सुन तस्करी प्रकरण : खै त नेताको हातमा हतकडी ?
सारांश
- काठमाडाै, २६ वैशाख ।
- आकर्षक गहनाको रुपमा प्र्रयोग हुने पहेँलो धातु सुन संसारकै दुर्लभ र महंगो धातु मानिन्छ ।
- मानव सभ्यताको सुरुवातसँगै अझ वैदिककालदेखि नै सुनको महिमा गाइएको छ ।
काठमाडाै, २६ वैशाख । आकर्षक गहनाको रुपमा प्र्रयोग हुने पहेँलो धातु सुन संसारकै दुर्लभ र महंगो धातु मानिन्छ । मानव सभ्यताको सुरुवातसँगै अझ वैदिककालदेखि नै सुनको महिमा गाइएको छ । हाम्रा पैराणिक ग्रन्थहरूमा समेत स्वर्ण अर्थात् सुनबारे वर्णन गरिएको पढ्न पाइन्छ । पश्चिमा जगतको प्राचीन ग्रिक वा रोमन सभ्यतामा सुनको महत्वबारे बयान गरिएको भेटिन्छ ।
सुन धरौटीको प्रामाणिक अनुपात बमोजिम नै पैसा छाप्न पाइने हुनाले हरेक राज्यको निम्ति सुनको महत्व अपरम्पार छ । सुन खिया नलाग्ने मनमोहक धातु भएकोले राजा महाराजा, खान्दानी कुलिन वर्ग, नवधनाढ्यदेखि सर्वसाधारण मान्छेहरूसमेत यसप्रति हुरुक्क हुन्छन् । २४ क्यारेटको सुनका गहनाहरूको दुनियाभरी चर्काे माग छ ।
विवाहमा सुनको गहनालाई प्रतिष्ठाको विषय बनाइएकोले जायजेथा, सम्पत्ति बेचेर पनि कम क्यारेटको(माइलो सुन) वा नक्कली सुनको गहना ढल्काएको पाइन्छ । हालै एक विद्यार्थी नेतृले आफ्नो विवाहमा प्रयोग गरेको भारीभरकम सुनले फेसबुक, ट्वीटरमा तहल्का मच्चायो । लेनिनले अक्टोबर क्रान्तिलगत्तै रसियन संभ्रान्त वर्गको सुन मोहलाई खिल्ली उडाउँदै भनेका थिए–‘मजदूरहरूले सुनलाई वाइलेटमा प्रयोग गर्नुपर्छ ।’
सन्दर्भ बहुचर्चित ३३ किलो सुन प्रकरणको हो । केपी ओली सरकारले सुन तस्करको जालो च्यात्ने दृढ अठोटका साथ अनुसन्धान सुरु गरेपछि तस्करीको दुनियामा दश रेक्टर स्केलको भूकम्प गएको छ । अवैध बाटोबाट भित्रिएका सुन काण्डमा भविष्यका आइजीपी भनिएका ठूला प्रहरी अफिसरको हातमा समेत हत्कडी लागेको छ ।
सुनको चोरी तस्करीमा तस्कर, प्रहरी, नेता र कर्मचारीको सेटिङ हुँदोरहेछ । बाहिरी घेराको रुपमा वकिल, न्यायाधीश र मिडियाको समेत मुख बुझो लगार्इंदोरहेछ । यसकार राणाकालदेखि लोकतन्त्रसम्म सुन धन्दा मौलाउँदो छ । वैद्य बाटोबाट सुन भित्र्याँउदा प्राप्त हुने खर्बाैं राजश्व आजसम्म गुमिरहेको छ ।
सुन माफियाहरूको ¥याकेट यति शक्तिशाली छ कि उनीहरूले दुनियाँभरी समानान्तर राज्य चलाउने हैसियत राख्छ, राज्यलाई चुनौती दिएर ‘अण्डरग्राउण्ड इकोनोमी’ चलाउँछ । आफ्नो प्रतिकूल सरकार गिराउने तागत समेत राख्छन् । थोरै समयमा अर्बौं कमाउने मोहमा देश र जनतालाई ठग्छन् ।
३३ किलो सुन त सानो आँखीझ्याल हो, जसबाट आजसम्म भएका सयौं टन सुन तस्करी चिहाउन सकिन्छ । पंचायतकालमा राजपरिवारसँग आन्द्रा गाँसिएका तात्कालीन आइजीपी डीबी लामा र अधिराजकुमार धीरेन्द्रका एडीसी कर्नेल भरत गुरुङले सुनको इँटा बाथरुममा प्रयोग गरेको घटना सार्वजनिक भएकै हो । पंचायत पतन हुनुको एउटा कारण यसका हर्ताकर्ताहरू सुनदेखि मूर्ति, गाँचाचरेश तस्करीमा संलग्न हुनुलाई पनि मानिन्छ ।
बहुदल र लोकतन्त्रकालमा विकसित सूचना प्रविधिको दुरुपयोग गर्दै दुई नम्बरी धन्दा फस्टाएको पाइन्छ । छोटो समयमा कुस्त कमाउने नशा लागेको मान्छेले आफ्नो करियर र प्रतिष्ठालाई दाउमा लगाएर माफियागिरीको बाटो समाउँदो रहेछ । केन्द्रीय बैंकले कानूनी तरिकाले अन्तर्राष्ट्रिय बजारबाट सुन ल्याएर कारोबार गर्छ । सुन व्यावसायीहरू राष्ट्र बैंकको महंगो सुनमा भन्दा तस्करहरूको तुलनात्मक सस्तो सुन खरिदमा हत्ते हाल्दा रहेछन् । कतिपय त आफैं तस्करीमा संलग्न हुन्छन् ।
हाम्रो एयरपोर्ट उनीहरूकै सेटिङमा चल्दोरहेछ । यस्तो खतरनाक माफिया जालोमाथि हालै सरकारले प्रहार गरेपछि कतिपय हाइप्रोफाइलहरू ‘लोभले लाभ लाभले विलाप’ को नियतिमा धकेलिएका छन् । अनुसन्धानकर्ताहरूले बरु ५ जना दोषी छुटुनु तर एउटा पनि निर्दाेष नफसोस् भन्ने कुरामा पुरै सावधान हुनुपर्छ ।
राज्य ठगीमा संलग्न ठूलाबडा राजनीतिक दलका नेता वा कर्मचारीहरूको हातमा पनि हत्कडी लागेको हेर्न चाहन्छन् जनता । तिल्मिलाएका तस्करहरू घाइते साँपझै सरकारमाथि खनिन सक्छन् निदहराम भएका अन्तर्राष्ट्रिय माफियाहरूको चक्रब्यूह तोड्ने खोज्नेहरूले अभिमन्यु नियति भोग्ने चलाखी र होसियारी अपनाउनै पर्छ । भारतलगायतका देशहरूमा सुन तस्कर र ड्रग्स माफियाले सरकारलाई हैरान तुल्याएको घटनाबाट पाठ सिक्नुपर्छ ।
कमजोर राज्य र अराजकक शासन भएको तेस्रो विश्वका देशहरूमा गोल्ड स्मगलिङ, ड्रग्स स्मगलिङ फस्टाउँछ । अफ्रिका, ल्याटिन अमेरिका र एसियाका कानूनी शासन निम्छरो भएका देशहरूमा माफियाराज चलेको पाइन्छ । अवैध लागू औषधको जालो तोड्न सम्पूर्ण तागत खन्याएका कोलम्बियाका नोबेल शान्ति पुरस्कार प्राप्त राष्ट्रपति जोस म्यानुअल सान्तोसले माफियाहरूसँगको लडाईलाई सबैभन्दा खतरनाक युद्धको संज्ञा दिएका छन् ।
स्मरण रहोस् मानव दुनियाँकै सबैभन्दा खुँखार धनी ड्रग माफिया पाब्लो इस्कोबारको सन् १९९० को दशकमा कोलम्बियामा ‘इन्काउन्टर’ भएको थियो । मेक्सिकोमा त खुनी तस्करहरूको सामु सरकार नै निरीह देखिन्छ । नेपालकै सन्दर्भमा पनि राज्य संयन्त्रको शिरदेखि पाउसम्म फैलिएका तस्करहरूको नेटवर्क ध्वस्त पार्न खोज्दा लहरो तान्दा पहरो त थर्किने नै भयो ।
राज्यको अवैध दोहन गर्न पल्किएका लोभीपापीहरूकै कूकर्मको बाइ–प्रोडक्टको रुपमा गोरे तस्करहरू जन्मिन्छन् । ३३ किलो सुन काण्डसँग पिण्ड जोडिएकाहरूको रहष्यमय हत्या र आत्महत्याले धेरै कुराको संकेत दिन्छ । यो काण्डलाई जायज तरिकाले सल्टाउँदा कयौं भीआइपी हातहरूमा हत्कडी लाग्ने देखिन्छ ।
तस्करहरूलाई हतोत्साहित तुल्याएको यो छानबिन यतिमै सीमित नहोस् । जनता र देश ठग्ने अपराधी जुनसुकै हैसियत र दर्जाको किन नहोस्, कानूनको फन्दामा पर्न योग्य हुन्छ । अवैध गिरोहले चलाउने तस्करीको ¥याकेट बन्द हुनसक्यो भने देशको ढुकुटीमा खर्बाैं राजश्व दाखिला हुनेछ र देश विकासको ढोका खुल्नेछ ।
टनका टन सुनको अवैध कारोबार र कारोबारीमाथि धावा बोल्नु लरतरो कुरा हैन । सरकार इमान्दारीपूर्वक सुन तस्कर, लागूऔषध तस्करविरुद्ध खडा हुँदा भावी देशभक्त र स्वच्छ सरकारलाई माफियाहरूको जरोकिलो उखाल्ने नैतिकबल र नजिर मिल्नेछ ।
सिण्डिकेटबारे चर्चा गर्दा यातायात सिण्डिकेटमाथि ओली सरकारले निर्णायक धावा बोलेर देशबासीको स्याबासी बटुलेको छ । प्रशासन राजनीति व्यापार जताततै शक्तिशाली पहुँच बनाएका नाफाखोर सिण्डिकेटवालाहरू बर्षायामका जुकाजस्तै सल्बलाइरहेका छन् । अवैध यातायात सिण्डिकेटजस्तो जनविरोधी पापको जरोकिलो उखेल्नै पर्छ ।
यातायात सिण्डिकेट तोडिने छाँटकाट देखिएपनि अस्पताल, विद्यालय, कलेज, विश्वविद्यालय, ट्याक्सी र तरकारी व्यवसायलगायत क्षेत्रमा व्याप्त अवैध सिण्डिकेटमाथि सरकारले निर्णायक धावा बोल्नैपर्छ ।
शैक्षिक माफियाहरूले चलाएको लुटको धन्दामाथि हस्तक्षेप गरेर सार्वजनिक र सरकारी शिक्षाको गुणस्तर विकास गर्दै शिक्षामा गरीबहरूको पहुँच बढाउनै पर्छ । शिक्षा र स्वास्थ्य क्षेत्रमाथि राज्यको नियन्त्रण र नियमन कायम गरी कल्याणकारी राज्यमार्फत समाजवादतर्फ फड्को मार्न सरकार दत्तचित्त हुनुपर्छ । गाँस, बास, कपास, शिक्षा स्वास्थ्य सुरक्षा अर्थात् छाना, खाना र नाना प्रत्येक नेपालीलाई उपलब्ध गराउनसकेमा सरकार इतिहासमा अमर हुनेछ ।
चोरबाटोबाट चाँडैै धनी हुन खोज्ने भुईफुट्टा वर्गमाथि कठोर हस्तक्षेप गर्न सके सबैखाले माफियागिरी र टपरटुईंया सिण्डिकेट भत्किनेछ । देश र जनताको मुहार फेर्न नेपाललाई विकसित, सभ्य, भव्य एवं धनी बनाउन र तस्करहरूको लूटको स्वर्गमाथि धावा बोल्ने सरकार, मिडिया, नागरिक समाज एकगठ भएर अघि बढ्नै पर्छ ।
चोरलाई चौतारीमा अभिनन्दन गरेर साधुलाई सुलीमा जाक्ने मत्स्यन्यायको अन्त्य हुनैपर्छ । विश्वप्रसिद्ध नाटककार विलियम सेक्सपियरको मर्चेन्ट अफ भेनिसको पात्र ‘साइलक’ जस्ता परपीडकहरूको इतिहासलाई भष्मखरानी पार्नैपर्छ ।
पुण्य गाैतम (विश्वास) ले साँघु साप्ताहिकमा लेखेका छन ।
प्रतिक्रिया