६५ वर्षीयालाई बलात्कार गर्ने ७३ वर्षे वृद्ध वर्ष जेल चलान !
सारांश
- बागलुङ, १३ वैशाख ।
- जबर्जस्ती करणीका आरोपितलाई सफाइ दिने जिल्ला अदालत बागलुङको फैसलालाई उच्च अदालत पोखरा, बागलुङ इजलासले उल्टाएको छ।
- फैसला उल्टेसँगै अभियुक्त ढोरपाटन नगरपालिका–८ खुङ्गाका ७३ वर्षीय धनबहादुर अर्गेजा पाँच वर्षका लागि जेल चलान भएका छन्।
बागलुङ, १३ वैशाख । जबर्जस्ती करणीका आरोपितलाई सफाइ दिने जिल्ला अदालत बागलुङको फैसलालाई उच्च अदालत पोखरा, बागलुङ इजलासले उल्टाएको छ।
फैसला उल्टेसँगै अभियुक्त ढोरपाटन नगरपालिका–८ खुङ्गाका ७३ वर्षीय धनबहादुर अर्गेजा पाँच वर्षका लागि जेल चलान भएका छन्।
उनले पीडितलाई ५० हजार रूपैयाँ क्षतिपूर्तिसमेत भरेका छन्।
न्यायाधीश शेषराज शिवाकोटी र हरिप्रसाद पौडेलको संयुक्त इजलासले गत चैत २६ मा उक्त फैसला गरेको हो। यसअघि गत असारमा जिल्ला अदालतले जबर्जस्ती करणी गरेको प्रमाण नजुटेको भन्दै अर्गेजालाई सफाइ दिने फैसला गरेको थियो।
विसं २०७३ पुसमा छिमेकी ६५ वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा अर्गेजामाथि जिल्ला अदालतमा मुद्दा परेको थियो।पीडित महिलाले किटानी जाहेरी दिएपछि अर्गेजा विसं २०७३ माघ १ गते पक्राउ परेका थिए। अदालतको थुनछेक आदेशबाट उनी माघ १९ गते धरौटीमा छुटेका थिए।
जिल्ला अदालतबाट विसं २०७४ असारमा सफाइको फैसला आएपछि पीडित महिलाले उच्च अदालत पोखरा, बागलुङ इजलासमा पुनरावेदन दिएकी थिइन्।
जिल्ला अदालतको फैसलामा चित्त नबुझेपछि पुनरावेदन गर्नुपरेको पीडित महिला र उहाँका परिवारजनले जनाएका छन्। नयाँ फैसलापछि पीडित पक्षले न्यायको अनुभूति गरेका छन्।
पुनरावेदन परेपछि इजलासमा भएको बयानका क्रममा अभियुक्त अर्गेजाले जबर्जस्ती करणी गरेको स्वीकार गरेका थिए। यथेष्ट प्रमाणका आधारमा कसुर ठहर भएपछि अभियुक्त अर्गेजालाई जेल सजाय तोकिएको न्यायाधीश शेषराज सिवाकोटीले बताए।
इजलासको फैसलामा चित्त नबुझे सर्वोच्च अदालतमा पुनरावेदन गर्न प्रतिवादीलाई ७० दिनको म्यादसमेत दिइएको छ। अभियुक्त अर्गेजाले महिला घरमा एक्लै भएको मौका छोपी जबर्जस्ती करणी गरेका थिए।
स्वयं पीडित महिलाले किटानी जाहेरी दिएको घटनामा प्रमाण नभेटिएको भन्दै जिल्ला अदालतले अर्गेजालाई सफाइ दिने फैसला गरेको थियो।
प्रतिक्रिया