४३ महिनापछि दर्शनका लागि खुल्यो मनकामना मन्दिर
सारांश
- २०७२ सालको भूकम्पले पूर्णरुपमा क्षति पुगेको मनकामना मन्दिर पुननिर्माण पछि बुधबार देखि भक्तजनका लागि खुला गरिएको छ ।
- बुधबार बिहान ६ बजे क्षमापूजा गरी मूल मन्दिरबाट पूजा प्रारम्भ गरिएको मन्दिरका मूलपूजारी इन्सान थापाले बताए ।
- मन्दिर पुरानै संरचनामा निर्माण गरिएको छ ।
२०७२ सालको भूकम्पले पूर्णरुपमा क्षति पुगेको मनकामना मन्दिर पुननिर्माण पछि बुधबार देखि भक्तजनका लागि खुला गरिएको छ । बुधबार बिहान ६ बजे क्षमापूजा गरी मूल मन्दिरबाट पूजा प्रारम्भ गरिएको मन्दिरका मूलपूजारी इन्सान थापाले बताए । मन्दिर पुरानै संरचनामा निर्माण गरिएको छ । भूकम्प पछि क्षतिग्रस्त बने पछि अस्थायी टहरामा मुर्ति राखि पूजाआजा गरिदै आएको छ । मूल मन्दिरबाटै पूजा गर्न पाएपछि दर्शनार्थी समेत उत्साहित देखिएका छन् ।
राष्ट्रिय पुरातत्व विभागबाट अनुमति लिएर पुरानै संरचनाअनुसार प्यागोडा शैलीमा मन्दिरको पुनःनिर्माण गरिएको हो । मन्दिरको बाहिरी संरचनामा पर्खाल लगाउने, शौचालय निर्माण गर्ने, आँगनमा ढुंगा छाप्ने लगायतका काम बाँकी रहेको छ ।
करिब रु १५ करोडको लागतमा मन्दिर निर्माणको काम सम्पन्न गरिएको हो । मन्दिर निर्माणका क्रममा गजुरदेखि मन्दिरको छानासम्म १८ किलो २०० ग्राम सुनको मलम्ब लगाइएको छ भने मूलद्वारमासमेत सुनको जलप लगाएर मन्दिरलाई झकिझकाउ पारिएको छ । भूकम्प गएको करीब तीन महीना अर्थात् असार महीनादेखि मन्दिर निर्माणको काम सुरु गरिएको थियो । मन्दिर निर्माणका लागि नेपाल सरकारले पुरातत्व विभागमार्फत चार करोड बराबरको सुन तथा काठ उपलब्ध गराएको थियो भने बाँकी रकम भक्तजनबाट चन्दा सङ्कलन गरी निर्माण गरिएको हो ।
प्रतिक्रिया