हिउँ पर्ने तर कहिल्यै पानी नपर्ने उपल्लो मुस्ताङमा तीन दिनयता भारी वर्षा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण २०, २०७४
|
|
१७ पटक हेरिएको
Shares
हिउँ पर्ने तर कहिल्यै पानी नपर्ने उपल्लो मुस्ताङमा तीन दिनयता भारी वर्षा

सारांश

  • पोखरा : हिउँ पर्ने तर कहिल्यै पानी नपर्ने माथ्लो मुस्ताङमा तीन दिनयता भारी वर्षा भएको छ।
  • मौसममा पछिल्लो समय आएको परिवर्तनसँगै मुस्ताङमा अविरल वर्षा भएको हो।
  • पानी नपर्ने भएकाले उक्त ठाउँका अधिकांश घरमा माटाका छाना छन्।

पोखरा : हिउँ पर्ने तर कहिल्यै पानी नपर्ने माथ्लो मुस्ताङमा तीन दिनयता भारी वर्षा भएको छ। मौसममा पछिल्लो समय आएको परिवर्तनसँगै मुस्ताङमा अविरल वर्षा भएको हो।

पानी नपर्ने भएकाले उक्त ठाउँका अधिकांश घरमा माटाका छाना छन्। यसपालि भने भारी वर्षा भएपछि स्थानीयका घरमा क्षति पुगेको छ। माथ्लो मुस्ताङको केन्द्र लोमन्थाङको महाकरुणा आधारभूत विद्यालय भत्किएको जिल्ला प्रहरी प्रमुख डिएसपी हरिहर योगीले अन्नपूर्णलाई बताए। उनले भने, ‘माटोको छानाले थेग्नै नसक्ने गरी पानी पर्‍यो।’

बुधबारको पानीले भत्किएको विद्यालयको भवन भारतीय दूतावासको सहयोगमा निर्माण भएको थियो। विद्यार्थी विद्यालय आइनपुग्दै भवन भत्किएको हुँदा मानवीय क्षति टरेको डीएसपी योगीले जानकारी दिए।

विद्यालयको पुस्तकालय, पढाइ हुने कोठा र कार्यालयमा क्षति पुगेको छ। पुस्तकालयका किताबमा क्षति भएको सीमा प्रहरी चौकी लोमाङ्थाङलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

वर्षाले स्थानीय कुन्साङ गुरुङको घर पनि भत्किएको छ। उनको घरमा ६ लाख र उक्त विद्यालयको डेढ करोडको क्षति भएको प्रहरीले जनाएको छ। वर्षाले जोमसोम कोरला सडक निर्माण अवरुद्ध भएको छ।

लोमन्थाङका ५८ वर्षे ज्ञानेन्द्र विष्टले पहिलो पटक धेरै पानी परेको बताए। ‘अलिअलि बुँदा त खस्थ्यो, तर यसपालि असाध्यै पर्‍यो पानी,’ उनले भने, ‘उजाड ठाउँमा रुखहरु पनि धेरै रोपन थाल्यो, मौसम पनि बदलिँदै गयो, असाध्यै पानी पर्‍यो।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?