हेर्नैपर्ने १० नेपाली चलचित्रहरु
सारांश
- काठमाडौं, माघ ६ ।
- हुन त फिल्म हेर्ने आ–आफ्नै तरिका र आ–आफ्नै स्वाद हुन्छन ।
- तपाईं यदि नेपाली फिल्म हेर्ने गर्नुहुन्छ र नेपाली फिल्ममा चासो छ भने यहाँ तपाईंले हेर्नैपर्ने उत्कृष्ट १० नेपाली फिल्मको बारेमा चर्चा गरिएको छ ।
काठमाडौं, माघ ६ । हुन त फिल्म हेर्ने आ–आफ्नै तरिका र आ–आफ्नै स्वाद हुन्छन । तपाईं यदि नेपाली फिल्म हेर्ने गर्नुहुन्छ र नेपाली फिल्ममा चासो छ भने यहाँ तपाईंले हेर्नैपर्ने उत्कृष्ट १० नेपाली फिल्मको बारेमा चर्चा गरिएको छ ।
कतिपय त्यस्ता पनि फिल्महरु हुन्छन जुन हेर्ने पर्ने हुन्छ किनकि त्यस्ता फिल्महरुबाट धेरै कुराहरु सिक्न सकिने हुन्छ । नेपाली फिल्म राम्रा बन्दैनन भनेर धेरैले नाक खुम्च्याउने गरेको पाइन्छ । हुन पनि नेपालमा बन्ने गरेका अधिकांश फिल्महरुलाई दर्शकले पत्याउँदैनन् ।
यति हुँदाहुँदै पनि नेपालमा केही यस्ता फिल्महरु बनेका छन, जुन तपाईले हेर्नैपर्छ । केही फिल्महरु यस्ता बनेका छन, जुन जति पछाडी हेर्दापनि राम्रा लाग्छन । यदी ती फिल्महरु हेर्न तपाईले छुटाउनुभएको छ भने यहाँ टप १० उत्कृष्ट नेपाली फिल्मको बारेमा चर्चा गरिएको छ ।
१. कालोपोथी
कर्णालीको मुगुमा बोलिने खस भाषालाई संवाद शैली बनाएर चलचित्र ‘कालोपोथी’ तयार पारिएको छ । सन् २००१ मा जब तत्कालिन नेकपा माओवादीले जनयुद्ध सुरु गर्यो, त्यसले कर्णालीको एउटा क्षेत्रलाई पारेको प्रभाव र बाबुले छलकपट गरेर बेचेको पोथी खोजीको अभियानमा यो चलचित्र केन्द्रित छ ।
किरण(शुक्रराज रोकाया) र प्रकाश (खड्गराज नेपाली)को वरिपरि यो चलचित्र घुमेको छ । तल्लो र माथिल्लो जातका भएपनि यी दुई बालकको मित्रतामा कुनै कमी छैन । गाउँमा जनयुद्धको प्रभाव परेसँगै दिदीले दिएको ‘सेतो पोथी’ पालेर त्यसैको अण्डा बेचेर पढ्ने सपना बोकेका एक बालक र उनका साथीको कथा हो यो ।
बाबुले पोथी बेचिदिएपछि प्रकाश त्यसको खोजीमा हिँड्छ । एउटा वृद्धले ६ सयमा कुखुरा किनेको थाहा पाएको प्रकाश त्यसलाई फिर्ता ल्याउनका लागि विभिन्न क्रियाकलाप गर्छ । जनयुद्धको प्रभावसँगै प्रकाशकी दिदी युद्धमा होमिन्छे ।
तर, पनि प्रकाश दिदीले दिएको कुखुरालाई फिर्ता ल्याएर त्यसको अण्डाबाट अध्ययन गर्ने सपनामा दौडिन्छ । कुखुरा एउटा गाउँबाट अर्को गाउँमा पुग्छ, तर पनि यी दुई बालक त्यसलाई फिर्ता ल्याउने दौडमा दौडिन्छन् । प्रकाश र किरणले कुखुरा फिर्ता ल्याउँछन् या ल्याउँदैनन्, यसका लागि दर्शकले चलचित्र हेर्नुपर्छ ।
२. पशुपति प्रसाद
पशुपति प्रसादको कथा कतैबाट आयातीत होइन । एक पुरुषले पशुपति परिसरमा भोगेका जीवनका अनेक भोगाइलाई नै चलचित्रमा देखाउन खोजिएको छ । यसैले दर्शकलाई यो कथा मौलिक लाग्छ । चलचित्रको सफल पक्ष संवाद हो ।
पशुपति प्रसाद अर्थात् खगेन्द्रका संवादले दर्शकलाई हसाउँछन् र बाँधेर पनि राख्छ । मन परेको फूल सुके पनि रसिलो, गाला जोडिएर के गर्नु छाला जोडिँदैन आदि संवाद सुन्न रमाइला लाग्छन् ।
हाम्रै परिवेशका कथालाई निर्देशकले मन छुने किसिमले पस्केका छन् । पशुपति प्रसाद हाम्रो आफ्नै समाजको पात्र हो । जसले इमानदारपूर्वक बाबुआमाको ऋण तिर्ने अठोट बोकेको छ । बाबुआमाको ऋण तिर्ने नैतिकताको पाठ सिकाएको छ चलचित्रले ।
अमेरिकाको सम्पन्न जीवनभन्दा बाबुआमालाई सन्तानले एउटा छाप्रोमा दिने माया नै ठूलो हुन्छ भन्ने दरिलो पाठ चलचित्रले दिन्छ । आफ्नो छोराले अमेरिकाबाट ल्याइदिएको उपहार नलिने एउटी आमाले भावनाले छोरा बन्न आइपुगेको पशुपति प्रसादले बाथको औषधि दिँदा खुसी हुन्छिन्, यो साँच्चिकै मन छुने खालको छ । चलचित्र चल्नका लागि एक्सन, गीत–संगीत चाहिन्छ भन्ने फर्मुलाबाट पर छ, पशुपति प्रसाद । तर, दर्शकलाई हसाउँछ र हसाँउदाहसाँउदै रुवाउँछ ।
३. टलकजंग/टुल्के
चलचित्रमा टलकजंगको चरित्र मौलिक लाग्छ । टलकजंग टुल्के नेपाली समाज र जीवनको आम विशेषता बोकेको पात्रको रुपमा उभिन्छ । ऊ हाम्रै टोल–छिमेकको एउटा हेपिएको, हारेको मान्छेको प्रतिनिधिका रुपमा सिनेमाको नायक बनेको छ ।
हेर्नैपर्ने फिल्म ‘टलकजंग भर्सेस टुल्के’यो सिनेमामा आम नेपाली जनजीवनको व्यथा र छटपटीको मिहिन चित्रण छ । यो सिनेमाले माओवादी सशस्त्र द्वन्द्वले नेपालको गाउँले जीवनमा ल्याएको छटपटी, कलह र अनेकौं कथा उप–कथालाई व्यापक पृष्ठभूमिमा समेटेको छ र देखाएको छ– राजनीतिको गल्तीले जनजीवनलाई कसरी दुःखमा होमिदिन्छ भनेर ।
माओवादी सशस्त्र द्वन्द्वको सन्दर्भमा देखा परेका विविध पात्रहरू जीवन्त र स्वाभाविक लाग्छन् । यसले माओवादी राजनीतिक आन्दोलनभित्रको अन्तरविरोध, आर्थिक स्वार्थ, अवसरवाद र विडम्बनाको पनि सजीव चित्रण गरेको छ ।
गण्डकी अञ्चलको ग्रामीण जनजीवनको पृष्ठभूमिमा समाजमा हेपिएको एउटा काम गरिखाने तन्नेरीलाई केन्द्रमा राखेर उसका वरिपरि उत्पन्न घटनाहरूले कसरी उसलाई च्याप्दै लैजान्छ भन्ने देखाउनुका साथसाथै समकालीन समाज र कपटपूर्ण राजनीतिले साधारण मानिसहरूको जीवनमा बलात् ल्याइदिएको दुःख एवं पीडाबारे सिनेमाले बोलेको छ ।
‘टलकजंग भर्सेस टुल्के’ राजनीतिक सिनेमा हैन, तर गलत राजनीतिले त्याग–बलिदान पनि खेर फाल्ने, समर्पित कार्यकर्ताहरू समेत मारिने र निर्दोष मान्छेहरूले अनाहकमा बेस्सरी दुःख पाउने तथ्य प्रष्टसँग देखाएको छ । यो सिनेमा न माओवादी सशस्त्र द्वन्द्वमा आधारित हो न त कथा माओवादीसँग सम्बन्धित हो । र पनि, यसमा माओवादी द्वन्द्व प्रतिबिम्बित छ ।
यो सिनेमा पारिवारिक नाम टलकजंग भए पनि शोषण र अन्यायमा परेको, छलकपट नजान्ने र गरीब भएको हुनाले ‘टुल्के’ बन्न पुगेको एउटा तन्नेरीको व्यथा, प्रेम र विद्रोहको कथा हो । टुल्के गाउँमा हुन थालेका नयाँ–नयाँ परिघटनाहरूमा सामेल हुन र आफ्नो इज्जतको पुनस्र्थापना चाहन्छ । ऊ समाजमा आफ्नो स्थान खोज्छ । टलकजंग बन्न प्रयत्नरत टुल्के आफूले प्रेम गरेकी केटीलाई हुरुक्क भएर माया गर्छ, आफूलाई होच्याउनेहरूसँग जोरी खोजी–खोजी लड्छ । गाउँमा माओवादी देखा परेपछि ऊ तिनमा सामेल भएर बदला लिन चाहन्छ । त्यसक्रममा अनपेक्षित घटनाहरू भएपछि ऊ शहरतिर भाग्छ र फेरि गाउँ फर्कन्छ । तर, उसलाई माओवादी द्वन्द्वले पछ्याउन छोड्दैन । गाउँ र शहर दुवै ठाउँमा ऊ यसको चपेटामा पर्छ ।
४. लुट २
चलचित्र ‘लुट २’ मा महाभूकम्प र लगत्तैको नाकाबन्दीलाई कथामा उल्लेख गरिएको छ । तर त्यसले जनजीवनमा पारेको असरलाई भने फिल्मले छोएको छैन । न त कारागारबाट भागेका कैदीलाई पुनः पक्रिने डर नै छ । उनीहरू खुलेआम दिनदहाडै व्यस्त सडकमा ग्याङफाइट गर्छन् तर प्रहरीको कुनै नजर पर्दैन ।
‘ठमेल बजार…’ आइटम सङको टाइमिङ सही छ । पृष्ठभूमि निर्माणका लागि फिल्मले सुरुवातमा खर्चेको लामो समयले झन्डै दिक्दार हुन पुगेका दर्शकलाई उक्त आइटमले जोस भर्न सघाएको छ । पित्तलका नामले चिनिएका विपिनले मूलकथामा ठूलो भूमिका नखेले पनि ‘लुट २’ का मुड फ्रेसर बनेका छन् ।
पृष्ठभूमि संगीत र स्वरांकनले फिल्मको गति र अवस्थामा पर्याप्त सहयोगी भूमिका खेल्न सकेका छैनन् । निर्देशन उत्कृष्ट बन्न सकेको छैन भने दृश्य सम्पादन परिपक्व बन्न सकेको छैन । तुलनात्मक रूपमा छायांकनमा ‘लुट २’ सबल देखिएको छ ।
नेपाली फिल्म इतिहासमा ‘लुट’ ले जसरी नयाँ बाटो कोर्ने काम गर्यो । ‘लुट २’ ले एक सामान्य फिल्मका रूपमा दर्शकलाई यात्रा गराएको छ । ‘लुट’ को हाइप र निर्देशक निश्चलप्रतिको ठूलो अपेक्षाले पनि ‘लुट २’ लाई कमजोर साबित गर्न मद्दत पुर्याएको छ । आग्रहरपूर्वाग्रह नराखी र पृष्ठभूमिमा ‘लुट’ लाई नराखी फिल्म हेर्न जाने दर्शकले ‘लुट २’ बाट मनोरञ्जन भने पक्कै पाउनेछन् । तर सिक्वेल हेर्ने दर्शकले यसो गर्नु सहज भने हुँदैन ।
५. कबड्डी कबड्डी
भनिन्छ, युद्ध र प्रेममा हरेक कुरा जायज हुन्छ । विरकाजीले मैयाँलाई कति प्रेम गर्छ, ‘कबड्डी’ मा हेरिसकेका दर्शकका लागि त्यसको सिक्वेल ‘कबड्डी कबड्डी’ मा उसले बिहे गर्ला ? वा फेरि शहरिया केटो आएर भाँजो हाल्ला ? ‘कबड्डी कबड्डी’ को कथानक रोचकता यसैको सेरोफेरोमा घुमेको छ ।
‘कबड्डी’ शहरिया दर्शकका लागि ‘सरप्राइज प्याकेज’ का रुपमा आइदियो । पटकथामा रहेका केही कमजोरीका बाबजुद पनि फिल्मको स्वादलाई अर्गानिक मानिदिए दर्शकले । खुराक नै स्वास्थ्यकर भयो भने कहिलेकाहीं पकाईको कमजोरी गौण रहन्छ भन्ने ‘कबड्डी’ ले सिद्ध गरिदियो ।
मुस्ताङको नौरीकोटको हिमाली परिवेश र त्यहाँको थकाली समुदाय धेरै दर्शकका लागि ताजा लागेको थियो । मामा चेला र फुपु चेलीबीच बिहे गर्ने थकाली परम्पराभित्र काजीले मामाकी छोरी मैयाँलाई देखाएको झोडी माया थप रुचीकर बन्यो ।
‘कबड्डी’ को सिक्वेलले दर्शक तान्नु जति सजिलो थियो, उस्तै चुनौती सकारात्मक प्रतिक्रिया निकाल्नुमा थियो निर्देशक रामबाबुका लागि । ‘कबड्डी कबड्डी’ ‘सरप्राइज प्याकेज’ भन्दा बढि ‘कन्भिन्सिङ प्याकेज’ हुनु र बनाउनुपर्ने थियो । यसमा पटकथाकार समेत रहेका रामबाबु चुकेनन् । ‘कबड्डी कबड्डी’ आईपुग्दा उनी धेरै परिपक्व देखिएका छन् ।
‘मनी एट्रयाक मनी’ भन्ने बुझेको काजी मैयाँसँगको माया पनि सोझै पाराले सोच्छ । भन्छ, ‘लभ एट्रयाक लभ । त्यो मनले यो मनको कुरो एकदिन कसो नबुझ्ला र ?’ तर काजीको लभको स्क्रिप्ट यति जटिल बनेर आईदिन्छ, जब बमकाजीले इन्ट्री मार्छ । मैयाँ काजीकै जस्तै बमकाजीकी पनि हकदार सोल्टि त हुन् नै, बिहेकै लागि पनि ताक्छ । ‘कबड्डी कबड्डी’ को चुरो कुरा यसैमा छ । उपकथा बनेर देखिने संसदीय चुनाव काजीको प्रेम जाँच्ने कसी बन्छ ।
६. पुरानो डुंगा
दुई दाजुभाईबीचको सम्बन्धमा देखिएको उतारचढावमा केन्द्रीत रही बनेको चलचित्र ‘पुरानो डुंगा’ अपेक्षा गरेअनुरुप सफल नभए पनि राम्रो आम्दानी गर्ने फिल्मको सूचीमा पर्न सफल भयो ।
‘कबड्डी’का निर्देशक रामबाबु गुरुङको निर्देशनमा बनेको यस चलचित्रको कालीप्रसाद बासकोटाको संगीत एवं गायनको गीत ‘निर जहिले रिसाउने’ गीत निकै हिट बन्यो ।
दुईवटा कथालाई एउटै साँचोमा ढाल्न निर्देशकले गरेको प्रयासले दर्शकको मन त उत्तिसारो जितेन, तर दयाहाङ राई र प्रियंका कार्कीले गरेको अभिनयले खुबै तारिफ पायो । हङकङ, कोरिया, अमेरिका, बेलायतजस्ता देशमा पनि पुरानो डुंगाले उत्तिकै चर्चा पायो र नाफा कमायो ।
७. छक्कापञ्जा
चलचित्र ‘छक्कापञ्जा’ले व्यवसायिक कीर्तिमान नै कायम राख्यो । हाँस्य कलाकारहरुको बेजोड अभिनयले धेरै दर्शकको मन तान्न सफल रह्यो । जसका कारण २०७३मा अधिक आम्दानी गर्ने चलचित्रका रुपमा दरियो ।
दीपाश्री निरौला निर्देशित यो चलचित्र ८० लाख रुपैयाँमा तयार भएर १८ करोड रुपैयाँ आम्दानी गर्न सफल भएको निर्माण टिमले दाबी गरेको छ । छक्कापञ्जाको गीत र सिंगो फिल्म यूट्युबमा पनि सर्बाधिक हेरिनेमा पर्न सफल भयो ।
८. जात्रा
नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई, नेतृ हिसिला यमीलगायतले उत्कृष्ट भनिर टिप्पणी गरेको चलचित्र ‘जात्रा’ २०७३ मा हिट चलचित्रमा दरियो ।
प्रदिप भट्टराईले निर्देशन गरेको चलचित्र जात्रामा विपिन कार्की, बर्षा राउत, रबिन्द्र झा लगायतको अभिनय धेरैले रुचाए । चलचित्रको कथा, पटकथा र संवाद धेरैले रुचाए भने हलहरुबाट सोचेभन्दा राम्रो आम्दानी चलचित्रले गरेको छ ।
विदेशमा गरिएको प्रदर्शनबाट जात्राले राम्रो संकलन गर्न सक्यो । नौला हास्य दृश्यले दर्शकलाई निराश बनाएन र निर्मातालाई राम्रै नाफा दियो ।
९.चपली हाइट– टु
अघिल्लो ‘चपली हाइट’ जस्तो चर्चा नपाए पनि ‘चपली हाइट टु’ ले आशातित सफलता भने पाउन सफल रहयो । दिपेन्द्र के खनाल निर्दे्शित ‘चपली हाइट टु’ले अपेक्षाकृत व्यवसाय नगरेपनि निर्माताको लगानी डुब्न दिएन ।
यो चलचित्रमा आयुष्मान देशराज श्रेष्ठ, मरिष्का पोखरेल तथा परिमिता रानाको स्वभाविक अभिनयको प्रशंसा भयो ।
१०.साँघुरो
साँघुरो फिल्म कलेजबाट पास आउट भएका विद्यार्थीहरुको प्रोजेक्ट हो । यौनकुण्ठालाई मुख्य विषयवस्तु बनाएर निर्माण भएको यो फिल्मलाई पनि दर्शकहरुले विशेष मानेर हेरे ।
केहि फिल्ममा कलाकारसमेत भएर अभिनय गरिसकेका जोयस पाण्डेले यो फिल्मको निर्देशन गरेका हुन् । फिल्ममा दिया मास्के, सुशांक मैनाली लगाएतका कलाकारहरुको अभिनय रहेको छ ।
प्रतिक्रिया