सुन काण्डका नाइके ‘गोरे’लाई डिआइजी निरौलाले यसरी भगाए

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख १४, २०७५
|
|
२१ पटक हेरिएको
Shares

सारांश

  • यसरी थाहा पाए निरौलाले गोरे पक्राउ गर्न लागेको प्रहरीको सूचना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रमुखबाट हटाइएपछि निरौला प्रहरी प्रधान कार्यलयस्थित अन्वेषण ब्युरो प्रमुख थिए ।
  • ब्युरो प्रहरी महानिरीक्षकको सचिवालयअन्तर्गत अपराध अनुसन्धान विभागअन्तर्गत रहन्छ ।
  • विभाग प्रमुख तत्कालीन एआइजी बमबहादुर भण्डारी थिए ।

यसरी थाहा पाए निरौलाले गोरे पक्राउ गर्न लागेको प्रहरीको सूचना

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रमुखबाट हटाइएपछि निरौला प्रहरी प्रधान कार्यलयस्थित अन्वेषण ब्युरो प्रमुख थिए । ब्युरो प्रहरी महानिरीक्षकको सचिवालयअन्तर्गत अपराध अनुसन्धान विभागअन्तर्गत रहन्छ । विभाग प्रमुख तत्कालीन एआइजी बमबहादुर भण्डारी थिए ।

भण्डारीलाई तत्कालीन प्रहरी महानिरीक्षक प्रकाश अर्यालले गोरे पक्राउको योजना बताएका थिए । गोरे पक्राउका लागि प्रहरीसँग समन्वय गर्ने जिम्मा पनि अर्यालले भण्डारीलाई दिएका थिए ।

सोही क्रममा भण्डारीले मोरङ जिल्ला प्रहरी कार्यालयसँग गोरे पक्राउ गर्न समन्वय गरिरहेका थिए । यसको सुइँको ब्युरोका तत्कालीन डिआइजी निरौलाले पाए । त्यसलगत्तै उनले प्रहरीको योजना गोरेलाई भने । र गोरेलाई भगाए ।

गोरेको डरले आसाम पुगेका सनम बाबुआमा र परिवार सखाप पारिदिने धम्कीपछि फर्किए

दुबईबाट विमानस्थल आएको साढे ३३ किलो सुन विमानस्थलबाट अनामनगर पुग्नासाथ हरायो । गोरेले शंका आफ्नै पूर्वसहकर्मी सनम शाक्यलाई गरे । गोरेले पिछा गरेपछि डरले भागेर सनम आसाम पुगे ।

तर, भेट्न नआएमा उर्लाबारीमा भएका आमाबुवा, श्रीमती सबैलाई सखाप पार्ने धम्की गोरे समूहले दियो । सनमले गोरे समूहलाई पश्चिम बंगालको सिलिगुडीमा भेटेर सुन आफूले गायब नबनाएको स्पष्टीकरण दिए । तैपनि सुन खोज्ने जिम्मा उनैलाई लगाइयो ।

सुन नभेटिएको भनेर फेरि उनलाई नियन्त्रणमा लिएर मोरङको उर्लाबारीस्थित जंगलमा लगेर यातना दिन थालियो । १२ भोल्टको ब्याट्रीबाट करेन्ट लगाएर यातना दिँदा सनमको मृत्यु भयो । त्यसअघि एकजना र पछि अर्को गरी यो घटनासँग सम्बन्धित तीनजनाको मृत्यु भएको छ ।

डिआइजीसहितका प्रहरी अधिकारीलाई कर्तव्य ज्यान र संगठित अपराधको मुद्दा

साढे ३३ किलो सुन गायब प्रकरणमा मुछिएका प्रहरी अधिकारीमाथि मुद्दा चलाएर अनुसन्धान थालिएको छ ।

कर्तव्य ज्यान र संगठित अपराध मुद्दामा म्याद थपेर बहालवाला अधिकारीहरू एसपी विकास खनाल, डिएसपी सञ्जय राउत, सइ बालकृष्ण सन्जेल र सवारीचालक जवान सञ्जीव शाक्य तथा पूर्वडिआइजी गोविन्द निरौलामाथि अनुसन्धान सुरु गरिएको हो ।

कर्तव्य ज्यान र संगठित अपराधको मुद्दा लागेपछि बहालवाला अधिकारीलाई प्रहरी प्रधान कार्यालयले निलम्बनसमेत गरेको छ ।

गृह मन्त्रालयका सहसचिव ईश्वर पौडेल नेतृत्वको छानबिन समितिले निरौला, खनाल, राउत, सन्जेल र शाक्यलाई पक्राउ गर्न आदेश दिएको थियो ।

प्रहरीले निरौलालाई ११ वैशाखमै विराटनगर ल्याएर हिरासतमा राखेको थियो । सञ्जेल र शाक्यलाई १२ वैशाखमा ल्याएको हो ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?