सिंहदरबारमा बसेको त्यो बैठक जसले गरायो बाबुराम र उपेन्द्रबीच बिछोड

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ २३, २०७९
|
|
४० पटक हेरिएको
Shares
सिंहदरबारमा बसेको त्यो बैठक जसले गरायो बाबुराम र उपेन्द्रबीच बिछोड

सारांश

  • आन्तरिक विवादका कारण जनता समाजवादी पार्टी नेपाल विभाजन हुने लगभग निश्चित देखिएको छ ।
  • जसपाका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा.
  • बाबुराम भट्टराईबीच सहमतिमै अलग हुने समझदारी भएको छ ।

आन्तरिक विवादका कारण जनता समाजवादी पार्टी नेपाल विभाजन हुने लगभग निश्चित देखिएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईबीच सहमतिमै अलग हुने समझदारी भएको छ ।

असार १५ गते सिंहदरबारस्थित जसपाको संसदीय दलको कार्यालयमा अध्यक्षद्वय भट्टराई र यादवबीच छलफल भएको थियो । सो छलफलमा दुवैजना सहमतिमै छुट्टिने कुराकानी भएको बाहिर आएको छ । तर बाबुराम पक्षले छुट्टिने सहमति नभएको प्रतिकृया दिएको छ ।

सो छलफलपछि जसपाका दुवै पक्ष (बाबुराम र उपेन्द्र) ले एकै दिन असार २९ र ३० गते छुट्टाछुट्टै बैठक बोलाइसकेका छन् । जसपा अध्यक्ष उपेन्द्र यादव पक्षको केन्द्रीय समितिको बैठक वीरगञ्जमा बस्नेछ भने जसपा संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई पक्षको केन्द्रीय समितिको बैठक काठमाडौंमा बस्नेछ ।

सो बैठकले नै छुट्टिने कि नछुट्टिने भन्ने निर्णय लिने बताइएको छ । असार १५ गते दुई जना अध्यक्षका बीचमा के के कुरा भयो, जसले एकैपटक पार्टी नै अलग हुने कुरामा पु¥यायो भन्ने प्रस्ट भइसकेको छैन । स्रोतका अनुसार जसपाका संघीय परिषद् अध्यक्ष भट्टराईले पार्टीमा देखिएको विवादका बारेमा छलफल गर्न अर्का अध्यक्ष उपेन्द्र यादवसँग भेट्ने प्रस्ताव गरेका थिए । बाबुराम भट्टराईको प्रस्ताव स्वीकार गर्दै उपेन्द्र यादवले सिंहदरबारमा भेट्ने समय निकाले ।

जसपाको संसदीय दलको कार्यालयमा दुवै जनाको भेट भयो । दुवै जनाको भेट सामान्य थियो । अध्यक्ष भट्राईले पार्टीमा विवाद बढ्दै गइरहेको र जुन सोचले यो पार्टी बनेको थियो, त्यसअनुसार अगाडि बढ्न नसकेको बताए । पार्टी एउटा कुनै समुदाय तथा क्षेत्रमा मात्र सीमित हुँदै गएको भन्दै उनले यसको गम्भीर समीक्षाको खाँचो औंल्याएका थिए ।

पार्टीमा एक अर्कालाई असामान्य ढङ्गले खुइल्याउने काम भइरहेको भन्दै डा.भट्टराईले त्यसलाई रोक्नुपर्ने प्रस्ताव गरेका थिए । स्रोतका अनुसार भट्राईले यस विषयमा छलफल गर्न हेडक्वार्टरको बैठक बोलाउनुपर्ने प्रस्ताव समेत गरेका थिए । हेडक्वाटर बैठक राख्ने विषयमा अध्यक्ष यादवले सहमति जनाएका थिए ।

तर त्यसको भोलिपल्ट मिडियामा अर्कै समाचार आएको जसपा (बाबुराम पक्ष) कार्यकारिणी समितिका सदस्य प्रशान्त सिंहले बताए । उनले भने, ‘बाबुरामजीले हेडक्वाटरको बैठक बसौं, छलफल गरौं छलफलबाट कुरा मिलेन भने सहमतिमै छुटौं भन्नुभएको थियो ।’ तर उपेन्द्रजी यादवले सहमतिमै छुट्टिऔं भनेर बाबुरामबाट प्रस्ताव आएको र हात मिलाएर बिदा लिएर जानु भयो भनेर प्रचार गर्न लगाएको उनको आरोप छ ।

दुई जना अध्यक्षको बीचमा मात्र भएको कुरालाई उपेन्द्र पक्षले भ्रामक तरिकाले मिडियामा प्रचार गराएको उनको भनाइ छ । सञ्चारमाध्यममा एकतर्फी समाचार आउन थालेपछि अध्यक्ष भट्टराईसँग आफूले यसबारे सोधेको र डा. भट्टराईले उपेन्द्रसँगको भेटमा भएको कुराबारे आफूलाई विस्तृत रुपमा बताएको उनले जानकारी दिए ।

‘अध्यक्ष भट्टराईले खण्डन गर्न सक्नु हुन्थ्यो, तर जब अध्यक्ष उपेन्द्र यादवको पक्षबाटै सहमतिमा अलग हुने कुरा आएकाले उहाँ चुपचाप बस्नु भएको हो,’ सिंहले भने, ‘अवस्था हेर्दा एक न एक दिन छुट्टिनु नै छ, उपेन्द्रजीको चाहना पनि बाबुराम भट्टराई पार्टीमा नरहुन् भन्ने नै हो, त्यसैले किन यसको प्रतिवाद गर्ने भनेर भट्टराई चुपचाप बस्नु भएको हो ।’

जसपाका कार्यकारिणी समिति सदस्य गज्जाधार यादवले उपेन्द्र यादव र बाबुराम भट्टराईबीच के कुराकानी भयो भन्ने आफूलाई थाहा नभएको तर आफूले पार्टीकै विषयमा फोन गर्दा उपेन्द्र यादवले नै सहमतिमा छुट्टिने कुरा भएको जवाफ दिएको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?