको थियो । उनको प्रवचन सुनेर ठूलो संख्यामा युवा पूस्ता मोहित बन्थ्यो । सन् १९६८ मा उनको सबै प्रवचनलाई जोडेर एउटा किताब प्रकाशन गरेका थिए जसको नाम ‘सम्भोग से समाधि की और’ राखिएको थियो । जसको कारण ओशो अझ बढी विवादमा फसे ।

ओशोले विश्वका विभिन्न मुलुकमा पुगेर आफ्नो अनुयायी बनाए । उनका अनुयायीहरुका लागि संसारका धेरै स्थानमा आश्रम खोलिएको थियो । ओशोले भारतमा पहिलो ध्यान केन्द्र सन् १९६२ मा शुरु गरेका थिए । नशालु पदार्थमा लागेको आरोपको कारण ओशोलाई १९८५ मा जर्मनमा गिरफ्तार गरिएको थियो । ओशोलाई विश्वको कुल २१ देशमा प्रवेश निषेध गरिएको छ ।

१० नम्बर नपाएपछि हाजार्डले रोजे २३ नम्बरको को जर्सी
एजेन्सी । बेल्जियमका स्टार इडेन हजार्डले रियल मड्रिडमा २३ नम्बरको जर्सी रोजेका छन्। बास्केटबलका प्रशंसक समेत रहेका हजार्डले बास्केटबलका लिजेण्ड माइकल जोर्डन र लेब्रोन जेम्सले लगाउने २३ नम्बरको जर्सीलाई नयाँ क्लबमा लगाउने भएका छन् ।

उनी लण्डन क्लब चेल्सीमा हुदाँ १० नम्बरको जर्सी लगाउँदै आएका थिए । तर उनले रियल मड्रिडमा १० नम्बरको जर्सी पाएनन् । रियलमा वालेन डी ओर विजेता लुका मोड्रिचले १० नम्बरको जर्सी लगाउँदै आएका छन् । सोही कारण हजार्डले अर्को नम्बर रोज्नु परेको हो ।

रियल मड्रिडमा यसअघि डेबिड बेकहामले २३ नम्बरको जर्सी लगाउने गरेका थिए । अब बेल्जियमका स्टारले सोही नम्बरलाई अगाडी बढाउनेछन् ।उनी यसै सिजन लण्डन क्लब चेल्सीबाट रियल मड्रिड गएका हुन् । उनलाई करिब १ सय ५० मिलियन पाउण्डमा रियलले क्लबमा अनुबन्धन गरेको हो ।

आज खण्डग्रास चन्द्रग्रहण, कुन राशीलाई कस्तो हुन्छ ? ग्रहण सम्बन्धी विस्तृत जानकारी
आज आषाढ शुक्ल पूर्णिमा तिथिका दिन अर्थात् असार ३१ गते मंगलवार आज तदनुसार जुलाई १६ तारिखको राती १७ तारिखको विहान खण्डग्रास चन्द्रग्रहणु लाग्ने भएको छ । यो खण्डग्रास चन्द्रग्रहण नेपाल, भारत लगायत एशिया, अफ्रिका, अमेरिका, अस्ट्रेलिया, अफगानिस्तान, युक्रेन, टर्की, इरान, इराक, साउदी अरब, पाकिस्तान, अट्लान्टिक, हिन्द महाशागर, युरोप लगायत केहि र उत्तरी अमेरिका सहित विश्वका अधिकांश ठाउँबाट देख्न सकिनेछ ।

नेपाली समय अनुसार आज रातीको १ र ४६ मिनेटमा स्पर्श हुने र रातीको ३ बजेर १५ मिनेटमा मध्य हुने र रातीकै ४ बजेर ४५ मिनेटमा मोक्ष हुनेछ । अतः सम्पूर्ण ग्रहण अवधि २ घण्टा ५९ मिनेटको रहनेछ ।

सूतक समयः
शास्त्रले बताए अनुसार सूर्यग्रहणमा ४ प्रहर अर्थात् १२ घण्टा र चन्द्रग्रहणमा ३ प्रहर अर्थात् ९ घण्टापूर्व सूतक प्रारम्भ हुन्छ । त्यसैले आज दिउँसो ४ बजेर ४६ मिनेटदेखि बालक, बृद्ध, रोगी तथा गर्भवती महिलाहरू बाहेक अरू विवेकशिल प्राणिहरूलाई भोजन निषेध गरिएको छ । ग्रहणको समयमा भोजन निषेध हुनुका साथै पकाउने, भूट्ने, बनाउने, काट्ने, बिभिन्न औजारको प्रयोग गर्ने, भूमी खनन गर्ने, शुभ कार्यको प्रारम्भ गर्ने, मलमूत्र त्याग गर्ने, कपाल कोर्ने, दन्तमञ्जन गर्ने, चेक तथा अन्य महत्वपूर्ण कागजातहरू आदिमा हस्ताक्षर गर्ने कार्य तथा देवताहरूको मूर्ति तथा तुलसीको वृक्ष स्पर्श गर्ने कार्य पूर्णरुपले निषेध हन्छ । यसका साथै विशेषगरी ग्रहणको समयमा गर्भवती महिलाहरू घर बाहिर निस्कनु हुँदैन यदि निस्कनै परेमा तुलसीपत्र, कुश, चन्दन साथमा राखेरमात्र घर बाहिर निस्कनु पर्दछ ।

ग्रहणको समयमा के गर्ने ?
ग्रहणको समयमा ग्रहण स्पर्शभए संगै नदी, तलाउ, पोखरी, तिर्थस्थान, खोला, समुन्द्र आदिमा स्नान गर्ने र त्यसै पूण्यकाल अर्थात् ग्रहणको समयमा यथाशक्ति एवं भक्तिले जनावर, चराचुरूङ्गी, नीमुखा प्राणि तथा असहाय प्राणिहरूलाई दान तथा सहयोग गर्नु निक्कै राम्रो मानिन्छ । यसकासाथै ग्रहणकालमा आफ्नो दिक्षा मन्त्रहरू छ भने जप गर्नु, नभए भगवानको मन्त्रहरूको जप तथा ध्यान, होम आदि गर्नाले हजारौँ गुणा बढी फल मिल्ने शास्त्रोक्त वचन छ । यदि आफ्नो राशिको महादशा, अन्तर्दशा थाहा छ भने त्यसको जप गर्नाले ग्रहपीडा कमभइ नवग्रहको समिक कृपा प्राप्त हुनेछ ।

कुनै जातकको जन्म कुण्डलीमा चन्द्रग्रहण योग परेको छ भने त्यस्ता जातकले चन्द्रमा तथा शिवजीको उपासना गर्नाले अत्यन्त लाभकारी हुनेछ । यसका अतिरिक्त वाकसिद्धि, साधना आदिकोलागि पनि पूण्यकाल अर्थात् ग्रहणको समय उपयुक्त मानिन्छ । ग्रहणको पूण्यकालमा ब्रह्माचर्याको पालना गर्दै मनमा गलत विचार आउन नदिई सकारात्मक विचारको मनन, चिन्तन गर्ने, धार्मिक गीत सङ्गीत तथा भजन गाउने वा सुन्ने, वेद, पुराण, उपनिषद्, गीता इत्यादि धार्मिक ग्रन्थको अध्ययन गर्दै मनलाई प्रसन्न बनाइराख्नु अत्यन्तै लाभदायक हुनेछ ।

ग्रहण प्राकृतिक घटना हो, त्यसैले ग्रहण तथा सूतकबाट भयभित हुनुहुँदैन । यसलाई सम्यक रूपले सकारात्मक पक्षबाट लिनुपर्दछ । यस खण्डग्रास चन्द्रग्रहणले मनुष्यजीवन, जीवजन्तु तथा पर्यावरणमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले ग्रहण तथा सूतकबाट भयभित नभई ग्रहणलाई सम्यक रुपले सकारात्मक पक्षबाट लिन आवश्यक छ ।

ग्रहणको समयमा हाम्रो घरमा विकिरण तथा नकारात्मक उर्जा घरभित्र प्रवेश हुने भएकाले ग्रहणकालमा पकाएर खानेकुरा राख्नुहुँदैन, यसकासाथै दूध, दही, घ्यू, पानी, अचार आदि छ भने त्यसमा तुलसीपत्र वा कुश राख्नाले त्यस्ता खानेकुरालाई खराब नगर्ने शास्त्रीय मान्यता छ । यसका साथै घरको मुख्य द्वारमा या खानेकुरा छेउमा शुद्ध गाईको गोबर राख्नाले ग्रहणबाट निस्कने विकिरण तथा नकारात्मक उर्जालाई रोक्ने काम गर्दछ, अतः गाईको गोबर राख्नु राम्रो मानिन्छ ।

यसपटकको खग्रास चन्द्रग्रहण उत्तरषाढा नक्षत्रमा परेको हुनाले आउने ६ महिनासम्म उत्तरषाढा नक्षत्रमा कुनैपनि शुभकार्य वर्जित हुन्छ र यसका साथै उत्तरषाढा क्षत्रमा ग्रहणको योग परेककाले विशेषगरी उत्तरषाढा नक्षत्रमा जन्म भएका, धनु र मकर राशि तथा धनु र मकर लग्न भएका जातकलाई प्रतिकूल हुने देखिन्छ । यस बाहेकका मेषादि बाह्र राशिको ग्रहणफल यसप्रकार रहेको छ स्

मेषः मानहानी हुने, वृषः कष्ट हुने, मिथुनः स्त्रीपीडा हुने, कर्कटः सुख मिल्ने, सिंहः चिन्ता बढ्ने, कन्याः व्यथा बढ्ने, तुलाः श्रीस् प्राप्ति हुने, बृश्चिकः क्षति हुने, धनुः घात हुने, मकरः खर्च बढ्ने, कुम्भः लाभ हुने,
मीनः सुखदायी हुने ि(ज्यो प नारायणप्रसाद दुलाल)
(ज्यो प नारायणप्रसाद दुलाल)

शिल्पाले मागिन् डिभोर्स, छबिले लेखे यस्तो स्टाटस
छवि शिल्पा सम्बन्ध चिसिएको केही दिनपछी शिल्पा एक अन्तरबार्तामा देखिईन । त्यस अन्तरबार्तामा शिल्पा लगभग अन्तरबार्ता भरिनै रोईन । उनले आफ्नो पीडा सबै पोखिन । उनी बारम्बार अन्तरबार्ता भरी नै म कति पीडामा छु त्यो मलाई मात्र थाहा छ भन्दै थिइन् । उनका अनुसार धेरै समय देखि उनले यस्तो पीडा भोगेकी थिईन । यस झगडामा कुनको कानको जाली फुट्ने गरि हानेको आरोप छवि माथी छ ।

छवि भने यो कुरालाई स्विकार्दैनन तर शिल्पालाई डाक्टरले केही दिन स्पिकर बजेको स्थान नजिक नबस्न सुझाव दिएका छन । उनले अन्र्तवार्तामै आफुले डिर्भोस दिएको समेत खुलाएकी छन् । निर्माता ओझाको छवी पछिल्लो समय धुमलिएको छ । उनको छवि फिल्मसँग सम्बन्धित विषयले भन्दा पनि घरेलु समस्याका कारण धुमिलिएको हो ।

यसअघि पनि पटक पटक वैवाहिक जीवनमा धोका बेहोर्दै आएका निर्माता ओझाको चौथो विहे पनि यतिवेला संकटमा परेको छ । यही विषयलाई लिएर छवीले प्रहरीमा गएर शील्पासँग मिलापत्रको कागज समेत गरिसकेका छन् । यद्यपि, मिलापत्र भए पनि छवी र शील्पा यतिवेला सँगै थिएनन् । उनीहरु अलग अलग बस्दै आएका थिए । ।

यस बिषयमा शिल्पाको अन्तरबार्ता आएको केही समय पछाडि नै छबिले आफ्नो फेसबुक मार्फत शिल्पालाई सम्बोधन गर्दै एउटा लामो सन्देश र स्टाटस लेखेका छन । छबिले फेसबुकमा लेखेको स्टाटस यस्तो छ ।

शिल्पा जि, मैले ५२ बर्षको उमेरमा ३ जना श्रीमती सङ सम्बन्ध बिच्छेद भईसकेपछि तपाईं सङ चाहिँ जिन्दगि बिताउन सक्छु होला भनेर जिन्दगिका सब थोक कम्प्रमाइज गरेर माया गरेर बिहे गरेको श्रीमती हो तपाईं ।

छातिमा हात राखेर आज एक्छिनलाई आफैलाई नढाटी सम्झनुस तपाइले लगाएका कति आरोपहरु सत्य छन ? यदि तपाईं पनि आफुलाइ सच्याएर अझै मेरो श्रीमती, तपाइले बिहे गर्ने बेलामा आस्वासन दिलाए जस्तै मेरो बुढेसकालको सहारा बनेर बस्न सक्नुहुन्छ भने, म पनि मेरा कमि कमजोरीहरु सच्याएर गान्धीबादी भएर बस्न सक्छु । अरुको कुरा नसुन्नुस, आउनुस हाम्रो घरको ढोका सधै तपाईंको लागि खुल्ला छ । हैन र यदि तपाइ साच्चै म सङ बस्न सक्नु हुन्न भने पनि एक पटक म सङै आएर टेबलमा कुरा गर्नुस ।

मेरो ईतिहास पल्टाएर हेर्नुस आज सम्म मैले कुनै पनि श्रीमतिलाई अन्यायमा पारेको छैन । तपाइलाइ पनि पार्दिन । मैले बिगत ३ दिन देखि तपाइलाइ सम्पर्क गरेर भेट्न खोज्दा पनि तपाइलाई अब मेरो वकिलले भेट्छ भन्नू भयो । म फेरि पनि भन्दैछु, सन्सारको कुनै पनि अदालतमा जानू पर्दैन । छबी ओझाको अदालतमा सिधै आउनुस । तपाइले न्याय पाउनु हुन्छ । शुभरात्री ।

(spinabifida.net)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?