चिनियाँ कम्युनिस्ट पार्टीले देशमा कसरी शासन गर्छ ?
सारांश
- बीबीसी ।
- अक्टोबर १, १९४९ देखि चीनमा कम्युनिस्ट पार्टी अफ चाइना (सीपीसी) को एकछत्र राज चल्दै आएको छ।
- अध्यक्ष माओको बेलादेखि नै कम्युनिस्ट पार्टीले नेतृत्व गर्दै चीनलाई आजको आर्थिक महाशक्ति बनाइदिएको हो।
बीबीसी । अक्टोबर १, १९४९ देखि चीनमा कम्युनिस्ट पार्टी अफ चाइना (सीपीसी) को एकछत्र राज चल्दै आएको छ। अध्यक्ष माओको बेलादेखि नै कम्युनिस्ट पार्टीले नेतृत्व गर्दै चीनलाई आजको आर्थिक महाशक्ति बनाइदिएको हो। तर त्यसक्रममा त्यो दलले कुनै विपक्षीलाई सहेको छैन र विद्रोहलाई दबाउँदै आएको छ।
जनवादी गणतन्त्र चीनले भर्खरै आफ्नो स्थापनाको ७० औँ वार्षिकोत्सव मनाएको छ। यही सन्दर्भमा हामीले त्यो दलले के भूमिका खेल्छ र कसरी देश चलाउँछ भन्ने विषयलाई हेर्दैछौँ। देशको प्रहरीदेखि सेनासम्म जोडेर पूरै देश कम्युनिस्ट पार्टीको पूर्ण नियन्त्रणमा छ। नौ करोड सदस्य रहेको कम्युनिस्ट पार्टीलाई तल फराकिलो र माथि साँघुरो हुँदै जाने पिरामिड शैलीमा सङ्गठित गरिएको छ।
सबैभन्दा माथि पार्टीको पोलिटब्यूरो छ र शीर्षस्थ स्थानमा चाहिँ राष्ट्रपति सी रहेका छन्। न्याश्नल पीपल्स कङ्ग्रेस नाम गरेको संसद् पनि छ तर त्यसले पार्टीको नेतृत्वले गरेको निर्णयलाई सदर गर्ने काम मात्र गर्छ। कम्युनिस्ट पार्टीले सञ्चारमाध्यम र इन्टरनेटमाथि कडा नियन्त्रण कायम गर्छ। त्यसबाट विद्रोहलाई मत्थर पार्न सहयोग पुगेको छ।
चीनलाई माया गर्छु भन्नु नै चिनियाँ कम्युनिस्ट पार्टीलाई माया गर्नु हो। त्यस क्रममा बहुलवादी र प्रजातान्त्रिक ढाँचाका शासन पद्धतिलाई अस्वीकार गर्दै राष्ट्रिय एकता र आर्थिक वृद्धिमा विशेष जोड दिइएको छ। चीन वास्तवमा एकदलीय सरकार भएको राष्ट्र हो। कम्युनिस्ट पार्टीको नेतृत्वदायी भूमिकालाई संविधानमा समेटिएको छ।
देशमा कयौँ साना दलहरू रहेका छन् तर तिनले कम्युनिस्टहरूलाई समर्थन गर्नैपर्छ। चीनका निर्माता माओको नेतृत्वमा कम्युनिस्ट पार्टीले देशमा कडा अधिनायकवादी समाजवाद लागु गर्यो। तथापि ग्रेट लीप फोर्वर्ड अर्थात् अग्रगामी छलाङ भनिने कार्यक्रम, भोकमरी र सांस्कृतिक क्रान्तिका कारण देशभरि दशौँ लाख मानिसको ज्यान गयो।
सन् १९७६मा माओको निधन भएपछि देङ स्यायोपिङले सुधारको काम थाले र त्यसपछि देशले बिस्तारै मन्दीको अवस्थाबाट मुक्ति पाउन थाल्यो। सन् २०१२ मा सत्ता सम्हालेका वर्तमान राष्ट्रपति सी जिन्पिङले चीनलाई विश्व शक्ति बनाउने अभियानको नेतृत्व गरिरहेका छन्। करिब सात प्रतिशत जनसङ्ख्या कम्युनिस्ट पार्टीका सदस्य रहेका छन्।
राजनीति, व्यापार वा मनोरञ्जन क्षेत्र नै किन नहोस् – आफ्नो पेसामा अघि बढ्नका लागि पार्टीको बफादार सदस्य हुनु अनिवार्य हुन्छ। त्यो चीनको प्रसिद्ध ई–कमर्श कम्पनी अलिबाबाका ज्याक मा, टेलिकम ह्वावेईका संस्थापक रेन झेङ्ग्फेई वा ख्यातिप्राप्त चलचित्र नायिका फ्यान बिङ्बिङको हकमा पनि लागु हुन्छ।
यदि पार्टीको सिद्धान्तविपरीत हिँडेको पाइएमा उनीहरूले सार्वजनिक रूपमा क्षमायाचना गर्नु पर्छ वा गोप्य रूपमा बन्दी अवस्थामा रहने गरी मुद्दा खेप्नुपर्छ। गत वर्ष नायिका फ्यानले त्यस्तै गर्नुपर्यो। अभिनेत्री फ्यान बिङ्बिङलाई सार्वजनिक रूपमा क्षमा माग्न बाध्य बनाइएको थियो
स्थानीय तहदेखि नै पार्टीका सङ्गठनहरूले माथिल्ला निकायको चयन गर्छन्।
न्याश्नल पार्टी कङ्ग्रेसले केन्द्रीय समितिको चयन गर्छ जसले पोलिटब्यूरो गठन गर्छ। यी चुनावहरूबारे पहिले नै निर्णय गरिएको हुन्छ। तर वास्तविक शक्ति चाहिँ पोलिटब्यूरोसँग हुन्छ। शीर्षस्थ स्थानमा राष्ट्रपति सी छन्। सन् २०१७ मा पार्टीले उनलाई आजीवन राष्ट्रपति बन्नका लागि बाटो खोलिदियो।
कम्युनिस्ट पार्टीले उनको नाम र विचारधारालाई देशको संविधानमै समेट्नका लागि मत दियो जसले उनलाई संस्थापक नेता माओ जेदोङको हैसियतमा पुर्याइदियो। कम्युनिस्ट पार्टीले देशको सरकार, प्रहरी र सेना सबैलाई नियन्त्रणमा राख्छ। शीर्ष स्थानमा रहेको पोलिटब्यूरोले पार्टीको विचारधारालाई सम्मान गरिएको छ कि छैन भनेर सुनिश्चित गर्छ।
त्यसका अतिरिक्त उसले अन्य तीन अङ्गलाई पनि नियन्त्रणमा राख्छः
स्टेट काउन्सिल (राज्य परिषद्), सेन्ट्रल मिलिटरी कमिशन (केन्द्रीय सैन्य आयोग), न्याश्नल पीपल्स कङ्ग्रेस अथवा संसद्, स्टेट काउन्सिल भनेको सरकार हो जसको नेतृत्व अहिले प्रधानमन्त्री ली कचियाङले गरिरहेका छन्। उनी राष्ट्रपतिभन्दा कनिष्ठ हुन्। यसको काम दलको नीतिलाई देशभरि फैलाउनु र राष्ट्रिय आर्थिक योजना तथा राज्यको बजेटको व्यवस्थापन गर्नु हो।
सेना र पार्टीबीचको सम्बन्ध दोस्रो विश्वयुद्ध र त्यसपछिको गृहयुद्धको समयदेखि सुरु भएको हो। उनीहरूबीचको नजिकको नातालाई केन्द्रीय सैन्य परिषद्ले संस्थागत रूप दिएको छ। त्यसले देशको सैन्य फौजको नेतृत्व गर्छ। यसले देशको परमाणुअस्त्र भण्डार र देशको २० लाखभन्दा बढी सैनिकको नियन्त्रण गर्छ।
चीनको सेना विश्वकै सबैभन्दा ठूलो हो। चिनियाँ कम्युनिस्ट पार्टीले विद्रोह सहनै सक्दैन। वास्तविक रूपमै विपक्षी दललाई अनुमति दिइन्न र सरकारका आलोचकले मुद्दा खेप्ने जोखिम हुन्छ। सरकारी अधिकारी वा निकायविरुद्ध बोल्ने व्यक्तिहरूमाथि दमन हुने क्रम रोकिएको छैन र वर्तमान राष्ट्रपति सीको कार्यकालमा मानवाधिकारमाथि नियन्त्रण गर्ने क्रम पनि तीव्र भएको छ।
त्यस्ता कारबाहीले उच्चपदस्थ व्यक्तिहरूलाई पनि छोडेको छैन। एउटा देखावटी अदालती सुनुवाइका क्रममा सन् २०१३ मा क्षेत्रीय पार्टी प्रमुख रहेका बो सीलाई भ्रष्टाचार र शक्तिको दुरुपयोगको मुद्दामा दोषी ठहर गरियो र उनलाई आजीवन कारावासको सजाय दिइयो। मानवाधिकारको सम्मान गरिरहेको बताउने गरेको चीनले
विद्रोहलाई दमन गरेरै करोडौँ मानिसलाई गरिबीको रेखाबाट माथि उठाउन सफल भएकोमा गर्व गर्छ। ऊ त्यो सफलतालाई व्यक्तिगत स्वतन्त्रताभन्दा ठूलो मान्छ। चीनमा सामाजिक सञ्जालसहित सञ्चारमाध्यम र इन्टरनेटको प्रयोग नियन्त्रित छ। चीनको ग्रेट फाइअरवाल भनिने इन्टरनेट सेन्सर वा नियन्त्रण गर्ने प्रणालीले पश्चिमा देशका समाचारका वेबसाइटहरूका साथै गुगल, फेसबुक, युट्युब
र ट्विटरलाई रोकिदिन्छ। दैनिक जीवन डिजिटल बनिरहेको छ जसले गर्दा कम्युनिस्ट पार्टीलाई अत्याधुनिक प्रविधिको प्रयोग गरी मानिसहरूको निगरानी गर्न र विभिन्न कार्यक्रम सञ्चालन गर्न पनि सहज भएको छ। मिडियामाथिको पूर्ण नियन्त्रणका कारण पार्टीलाई सार्वजनिक विचार आफूअनुकूल निर्माण गर्न र नियन्त्रण लागु गर्न पनि सजिलो भएको छ।
प्रतिक्रिया