सिरियाको गुटामामात्र दुई हप्तामा ३ सय ४६ नागरिक मारिए, ८७८ घाइते
सारांश
- जेनेभा, ११ फागुन ।
- संयुक्त राष्ट्रसंघको मानवअधिकार कार्यालयले सिरियाको गुटा क्षेत्रमा मात्र गएको कम्तीमा दुई हप्तामा ३ सय ४६ नागरिक मारिएको बुधबार जनाएको छ ।
- सिरियाली सरकार र त्यसको गठबन्धन सेनाले विद्रोहीविरुद्ध गरेको रक्षात्मक सुरक्षा कारबाहीका क्रममा उनीहरुको मृत्यु भएको जनाइएको छ ।
जेनेभा, ११ फागुन । संयुक्त राष्ट्रसंघको मानवअधिकार कार्यालयले सिरियाको गुटा क्षेत्रमा मात्र गएको कम्तीमा दुई हप्तामा ३ सय ४६ नागरिक मारिएको बुधबार जनाएको छ । सिरियाली सरकार र त्यसको गठबन्धन सेनाले विद्रोहीविरुद्ध गरेको रक्षात्मक सुरक्षा कारबाहीका क्रममा उनीहरुको मृत्यु भएको जनाइएको छ ।
“दामास्कसको आवास क्षेत्रमा मात्र कम्तीमा ३ सय ४६ जनाको मृत्यु भएको छ भने अरु ८७८ जना घाइते भएका छन्”, राष्ट्रसंघीय कार्यालयले भनेको छ । मृत्यु हुनेमध्ये अधिकांश हवाई आक्रमणमा परेका हुन् । उक्त सेनामा यस क्षेत्रमा यसै महिनाको सुरुदेखि निकै आक्रामक रुपमा हवाई कारबाही सुरु गरेको बताइएको छ ।
यसरी मारिनेमध्ये ९२ जना नागरिकको गत सोमबार भएको हवाई कारबाहीका क्रममा ज्यान गएको हो । गत सोमबार अर्थात एकैदिनमा १३ घण्टाभित्र ती सर्वसाधारण नागरिक मारिएका यसअघि नै बताइएको थियो । राष्ट्रसंघीय मानअधिकार उच्चायुक्तको कार्यालयले भनेको छ, “गुटामा यही फेब्रुअरी ४ देखि हवाई तथा स्थल कारबाही भएको हो र त्यसमा परी दई हप्तामा मात्रा यति धेरै नागरिक हताहत भएका छन् ।”
मानवअधिकारका लागि राष्ट्रसंघीय उच्च आयुक्त जेइड राअड अल हुसेनले गुटामा दशौँ हजार नागरिक गत पाँच वर्षयता चेपुवामा परेको बताएका छन् । उनीहरु आधारभूत आवश्यकताका सेवा सुविधाहरुबाट समेत बञ्चित भएका छन भने बम आक्रमणहरु पनि उत्तिकै खेपिरहेका छन् ।
गत सोमबार र मङ्गलबार मात्रै पनि दर्जनौँ हवाई आक्रमण र सयौँ स्थलमार्गबाट हुने आक्रमण गुटाको विभिन्न आवासीय क्षेत्रमा भएको छ । त्यस्तो आक्रमण बुधबार पनि जारी रहेको राष्ट्रसंघीय अधिकारीहरुले बताएका छन् । गुटा क्षेत्रमा अत्यधिक असुरक्षा भएपछि धैरै नागरिक विस्थापित भएका छन् । उनीहरु सुरक्षित ठाउँ खोज्दै अन्यत्र गएको पाइएको छ । उनीहरुले सुरक्षित शिविरहरु बढी खोजेका बताइएको छ । सन् २०१३ यता घेराबन्दीमा रहेको पूर्वी गुटामा करिब ४ लाख मानिसको बसोबास रहेको छ । गुटा राजधानी दमासकसनजिकै विद्रोहीहरूको बलियो प्रभाव रहेको एकमात्र बाँकी क्षेत्र हो । त्यस क्षेत्रमा पुनः नियन्त्रण कायम गर्न सिरियाली सुरक्षाबलले प्रयास जारी राखेको र यसमा रुसको पनि सहयोग रहेको छ ।
सिरियामा जारी रहेको करिब सात वर्ष लामो द्वन्द्वको क्रममा यसलाई एक रक्तपातपूर्ण कारबाहीको रुपमा हेरिएको छ । पछिल्लो कारबाहीमा परी दर्जनौँ बालबालिका मारिएको सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जनाएको छ । सिरियामा सन् २०११ को मार्चबाट यहाँका राष्ट्रपति बसर अल असदको राजीनामाको माग गर्दै आन्दोलन सुरु भएको थियो । सो आन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भएको हो ।
यसबाट तीन लाखभन्दा बढी नागरिकको ज्यान गएको छ भने लाखौँ नागरिक घाइते तथा अंगभंग भएका छन् । मारिनेमा यहाँका सुरक्षाकर्मी पनि उल्लेख्य रुपमा रहेका छन् । त्यसैगरी अरु लाखौँलाख नागरिक विस्थतापित भएका वा शरणार्थीको रुपमा बस्न बाध्य भएका छन् । सिरियाबाट लाखौँ नागरिक घर छोडेर छिमेकी देशहरुमा शरणार्थीका रुपमा बसिरहेका छन् ।
सिरियामा युद्धविरामको सहमति भएन
सिरियामा पछिल्लो समयमा हिंसा झन बढेपछि त्यहाँ केही समयका लागि मात्र भए पनि युद्धविराम गर्न प्रयास भएको छ, तर सम्भव भने हुन नसकेको बताइएको छ । पछिल्लो समयमा सिरियाली सरकारी सुरक्षाबलले यस देशको राजधानी दमासकसको पूर्वी भू–भागमा पर्ने गुटामा आक्रमण गरेको छ । सो आक्रमणमा परी सयाँै सर्वसाधारण मारिएका छन् ।
सिरियाली द्वन्द्वको अनुगमन गरिरहेका मानवअधिकारवादीहरुले बताएअनुसार सो क्षेत्रमा यसै महिनाको सुरुदेखि नै सिरियाली सेनाको अगुवाईमा रहेका सुरक्षाकर्मीहरुले हवाई र स्थलगत कारबाही गरेका छन् । जसका कारण यहाँका ३०० जना भन्दा बढी सर्वसाधारण मारिएका छन् । नागरिक हत्याको अवस्था अत्यन्तै क्रुर र नाजुक भएकोले सिरियामा केही समयका लागि मात्र भए पनि युद्धविरामको प्रयास संयुक्त राष्ट्रसंघले गरेको हो ।
मानवअधिकारबादीहरुले मानवीय सहायता पु¥याउनका लागि यहाँ युद्धविराम गर्नुपर्ने प्रस्ताव गरेका बताइएको थियो । सोही बमोजिम संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा उक्त प्रस्तावमा छलफल भएको थियो । सो छलफलमा सहमति भने हुन नसकेको रूसले बताएको छ । सुरक्षा परिषदमा रुसले पनि सिरियामा युद्धविरामको लागि प्रस्ताव गरेको थियो । यस विषयमा बिहीबार पनि छलफल भएको हो ।
संयुक्त राष्ट्रसंघका लागि रूसी राजदूत भसिली नबेन्जियाले राष्ट्रसंघीय सुरक्षा परिषदमा रुसले उक्त प्रस्तावमा संशोधन प्रस्तुत गरेको भए पनि युद्धविरामका लागि भने प्रस्ताव नै गरेको जानकारी दिनुभएको थियो । सिरियाको पूर्वी क्षेत्र गुटास्थित केही भाग विद्रोहीको घेराबन्दीमा रहेको बताइएको छ । सो क्षेत्रमा पछिल्लो समयमा बमबारीका घटना बढेका छन् । सोही कारण त्यहाँ युद्धविराम गर्नुपर्ने आवाज उठेको हो ।
प्राप्त समाचारहरुका अनुसार घेराबन्दीमा रहेको क्षेत्रको अवस्था निकै दयनीय रहेको र त्यहाँ खाद्यान्न, पानी, विजुली तथा अन्य आधारभूत आवश्यकताको पनि ठूलो अभाव रहेको बताइएको छ । अधिकारवादीहरुको प्रस्तावमा देशव्यापी रूपमा सिरियामा एक महिनाका लागि युद्धविराम गर्ने गरी मस्यौदा प्रस्ताव अघि सारिएको थियो । उक्त प्रस्ताव छलफलमा नै छ र अहिलेसम्म त्यसमा सहमति जुट्न सकेको छैन ।
सन् २०१३ यता सिरियाली सेनाले विद्रोहीको घेराबन्दीमा रहेको भनिएको पूर्वी गुटामा करिब चार लाख मानिसको बसोबास रहेको छ । त्यस क्षेत्रमा हाल आएर सिरियाली सेनाको नेतृत्वमा रहेको सुरक्षा निकायले व्यापक मात्रामा बमबारी र स्थलगत कारबाही थालेकोमा यस्तो प्रकारको कारबाही रोक्न संयुक्त राष्ट्रसंघले आग्रह गरेको छ । सिरियाली राजधानी दमासकसको सबैभन्दा नजिक पर्ने क्षेत्रमा विद्रोहीहरूको बलियो प्रभाव रहेको एकमात्र बाँकी क्षेत्र नै गुटा हो । त्यस क्षेत्रमा पुनः नियन्त्रण कायम गर्न सिरियाली सुरक्षाबलले आक्रमणको तयारी गरिरहेको बताइएको छ ।
सिरियामा सन् २०११ को मार्चबाट यहाँका राष्ट्रपति बसर अल असदको राजिनामाको मागगर्दै आन्दोलन सुरु भएको थियो । त्यहाँ हाल जारी गृहयुद्धमा आतङ्ककारी समूह अल कायदा र इस्लामिक स्टेट्स बढ्दै गएका छन् । जारी सो द्वन्द्वमा परी सो समयदेखि हालसम्म ३ लाख ४० हजार भन्दा बढी व्यक्ति मारिएका छन् । त्यसैगरी लाखौँ घाइते भएका छन् भने अरु लाखौँलाख नागरिक घरबारबिहीन भई स्वदेश र विदेशमा शरणार्थी जीवन विताउन बाध्य छन् । संयुक्त राष्ट्रसंघले सिरियामा शान्तिपूर्ण वार्ताको माध्यमबाट जारी हिंसात्मक गतिविधी रोक्ने प्रयास गरिरहेको भए पनि त्यो सम्भव हुन सकिरहेको छैन ।
प्रतिक्रिया