३३ किलो सुन प्रकरण: कुरा पुग्यो पूर्वगृहमन्त्रीसम्म
सारांश
- काठमाडौं, १७ वैशाख ।
- ३३ किलो सुन गायब र सनम शाक्य हत्या प्रकरणमा महानगरीय अपराध महाशाखाबाट प्रहरी प्रधान कार्यलय तानिएका डिएसपी प्रजित केसी पनि पक्राउ परेका छन् ।
- जिल्ला प्रहरी कार्यलय मोरङले केसीलाई नियन्त्रणमा लिएर कर्तव्य ज्यान र संगठित अपराधमा ३ दिन म्याद थप गरी अनुसन्धान थालेको छ ।
काठमाडौं, १७ वैशाख । ३३ किलो सुन गायब र सनम शाक्य हत्या प्रकरणमा महानगरीय अपराध महाशाखाबाट प्रहरी प्रधान कार्यलय तानिएका डिएसपी प्रजित केसी पनि पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यलय मोरङले केसीलाई नियन्त्रणमा लिएर कर्तव्य ज्यान र संगठित अपराधमा ३ दिन म्याद थप गरी अनुसन्धान थालेको छ । टोलीमा रहेका सई बालकृष्ण सञ्जेल पनि प्रहरी थुनामा छन् ।
तर, उनीहरूलाई विराटनगर पठाउने र घटनाको कमाण्ड गरेका अपराध महाशाखा काठमाडौंका तत्कालीन प्रमुख एसएसपी दिवेश लोहनी प्रहरी प्रधान कार्यालय तानिए पनि पक्राउ परेका छैनन् ।
डिएसपी केसीको बयानपछि एसएसपी लोहनी पनि अब पक्राउ पर्ने संभावना बढेर गएको स्रोतले जनाएको छ । किनकी यो प्रकरणमा तल्लो प्रहरीले आफूभन्दा माथिल्लो प्रहरी अधिकारीको आदेश पालना गरेको हुँदा डिएसपी केसीपछि एसएसपी लोहनी पक्राउ पर्ने अवस्था देखिएको छानविन समितिका एक सदस्यले बताए ।
पक्राउ पर्ने डरले एसएसपी लोहनी भने माओवादीका नेताहरूमार्फत समितिलाई दबाब दिन थालेका छन् । लोहनीले एक भिआईपी दलाललाई प्रयोग गरी पूर्व गृहमन्त्री जनार्दन शर्मामार्फत गृहमन्त्री रामवहादुर थापालाई दबाब दिन थालेको स्रोतले जनाएको छ ।
लोहनीले आफ्नो मातहतका प्रमुख पूर्वएआइजी जयबहादुर चन्दलाई नसोधीसिधै तत्कालीन आईजीपी प्रकाश अर्याललाई सोधेर फागुन १८ गते डिएसपी केसी नेतृत्वको टोली विराटनगर पठाएका थिए ।
जसका कारण अन्तिममा आदेश दिने तत्कालीन आईजीपी प्रकाश अर्याल पनि शंकाको घेरामा परेका छन् । एसएसपी लोहनीले सुरुमा समिति समक्ष बयानका क्रममा अर्यालकै निर्देशनमा आफूले शाक्य हत्याको अनुसन्धानका लागि मोरङमा टोली खटाएको बताएका थिए ।
महाशाखाबाट विराटनगर पुगेको टोलीले धरान पुगेर स्कारपियो गाडीबाट सुनका भरिया भनिएका सनम शाक्यको शव बरामद गरेको थियो दैनिक नेपालमा खवर छ। तर, धरानमा बरामद शव विराटनगरको पोखरिया पुगेर बरामद भएको मुचुल्का तयार गरेपछि यो घटनालाई शंकास्पद र ठूलो आर्थिक चलखेलका रुपमा हेरिएको छ । गत माघ नौ गते दुबईदेखि काठमाडौं उत्रिएको सुन गायब भएको थियो ।
मुख्य तस्कर ‘गोरे’ भन्ने चुडामणि उप्रती फरार छन् । प्रहरीले नै गोरे भगाउन सहयोग गरेको र शाक्य हत्या प्रकरणलाई सहज रुपमा दबाउने उद्देश्यले प्रहरीले सहजीकरण गरेको आरोप छानबिन समितिको छ ।
समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएका तत्कालीन सुरक्षा प्रमुख डिआइजी गोविन्द निरौलासहित एसएसपी श्याम खत्री, एसपी विकास खनाल र डिएसपी सञ्जय राउतलाई बयानका लागि डाक्न प्रहरी मुख्यालयलाई पत्र काटेको थियो ।
खत्री फरार छन् भने हत्या र तस्करीमा संलग्न नरहेका तर, ‘गोरे’सँग फोन कनेक्सन रहेको आधारमा निरौला र खनाल अहिले मोरङ प्रहरीको हिरासतमा छन् ।
प्रतिक्रिया