सुन धरौटी राखेर खनेको सडकमा गाडी गुड्यो
सारांश
- हेमन्त केसी जाजरकोट, पुस २० ।
- त्रिवेणी नलगाड नगरपालिका वडा ३ का ६१ वर्षीय गोरे सार्की घर नजिकै जीप आँउदा हेर्न नाती बोकेर कैनामा आए ।
- बुधबार बेलुका चार वटा जीप दल्लीबाट लिएर कैना पुगेका नगरप्रमूख टेकबहादुर रावललाई अब सधैँ जीप आउँछ नि ?
हेमन्त केसी
जाजरकोट, पुस २० । त्रिवेणी नलगाड नगरपालिका वडा ३ का ६१ वर्षीय गोरे सार्की घर नजिकै जीप आँउदा हेर्न नाती बोकेर कैनामा आए । बुधबार बेलुका चार वटा जीप दल्लीबाट लिएर कैना पुगेका नगरप्रमूख टेकबहादुर रावललाई अब सधैँ जीप आउँछ नि ? भन्दै सार्कीले जिज्ञासा समेत राखे । उनले आफूले लगाएका सुन बैँकमा राखेर सडक खन्नका लागि पैसा जुटाएका थिए ।
त्यस्तै दलवीर बुढाले वडा ३ का वडा अध्यक्ष प्रचण्ड ओलीलाई हाम्रो सुन बैैँकमा धरौटी राखेर खनेको सडकमा सधै यातायात चल्ने वातावरण बनाईदिन आग्रह गरे । जीप पुगेको हेर्न र स्वागत गर्न यहाँका ३ सय भन्दा बढी स्थानीयहरु माला, अबिर लिएर कैनामा पुगेका थिए । उनीहरुले जीप चालक र मेयर, वडा अध्यक्ष सबैलाई भव्य स्वागत गरे ।
त्रिवेणी नलगाड नगरपालिका वडा ७ दल्लीबाट वडा ३ को कैना सम्म करिब ६ किलोमिटर सडक निर्माण कार्य सम्पन्न भई जीप सञ्चालन भएपछि यहाँका स्थानीयहरु खुसीले गद्गद् हुँदै परिश्रमको फल प्रयोग गर्न पाएको भन्दै निकै खुसी भएका छन् । यहाँका ११ जना स्थानीयले ४० तोला सुन बैँकमा राखेर छेप्काबाट कैना सम्म सडक निर्माणका लागि पहल गरेका थिए । वि. सं. २०६९ सालमा यो सडक निर्माणका लागि पहल सुरु गरिएको वडा अध्यक्ष प्रचण्ड ओलीले बताए ।
पहिले सुन धरौटी राखेर सडक निर्माण थालेपछि पछि गाविस र अहिले नगरपालिकाले पनि सो सडकमा ५० लाख भन्दा बढी बजेट विनियोजन गरेपछि सडक निर्माण भएको हो । गाउँका सुन र रुपैया जम्मा गरि बैंकमा धरौटी राखेर खनेको सडक दिगो गर्नुपर्ने भन्दै यहाँका स्थानीयबासीले सबैै जनप्रतिनिधीलाई आग्रह समेत गरेका छन् ।
नगरप्रमूख टेकबहादुर रावलले भने ‘अब हामीले गाडी सञ्चालन गरिसक्यौँ, जहिले नि यहाँ गाडी आउँछ तर तपाईहरु आएका गाडी रित्तो नपठाउनुहोला ? यो डाडागाउँ र ढिमेलाई समेटेर सुन्तलाको जुस बनाई देशका सबै ठाउँमा लिने व्यवस्थाका लागि पाँचकाटियामा कारखाना बन्न लागेको छ।’
सुन धरौटी राखेर सडक खन्नेलाई सम्मान
यहाँका सुन धरौटी राखेर सडक निर्माण गर्ने डाडागाउँका ११ जनालाई त्रिवेणी नलगाड वडा ३ का वडा अध्यक्ष प्रचण्ड ओली र नगरप्रमूख टेकबहादुर रावलले सम्मान गरेका थिए ।
प्रतिक्रिया