सुष्माको भ्रमणबारे ओलीलाई माघ ७ गते नै थाहा थियो ?
सारांश
- काठमाडौं, १९ माघ ।
- भारतीय विदेशमन्त्री सुष्मा स्वराजको भ्रमणको प्रमुख उद्देश्य नेपालमा निर्वाचनपछि वाम गठबन्धनले ल्याएको बहुमतसँगै उससँग सम्बन्ध सुधार र सहकार्य गर्ने रहेको दाबी छ ।
- पछिल्लो जनमतका आधारमा आउँदो सरकारसँग सहकार्य गर्ने सन्देश बोकेर स्वराज आउन लागेको बताइएको छ ।
काठमाडौं, १९ माघ । भारतीय विदेशमन्त्री सुष्मा स्वराजको भ्रमणको प्रमुख उद्देश्य नेपालमा निर्वाचनपछि वाम गठबन्धनले ल्याएको बहुमतसँगै उससँग सम्बन्ध सुधार र सहकार्य गर्ने रहेको दाबी छ ।
पछिल्लो जनमतका आधारमा आउँदो सरकारसँग सहकार्य गर्ने सन्देश बोकेर स्वराज आउन लागेको बताइएको छ । विगतमा कर्मचारीतन्त्रबाट भएको गल्तीका कारण सम्बन्धमा तीतोपन आएकोले सुधारका लागि राजनीतिक तवरबाटै प्रयास थालिएको अर्थमा यसलाई लिनुपर्ने पनि बताइएको छ ।
एमाले नेता डा.राजन भट्टराईले स्वराजको भ्रमणलाई अन्यथा लिन नमिल्ने भन्दै भ्रमणबारे उनी आइसकेपछि मात्रै भन्न सकिने बताए । राजनीतिक तहमा सम्बन्ध सुधार गर्नै सहकार्य गर्ने भारतको इच्छालाई सकारात्मकरुपमा नै लिनुपर्ने उनको भनाई छ ।
कतिपयले स्वराजको यो भ्रमणलाई नयाँ सरकार गठनलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण तयारीका रुपमा पनि बुझेका छन् ।
मोदीले यसअघि अरुण तेस्रो जलविद्युत आयोजना सिलान्यास गर्ने, जनकपुर र लुम्बिनी भ्रमण गर्ने गरी नेपाल आउने तयारी भएको थियो । तर, नेपालमा वाम गठबन्धन निर्माणसँगै उनको भ्रमण तयारीकै क्रममा रोकिएको थियो ।
स्वराजको भ्रमणबारे भारतीय प्रधानमन्त्री मोदीले ७ माघमा टेलिफोन वार्ताका क्रममा एमाले अध्यक्ष ओलीलाई जानकारी गराएका थिए ।
ओलीका विदेश मामिलासम्बन्धी पूर्व सल्लाहकार गोपाल खनालका अनुसार मोदीले फेब्रुअरी पहिलो साता विदेशमन्त्री स्वराजलाई नेपाल पठाउन लागेको जानकारी दिएका थिए । पछि दिल्लीसँग समन्वय गरेर भारतीय राजदूत मञ्जिब सिंह पुरीले भेटवार्ताको तारतम्य मिलाएका हुन् ।
स्वराजको भ्रमणका लागि ओलीका तर्फबाट एमाले नेता विष्णु रिमालले समन्वय गरेका छन् । मोदीका तर्फबाट भारतीय राजदूत मञ्जिब सिंह पुरीले समन्वय गरेका छन् ।
प्रतिक्रिया