हिट बन्दै उपन्यास ‘अप्रिल फुल’

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन ११, २०७५
|
|
५५ पटक हेरिएको
Shares
हिट बन्दै उपन्यास ‘अप्रिल फुल’

सारांश

  • उदय जीएम उनले कहिल्यै सोचेका थिएनन् आफू जीवनमा लेखक बन्छु भन्ने ।
  • तर, जे नसोचेको भइदियो त्यही ।
  • १४ वर्षको उमेरदेखि पत्रकारितामा सक्रिय कृष्ण आचार्यलाई उनको पहिलो उपन्यास ‘अप्रिल फुल’ले नै सेलेब्रेटी बनाइदियो ।

उदय जीएम

उनले कहिल्यै सोचेका थिएनन् आफू जीवनमा लेखक बन्छु भन्ने । तर, जे नसोचेको भइदियो त्यही । १४ वर्षको उमेरदेखि पत्रकारितामा सक्रिय कृष्ण आचार्यलाई उनको पहिलो उपन्यास ‘अप्रिल फुल’ले नै सेलेब्रेटी बनाइदियो । उनको उपन्यासको जुन रुपमा परिचर्चा र बिक्री भइरहेको छ,, निकै कम प्राप्त हुन्छ नयाँ लेखकलाई यस्तो सौभाग्य । र, त नयाँ पब्लिकेशन भए तापनि आचार्यको अप्रिल फुल सर्वत्र चर्चामा रहन सफल भएको छ ।

दाङका आचार्य सानैदेखि साहित्यिक क्षेत्रमा रुची राख्थे । विद्यालयमा सानैदेखि उनी लाइब्रेरीमा गएर मुना, मधुपर्क, गरिमा जस्ता पुस्तकहरु पढ्न रुचाउँथेँ । कक्षा ८ सम्म आइपुग्दा उनी पत्रकारिता क्षेत्रमा आवद्ध भए । स्थानीय सामुदायिक रेडियोको स्रोता क्लबको कोषाध्यक्ष हुँदै उनी सो रेडियोको सम्वाददाता बने । अर्को वर्ष उनी देउखुरी साप्ताहिकको सम्वादताताको रुपमा आफूलाई उभ्याउन सफल भए । सोही पत्रिकाको स्रोता क्लबको संयोजक बनेर उनले ‘देउखुरी दर्पण’ नामक साहित्यिक कृतिसमेत प्रकाशित गरे । जतिबेला उनको उमेर थियो– १६ वर्ष । ‘पत्रकारिता क्षेत्रमा रहेर मैले सानैदेखि निकै संघर्ष गर्दै आएँ । सम्वाददातादेखि वितरकसम्मको काम गरेँ’, उनी अतीत सम्झन्छन् ।

भनिन्छ नि, हुने विरुवाको चिल्लो पात । लेखक आचार्य सानैदेखि चिल्लो पात नै थिए भन्दा अत्युक्ति नहोला । कक्षा १० मा पढ्दा उनी ‘सिर्जना संगम’ नामक स्थानीय पत्रिकाको सम्पादक बने । एसएलसीपछि ‘देउखुरी दैनिक’ नामक पत्रिकाको समाचार सम्पादकको भूमिकामा रहेर काम गरे । त्यसबखत उनले देउखुरी दर्पण अर्धवार्षिक नामक साहित्यिक म्यागेजिन निकाले । पत्रकारिता तालिमदेखि थुप्रै कार्यक्रमहरु आयोजना गर्दै स्थानीयस्तरमा सचेतना फैलाउने काम गरे । र, आज उनको उपन्यासले देशभर एउटा छाप छाड्न सफल भएको छ । जसमा उनले देखेका, भोगेका, अनुभव गरेका र गुम्सिएका, लुकेका र लुकाइएका कुरालाई उनेका छन् ।

एसएलसी दिएर काठमाडौं आएपछि आचार्यको पत्रकारितामा केही समय पूर्णविराम नै लाग्यो । उनी पढाइमा ध्यान दिन थाले । नौलो शहर र बाबुआमाको सपना बोकेर काठमाडौं आएकाले पनि होला उनमा केही गर्ने मनोकांक्षा थियो । तर, गर्ने के ? उनी यो प्रश्नबाट भने सधै पिरोलिन्थे ।

प्लस टू पढ्दै गर्दा एकदिन उनको हातमा शरद शर्माको “लिखे” उपन्यास पर्यो । उनले चाखपूर्वक उपन्यासको हरेक पाना पल्ट्याए । पढ्दापढ्दा धेरै ठाउँमा उनका आँखा रसाए । त्यसपछि यस्ता किसिमका पुस्तकमा उनको रुची बढ्न थाल्यो । त्यसपछि उनले झमक घिमिरेको “जीवन काँडा कि फूल”, सरुभक्तको “पागल बस्ती”, पारिजातको “शिरीषको फूल” लगायतका उपन्यास पढे । यी सबै उपन्यासले उनमा एक किसिमको छाप छाड्यो भने पठन संस्कृतिको पनि विकास गर्दै लग्यो । दाइलाई उपहार स्वरुप विभिन्न पुस्तकहरु आउने भएकाले सित्तैमा पढ्न पाउँथे उनले बजारमा आएका नयाँ कृति । जुन उनका लागि सबैले नपाउने सौभाग्य थियो । ‘मैले किताब किनेर पढ्न थालेको ब्याचलर पढ्दादेखि हो । प्लस टूसम्म दाइलाई उपहारस्वरुप आएका पुस्तकहरु पढेँ । पछि उपन्यास मेरो प्यासन बन्दै गयो’ उनी भन्छन्, ‘सायद त्यसदिन मेरो हातमा लिखे उपन्यास नहुँदो हो त आज पाठकको हातमा अप्रिल फुल नहुन पनि सक्थ्यो ।’

ब्याचलर पढ्दा उनले वीपी कोइरालादेखि म्याक्सिम गोर्कीसम्मलाई पढे । वीपीको सुम्निमा र गोर्कीको आमा उपन्यासले उनको साहित्यिक क्षेत्रमा रुची कायम राख्न थप भूमिका खेले । ब्याचलर दोस्रो वर्षमा पढ्दै गर्दा आचार्य फेरि पत्रकारितासँग जोडिए । त्यसपछि खुल्न थाल्यो उनका लागि अवसरका विभिन्न ढोका । काठमाण्डु टुडेमा उनी डेस्कमा बसेर काम गर्न थाले । पढाइलाई पनि निरन्तरता दिए । र, सँगसँगै कथाहरु लेखेर आफूले काम गर्ने अनलाइनमा पोस्ट गर्न थाले । जति उनका कथा हिट हुँदै गए त्यति उनमा उत्साह थपिँदै गयो ।

मास्टर्ससम्म आइप्ुग्दा आचार्यको पठनको दायरा फराकिलो हुँदै गयो । अब उनले भारतीय र केही विदेशी लेखकलाई समेत पछ्याउन थाले । यसक्रममा उनले चेतन भगतदेखि पाउलो कोएलोसम्मलाई पढे । उनी भन्छन्, ‘पढाइ र जागिरमा व्यस्त भए तापनि केही समय निकालेर साहित्यिक कृतिहरु पनि पढिरहेँ । त्यसले मलाई साहित्यिक क्षेत्रमा लाग्न थप प्रेरणा दियो ।’ सानैदेखि पढाइ र कामलाई सँगसँगै अघि बढाएका आचार्यले पढाइमा कहिल्यै पछि फर्किएर हेर्नु परेन । मास्टर्स पास गर्दासम्म उनले कहिल्यै असफलता हात पार्नु परेको छैन ।

अप्रिल फुल लेख्न भने आचार्यले आजभन्दा करिब चार वर्षअघि सुरु गरेका हुन् । खालि समयको सदुपयोग हुनेगरी लेख्न सुरु गरेका आचार्यका शब्दले यसरी चर्चा पाउँछ भन्ने उनलाई सुरुवाती दिनमा लागेको थिएन । तर, भइदियो त्यस्तै । त्यसो त उनले चार वर्षसम्म लगातार उपन्यासका लागि कलम चलाएनन् । आफ्नो मूड कतिबेला चल्छ, सोही समयमा कपीका पाना र किबोर्डमा आफ्ना औँला चलाए । र, आजभन्दा ६ महिनाअघिमात्र तयार भयो उपन्यासका लागि उपयुक्त पाण्डुलिपी । ‘साथीभाइ र केही अग्रजहरुलाई पाण्डुलिपी देखाएँ । उहाँहरुले ‘क्या गज्जब’ भन्नु भयो । साथै सल्लाह–सुझाव अनुसार पुनर्लेखन र परिमार्जन पनि गर्दै लगेँ । र, जब अब छाप्न योग्य भयो भन्ने लाग्यो त्यसपछि प्रकाशनलाई पाण्डुलिपी थमाइदिएँ ।’

अप्रिल फुल अहिले किशोर–किशोरी, विशेषगरी युवा पुस्ताको रोजाइमा पर्न सफल भएको छ । तर, लेखक आचार्य भने युवा पुस्ताले मात्र होइन अप्रिल फुल अभिभावकले समेत पढ्नुपर्ने बताउँछन् । भन्छन्, ‘आफ्ना छोराछोरी कुन बाटोमा हिँडिरहेका छन्, अभिभावकको नाताले आफ्नो जिम्मेवारी र भूमिका के हो, अहिलेको पुस्ताको मनोविज्ञान के हो भन्ने बुझ्नका लागि यो उपन्यास अभिभावकले पनि एकपटक पढ्नै पर्छ ।’ उपन्यासको भाषा, शैली र कथाबस्तु निकै उत्कृष्ट छ । पढ्दै गर्दा कतै बोरिङ फिल हुँदैन । पढ्न सुरु गरेपछि अन्तिम पानासम्म नपुगी छाड्न मनै लाग्दैन । यही हो उपन्यासको मुख्य विशेषता । जुन कुरा आजभोलि हप्तैपिच्छे निस्कने केही उपन्यासमा मात्र पाउन सकिन्छ ।

‘हरेक लेखकले आफ्नो कृतिलाई पक्कै पनि राम्रो भन्छ’ आचार्य थप्छन्, ‘कस्तो छ भनेर पहिल्याउने काम त पाठकको हो । र, अप्रिल फुल पढेपछि पाठकले ‘वाह !’ भन्नुभएको छ । उहाँहरुको यो माया मेरो जीवनको सबैभन्दा महत्वपूर्ण पाटो हो ।’

उपन्यासमा युवा प्रेमलाई केन्द्रमा राखिएको छ । समाजमा हामीले देखिरहेका, भोगिरहेका, हाम्रै जीवनमा अनुभव गरेका विषयबस्तुलाई कथाको रुपमा प्रस्तुत गरिएको छ । त्यसैले उपन्यास पढ्दा पाठकलाई आफ्नै कथा पढेजस्तो लाग्न सक्छ । अथावा आफूले देख्दै आएको सामाजिक चरित्र पाठकले उपन्यासमा पाउन सक्छन् । यो त भयो हरेक उपन्यासमा हुने साझा कुरा । अप्रिल फुलमा सबैले नदेखेका, लुकेर रहेका विषयलाई पनि उठान गरिएको छ । जसलाई आचार्यले उपन्यासमा मसलाको रुपमा प्रयोग गरेका छन् ।

अप्रिल फुलमा नारी पात्रहरु एकपछि अर्को गर्दै फेरिदै जान्छन् । लाग्छ, कतै लेखकले आफ्नै कथा त उतारेका होइनन् । तर, उनी यस कुरामा सहमत छैनन् । उनी आफ्नो नभएर सिंगो समाजको कथा उतारेको बताउँछन् । समाजको कथा उतार्नु थियो भने प्रेम प्रसङ्ग किन त ? भन्ने प्रश्नमा उनको जवाफ सटिक छ । भन्छन्, ‘प्रेम र समाज एकअर्काका पर्यायबाची जस्तै हुन् । प्रेम नभएको समाज र समाजबिनाको प्रेम सम्भव नै छैन ।’ त्यसैले पनि होला अप्रिल फुल समाजको ऐना हो । प्रेम मात्र होइन, समाज, सामाजिक यथार्थ, चरित्र, अस्तित्व बुझ्नका लागि यो उपन्यास पढ्नै पर्छ । ‘पाठकले अहिलेसम्म पढेका भन्दा अप्रिल फुलमा फरक स्वाद छ । मैले उपन्यासमार्फत रियालिटीलाई फिक्सनाइज गर्न खोजेको छु’ लेखक आचार्य भन्छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बौद्धमा आमाछोरी मृत फेला
बौद्धमा आमाछोरी मृत फेला
लाइफ इन्स्योरेन्सको कारोबार सर्वाधिक बढ्यो
लाइफ इन्स्योरेन्सको कारोबार सर्वाधिक बढ्यो
मुख खोले डा. भट्टराईले, प्रदेशको केन्द्र पञ्चायतभन्दा गएगुज्रेको असन्तुलन
मुख खोले डा. भट्टराईले, प्रदेशको केन्द्र पञ्चायतभन्दा गएगुज्रेको असन्तुलन
ब्रिटेनद्वारा युरोपेली सङ्घ छाड्ने विषयमा नयाँ प्रस्ताव सार्वजनिक
ब्रिटेनद्वारा युरोपेली सङ्घ छाड्ने विषयमा नयाँ प्रस्ताव सार्वजनिक
देउवा नेतृत्वको सरकारमा सहभागी हुने कि नहुने भन्नेबारे राप्रपाभित्र विवाद
देउवा नेतृत्वको सरकारमा सहभागी हुने कि नहुने भन्नेबारे राप्रपाभित्र विवाद
उत्पादन घटेपछि डडेल्धुराका ओखर व्यवसायी चिन्तित
उत्पादन घटेपछि डडेल्धुराका ओखर व्यवसायी चिन्तित
पाँच नम्बर प्रदेशमा मुख्यमन्त्रीदेखि सहायक मन्त्रीसम्मको पारिश्रमिक सिफारिस
पाँच नम्बर प्रदेशमा मुख्यमन्त्रीदेखि सहायक मन्त्रीसम्मको पारिश्रमिक सिफारिस
प्रचण्डको भावुकता: पत्निकाे मुहार नहेरि मञ्चमा उक्लिएनन् प्रचण्ड !
प्रचण्डको भावुकता: पत्निकाे मुहार नहेरि मञ्चमा उक्लिएनन् प्रचण्ड !
डढुवा रोगले गोलभेंडा खेती सखाप
डढुवा रोगले गोलभेंडा खेती सखाप
बुढानिलकण्ठ नगरपालिकामा एमालेले पाएको लोकप्रियता
बुढानिलकण्ठ नगरपालिकामा एमालेले पाएको लोकप्रियता