होलीमा होस पुर्याएर रङ खेलौं
सारांश
- काठमाडौं, १७ फागुन -छालारोग विशेषज्ञ डा.
- रीता श्रेष्ठ अबिरको टीका मात्रै लगाएर होली खेल्छिन्।
- रङ धेरै प्रयोग गर्दा एलर्जी हुने भएकाले टीका मात्रै लगाएर आशीर्वाद लिने र त्यसैमा रमाइलो गर्ने गरेको उनी बताउँछिन्।
काठमाडौं, १७ फागुन -छालारोग विशेषज्ञ डा. रीता श्रेष्ठ अबिरको टीका मात्रै लगाएर होली खेल्छिन्। रङ धेरै प्रयोग गर्दा एलर्जी हुने भएकाले टीका मात्रै लगाएर आशीर्वाद लिने र त्यसैमा रमाइलो गर्ने गरेको उनी बताउँछिन्। आजको अन्नपूर्ण दैनिकमा खबर छ ।
त्रिवि शिक्षण अस्पतालकी उपप्राध्यापकसमेत रहेकी डा. श्रेष्ठ होली खेल्दा आँखा र छाला बचाउनुपर्ने सुझाव दिन्छिन्। रङले छालामा एलर्जी भई असर गरेपछि अरूसँगै जमेर होली खेल्न छाडेको उनले बताइन्। ‘सानो छँदा खेल्थें,’ उनले भनिन्, ‘रङले आफ्नो छालालाई एलर्जी भएको थाहा पाएपछि सडकमा निस्केर खेल्न छाडें।’
होलीमा गुणस्तरहीन अबिरलगायत रङका साथै अन्य केमिकलको प्रयोगले छालाको एलर्जी भई उपचार गराउन आउने गरेको चिकित्सक बताउँछन्। वसन्त ऋतु आगमनको संकेत दिँदै आउने फागुमा संस्कृतिको नाममा विकृति फैलिएको छ। फोहोर पानी भरेर बेलुन एवं प्लास्टिकको लोलाले हान्दा आँखामा चोट लागी दृष्टिविहीन हुन सक्ने सम्भावना रहने आँखा रोग विशेषज्ञ बताउँछन्।
आँखामा अबिर वा अन्य केमिकल पर्यो भने लामो समयसम्म असर पुर्याउन सक्ने आँखा रोग विशेषज्ञ डा. मधु थापा बताउँछिन्। मिसावटयुक्त केमिकलको प्रयोगले आँखाको भित्री भागलाई असर पुर्याउने उनको भनाइ छ। ‘अबिर, रङ वा फोहोर पानी भरिएको प्लास्टिकको लोला वा पिच्कारीले लाग्यो भने आँखाको एलर्जी हुन सक्छ। आँखाको नानी (कोर्निया) मा चोट लाग्यो भने संक्रमण भई अन्धोपन निम्त्याउन सक्छ।’ कोर्नियामा चोट लाग्यो र भित्री तहमा समेत असर पुग्यो भने आँखाको दृष्टि क्षमता बचाउन गाह्रो हुने उनी बताउँछिन्।
होली खेल्ने पानी फोहोर र कीटाणुयुक्त छ भने त्यसले आँखालाई असर पुर्याउने र केमिकलको प्रयोगले एलर्जी गराउने डा. थापाको भनाइ छ। आँखाको एलर्जी हुँदा आँखा चिलाउने, बिझाउने, रातो हुनेलगायत लक्षण देखिन्छ। ‘आफ्नो पनि आँखाको सुरक्षा गर्ने र अरूलाई पनि अबिर लगाइदिँदा आँखामा असर नपुर्याई होली मनाउनुपर्छ। अन्यथा एक दिन होली खेलेर जीवनभरि तनाव र दुःख व्यहोर्नुपर्ने हुन्छ।’
वरिष्ठ छाला तथा यौनरोग विशेषज्ञ डा. अनिलकुमार झा होली खेलेको एक महिनासम्म छालाको एलर्जी भएको भन्दै जँचाउन आउनेहरू बढिरहेको बताउँछन्। होलीमा विकृति बढ्दा अबिर र रङमा माटो, बालुवा मिसाउने, अलकत्रा, एल्मुनियमको पेन्टसमेत प्रयोग हुन थालेको छ। यसले गर्दा छालामा चिरा पर्ने, फुस्रो हुने, चिलाउनेलगायत लक्षण देखिन्छन्। डा. भन्छन्, ‘कतिपय व्यक्तिमा सिन्दुर वा अबिर छालामा पर्यो कि त्यस ठाउँमा रातो बिमिरा आउने हुन्छ। त्यस्तो व्यक्तिलाई अबिर वा सिन्दुर लगायो कि एलर्जी हुन्छ।’
(Dayvigo)
प्रतिक्रिया