सुसारेहरुको सदिच्छाले मात्रै सत्ता जोगिदैन

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन २, २०७५
|
|
३६ पटक हेरिएको
Shares
सुसारेहरुको सदिच्छाले मात्रै सत्ता जोगिदैन

सारांश

  • उमेश बन्जाडे भनिन्छ नि “जो सत्य चिन्न सक्तैनन् ती मन्द बुद्धिका हुन, र जो सत्य जानेर पनि झुठो बोल्छन् ती बेइमान र अपराधी हुन् ।
  • ” तर विडम्बना !
  • मन्द बुद्धिका भन्दा पनि जानेर झुठ ओकल्नेहरुको बिगबिगी छ अचेल ।

उमेश बन्जाडे

भनिन्छ नि “जो सत्य चिन्न सक्तैनन् ती मन्द बुद्धिका हुन, र जो सत्य जानेर पनि झुठो बोल्छन् ती बेइमान र अपराधी हुन् ।” तर विडम्बना ! मन्द बुद्धिका भन्दा पनि जानेर झुठ ओकल्नेहरुको बिगबिगी छ अचेल । कसले बढी सुसार गर्ने, कसले बढी पैताला चाट्ने र कसले बढी चाप्लुसीको ढ्याङ्ग्रो ठोक्ने ? भन्नेमै दौडिरहेको छ दुनियाँ । समृद्धिपथको सपथ खाएको सत्ता बेतुक र बेसुर बाँसुरी धुन बजाएर गोज्जर र गोमनहरु नचाइरहेको छ । त्यही बाँसुरी धुनको तालमै डँस्दैछन् मुख बाहेर बिषालु सर्प र बिच्छीहरुले गाउँ पसेर निर्धाहरुलाई ।

गाउँ गाउँमा सिंहदरबार ल्याउन भन्दै तन्किएर शहर पसेकाहरु ठाँटिएर उतै बसे । सिंहलाई तस्करको हातमा थमौती गरे र गाउँमा बिषालु काला सर्पहरु पठाए । अहिले दरबारको बार्दलीबाट उखरमाउलो बाँसुरी धुन बजाएर नचाइरहेका छन् उनै गोज्जर, बिच्छी र सर्पहरु । हामीले नबुझ्ने भाषामा परमादेश जारी गरिरहेछन् बेलाबेला । “जतिसक्दो लुछ, जति भ्याउँछौ हसुर अनि न अघाइन्जेल चुसिराख” भनेर । परापूर्वकालदेखि नै देशको ढुकुटीमा आहाल बस्न पल्किएका जनतामाराहरुको उच्छृङ्खलता यतिबेला पुनः चरम उत्कर्षमा पुगेको छ ।

विगतदेखि नै देश डढाएर खरानीको ब्यापार गर्न पल्किएकाहरुको इतिहास त छँदैछ । अचम्म यहाँनेर कि, क्रान्तिको एउटा लम्बे यात्राबाट बागडोरसम्म पुगेकाहरु पनि आफ्नो क्रान्तिकारी छाला ताछेर पाखुरा सुर्किएरै उसैलाई सघाउन तल्लीन छन् । उनकै अघि जनता पिरोल्ने कार्यहरुको भयानक खेती भइरहँदा पनि नतमस्तक बनेर रमिता हेरिरहेका छन् ।

आफूहरू जानाजान जनतामारा बन्छन् अनि कर्मचारी र ब्यापारीहरु इमान्दार भइदिनुपर्यो भन्छन् । प्रधानमन्त्रीले सरकारको बिरोध गर्ने विरुद्ध अरिंगालझैँ खनिन आफ्नापछि लपक्कै लागेका झिँगाहरुलाई फरमान जारी गर्छन् । देश हाँक्नेहरुको शुद्धी भाँचिएपछि चाहना र इच्छा पनि बडो अजिवको पलाउने रहेछ । यता अर्काथरि कामरेडहरु सरकारलाई असफल पार्न बलात्कार गरिदैछ भनेर च्याँठिन्छन् । अहो ! क्या बौद्धिकता ! क्या नैतिकता ! क्या जिम्मेवारी ! सायद यो राष्ट्रवादसँग गरिएको संगतले प्रदान गरेको बौद्धिक फड्को हुनुपर्छ । चौतर्फी बलात्कार र अपराधी क्रियाकलाप चरमोत्कर्षमा पुगेको छ । विभिन्न जिल्लामा नागरिकहरु सडकमा निस्किएका छन् । तर सरकार आफ्नै समृद्धि र सुशासनको मादल बजाउन व्यस्त छ । आजका मितिसम्म प्रधानमन्त्रीको गफलाई दाँज्ने हो भने यो सरकार न “खीरपाक ताउली” बन्न सक्ने लक्षण छ न त “सुन बड्कौली बाख्रो ।” उनको उखानयुक्त भनाइअनुरुप त यी दुईमध्ये एक हुनैपर्ने हो क्यारे । शुद्धी हराएपछि खै बहुमत र एकाधिकारले मात्रै पनि त नपुग्दो रहेछ समृद्धिको पाटोमा ।

खोपडी बजाउन लायक काम गर्ने उनीहरु चाहन्छ्न्, उनका प्रत्येक कदमहरुमा हाम्रो थपडी बजोस् । उनीहरुले तस्करहरुसँग अंकमाल गर्दा हामीले ताली बजाइरहनु पर्ने ? हत्यारा, बलात्कारकारीलाई बार्दलीमा लुकाएर राख्दा उनैको भजनकीर्तन गाइदिनुपर्ने ? जनताकै करबाट खरिद गरिएका बन्दुकहरुले जनताकै छाती छेँड्दा पनि सत्ताकै गुणगान गाउनुपर्ने ? यो कुन लोकबाट आएको सुशासन हो महोदय ? जनता अनभिज्ञ छन् । आज यिनका कर्तुतहरुलाई झिनो ठानेर हत्केला पुत्याउन्जेल ताली ठोक्ने तपाइँ हेर्दै जानुस्, भोलि यिनैले झण्डा हल्लाउँँदै माटोको स्वाभिमान बेच्दा पनि हामीले यिनैको महिमामण्डन गाउनु पर्नेछ । आफ्नो उखरमाउलो प्रवृत्ति हावी बनाएको सत्ताकै पेरिफेरिमा बाँच्नेहरुलाई भने यो तथ्य नमिठो लाग्न सक्छ ।

छिमेकमा गएकी कञ्चनपुरकी एउटी छोरी कहिल्यै नफर्किने गरी निदाएपछि उनका बाबुआमा यो राज्यसत्ताको आँगनमै पुगेर हारगुहार गर्दैछन् । सत्ताका मालिकहरु अपराधीलाई काखी च्यापेर फगत आश्वासन बाँडिरहेका छन् । उनैको सुसारामा लिप्त हलीहरुलाई खेताला लगाएर छानबिनको खोक्रो रटान प्रदर्शन गरिरहेका छन् । वर्षौंदेखि अपराध विरुद्धका अनुसन्धानमा खटिएर पोख्त भएकाहरुलाई दुई महिनाको अवधिसम्म हत्यारा कुन हो ? भनेर ठम्याउन यत्रो कष्ट ? हो, प्रमाणहरु जुटाउन समय लाग्छ, यद्यपि ती प्रमाण नष्ट गर्न खटाइएका बर्दीधारीहरुलाई केरकार गर्ने हो भने हत्यारा खोज्न अन्तै जानुपर्छ जस्तो लाग्दैन पंक्तिकारलाई । यता बर्दीवाला “सुनगोरे” अर्थात एसएसपी दिवेश लोहनीलाई साधारण तारेखमा छाडिएको छ । यो पनि “सुखी जनता र समृद्ध नेपाल”को चाहना परिपूर्ति गर्ने कदम हुनुपर्छ । बर्दी र फुलीलाई देशका सेठहरुले बलात्कारी अनि हत्याराको प्रमाण नष्ट गर्ने, निर्दोषलाई सजाय दिने र अपराधीलाई संरक्षण गर्ने सरकारी लाइसेन्सको रुपमा प्रयोग गरिरहेका छन् भन्ने कुरो नकार्न सकिँदैन । परन्तु यो “सुशासन” हो कि “सुन–शासन” दुई तिहाईको पगरी गुथाउने नेपाली जनताले अब त चिन्तन–मनन गरून् !

पूँजीवादले शासकलाई “द्रव्यपिचास” बनायो । जुनसुकै अनैतिक उपायले पनि पैसा बटुल्नु बाहेक उनीहरुको उद्देश्य हुन छोड्यो । भोलि गएर यो सविस्तार सबैमा लागु हुन्छ । र यसको शिकार हुने उनै भुइँमान्छे हुन् । फेरि यसो भन्नुको तात्पर्य अहिलेको व्यवस्था नै गलत भन्न खोजिएको होइन । पहिले यो व्यवस्थालाई जनपक्षीय बनाएर हाँक्छौँ भन्ने फुर्तिसहित त्यहाँ पुगेका शासकहरु शोषकमा परिणत हुनुलाई विडम्बना ठानिएको हो । हिजो यही व्यवस्थाको विरुद्धमा दिलोज्यान लगाएर मोटाएकाहरु नै आज मालिक बनेर देशमा रजाइँ गर्दा उत्पन्न घिनलाग्दो दृश्यको विरोध गरिएको हो ।

ठगी खाने वर्गप्रति उत्तरदायी ठहरिन मरिहत्ते गरिरहेका शासकहरुले यो व्यवस्था नै झुर बनाइदिन्छन् भन्नेमा आशंका रहेन । जहिल्यै धोखाघडीको बल्छी थापेर निर्धाहरु अठ्याउने भन्दा अर्को परिणाम देख्न सकिएको होइन ।

आज ठालुहरुले सजिलै ब्यापार गरिरहेका उद्देश्यहरु प्राप्त गर्न हिजो थुप्रै मान्छेहरु चिहानमा निदाएका छन् । अझैसम्म कयौं वीरहरु बाँचेर पनि पटकपटक मारिएका छन् । तर इतिहासका ती वीरङ्गनाहरुको छातीमा संगीन घोच्नेहरु नै प्राप्त उपलब्धिमा डढेलो लगाउन तल्लीन छन् । घाँटीमा डोरी झुण्डाइएका तर किलामा नबाँधिएका साँढेहरुलाई मस्तै फलिफाप बनेको छ अहिलेको व्यवस्था । उदाहरणकै लागि माथि उल्लिखित कञ्चनपुरकी बालिका निर्मला पन्तको निर्ममतापूर्वक भएको हत्या र दोषीलाई उम्काउन चालिएका कदमहरुले समेत यो सरकार कसको पृष्ठपोषणमा घुँडा खोल्साउँदै छ भन्ने प्रष्ट हुन्छ । बालुवाटारको सिरानीमुन्तिर खाँदिएका सुन तस्करका बायोडाटा, ओछ्यानमै दर्शन टक्राउन आइपुग्ने ठग ठेगेदारका सुट्केस र हिस्सेदार बनाउन राजी सिन्डिकेटवालाका तमसुक दराजमा च्याँप्दै समृद्धिको पाठ पढाउन मञ्च उक्लिएर दुनियाँलाई अन्धो ठान्नु पनि नाइकेहरुको भयंकर मजाक हो । आफैलाई सर्वश्रेष्ठ ठानेर बम्किँदै चौतर्फी डढेलो झोंस्न खोज्नु आफ्नै दशा निम्त्याउनु हो, बाँकी रहेको उचाईमा बन्चरो हिर्काएर मुर्कट्टो बन्नु सरह । सुसारेहरुको सदीक्षायुक्त धोतीले मात्र उदाङ्गो बनिसकेको नाङ्गोपना कसैगरी छोपिदैँन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

देशमै रोजगारीको अवसर सिर्जना गर्न सरकारको जोड
देशमै रोजगारीको अवसर सिर्जना गर्न सरकारको जोड
जुम्लाका २१ गाउँबस्ती छुइगोठमुक्त
जुम्लाका २१ गाउँबस्ती छुइगोठमुक्त
आजदेखि आइसीसी एकदिवसीय विश्वकप सुरु
आजदेखि आइसीसी एकदिवसीय विश्वकप सुरु
नेविसङ्घका कार्यकर्तामाथि आक्रमणको निन्दा
नेविसङ्घका कार्यकर्तामाथि आक्रमणको निन्दा
अबको प्रधानमन्त्रीबारे विवाद : एमाले नेता भन्छन्, “केपी ओली”, माओवादी नेता भन्छन्, “छलफल गरेर टुङ्गो लगाउँछौँ”
अबको प्रधानमन्त्रीबारे विवाद : एमाले नेता भन्छन्, “केपी ओली”, माओवादी नेता भन्छन्, “छलफल गरेर टुङ्गो लगाउँछौँ”
नेकपा एकता : यी हुन् माओवादीले पाएका जिल्ला अध्यक्षहरू (सूचीसहित)
नेकपा एकता : यी हुन् माओवादीले पाएका जिल्ला अध्यक्षहरू (सूचीसहित)
प्रधानमन्त्री ओली स्वदेश फर्कँदै, भारतबाट फर्कदा सञ्चारकर्मीसँग नबोलेका प्रम ओली आज के गर्लान् ?
प्रधानमन्त्री ओली स्वदेश फर्कँदै, भारतबाट फर्कदा सञ्चारकर्मीसँग नबोलेका प्रम ओली आज के गर्लान् ?
विहिवार ३६० जना कोरोना संक्रमित थपिए
विहिवार ३६० जना कोरोना संक्रमित थपिए
रातको समयमा घेरा हाली हालेर आक्रमण , १५ प्रहरीको अवस्था गम्भीर स्थिति नियन्त्रण बाहिर
रातको समयमा घेरा हाली हालेर आक्रमण , १५ प्रहरीको अवस्था गम्भीर स्थिति नियन्त्रण बाहिर
सार्थक व्यक्तित्व निर्माणका लागि शिक्षा अपरिहार्य : उपप्रधानमन्त्री श्रेष्ठ
सार्थक व्यक्तित्व निर्माणका लागि शिक्षा अपरिहार्य : उपप्रधानमन्त्री श्रेष्ठ

तपाईंले छुटाउनुभयो कि?