हिमालयन हाइड्रो एक्स्पो-२०१८ हुँदै, तयारी तीव्र

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष १३, २०७४
|
|
३३ पटक हेरिएको
Shares
हिमालयन हाइड्रो एक्स्पो-२०१८ हुँदै, तयारी तीव्र

सारांश

  • काठमाडौं, पुस १३ ।
  • काठमाडौंको भृकुटीमण्डपमा हुने हाइड्रो एक्स्पोको तयारी तीव्र पारिएको छ ।
  • स्वतन्त्र ऊर्जा उत्पादक संस्था नेपाल र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिले आयोजना गर्न लागेको हिमालयन हाइड्रो एक्स्पोको तयारी ७५ प्रतिशत सकिएको आयोजकले जनाएको छ ।

काठमाडौं, पुस १३ । काठमाडौंको भृकुटीमण्डपमा हुने हाइड्रो एक्स्पोको तयारी तीव्र पारिएको छ । स्वतन्त्र ऊर्जा उत्पादक संस्था नेपाल र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिले आयोजना गर्न लागेको हिमालयन हाइड्रो एक्स्पोको तयारी ७५ प्रतिशत सकिएको आयोजकले जनाएको छ ।

आगामी पुस २१ गतेदेखि २३ गतेसम्म चल्ने यो मेलालाई नेपाल सरकार राष्ट्रिय योजना आयोग, ऊर्जा मन्त्रालय, जनसंख्या तथा वातावरण मन्त्रालयको संरक्षकत्व रहेको छ । एक्स्पो अवधिमा हाइड्रोपावरका मुख्य विषयमा तीनवटा सेमिनार आयोजना गरिनुका साथै युवा पुस्तालाई लक्ष्य गरी हाइड्रोपावर क्षेत्रमा अभिरुची भएकालाई आकर्षित एवम् प्रोत्साहित गर्न हाइड्रोसम्बन्धी विभिन्न कार्यक्रम आयोजना गरिने इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिका प्रबन्ध निर्देशक विजयसागर प्रधानले जानकारी दिए ।

हाइड्रोपावरसम्बन्धी उत्पादन र सर्भिसको विकासमा प्रतिस्पर्धा गराइ विद्यार्थी र नयाँ आविस्कार गर्ने मध्येबाट उत्कृष्ट छनोट गरी प्रथम हुनेलाई ५० हजार रुपैयाँभन्दा बढी तथा द्वितीय र तृतीयलगायत अन्य सान्त्वना पुरस्कार प्रदान गरिने प्रबन्ध निर्देशक प्रधानले जानकारी दिए । राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका हाइड्रोपावर कम्पनीका प्रतिनिधि एक्स्पोमा सहभागी हुँदै छन् । विशेष गरी भोइथ, क्रिस्टल, फ्लोभेल, भ्यापटेक, म्याभेल, बीएफएललगायत बहुर्राष्ट्रिय कम्पनीले पनि यो एक्स्पोमा सहभागिता जनाउने आयोजकले जनाएको छ ।

एक्स्पोमा हाइड्रोपावर निर्माता, हाइड्रोपावरका सामान उत्पादक, सप्लायर्स, डिजाइनर्स, कन्सलट्यान्ट, इन्सुरेन्स कम्पनी, लगानीकर्ता र बैंक÷वित्त कम्पनीको सहभागिता रहने भएकाले सबैले आफ्नो बजार विस्तारका साथै अनुभव आदान प्रदान गर्ने मुख्य केन्द्र बन्ने विश्वास स्वतन्त्र ऊर्जा उत्पादक संघ (ईपान) का अध्यक्ष शैलेन्द्र गुरागाईंले लिएका छन् ।

एक्स्पोमा चीन, भारत, नर्वे, दक्षिण कोरिया, जर्मनी, अस्ट्रिया, बुल्गेरिया, चेक रिपब्लिकलगायत देशका कम्पनीको सहभागिता रहने ईपानका अध्यक्ष गुरागाईंले जानकारी दिए । नेपाल सरकारको सात वर्षमा १७ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यलाई यो मेलाले सहयोग गर्ने विश्वास आयोजकको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?