राजनीतिक स्थिरता नचाहनेहरु अस्थिरता फैलाउन खोज्दैछन् : गृहमन्त्री थापा
सारांश
- काठमाडौं, १७ साउन ।
- गृहमन्त्री रामबहादुर थापा बादलले राजनीतिक अस्थिरता फैलाउने उद्देश्यले सांसदमाथि धम्की दिइएको बताएका छन् ।
- केही दिनअघि नेकपाका सांसद निरु पाललाई धम्की दिएको घटनाबारे बोल्दै गृहमन्त्री थापाले यस्तो बताएका हुन् ।
काठमाडौं, १७ साउन । गृहमन्त्री रामबहादुर थापा बादलले राजनीतिक अस्थिरता फैलाउने उद्देश्यले सांसदमाथि धम्की दिइएको बताएका छन् । केही दिनअघि नेकपाका सांसद निरु पाललाई धम्की दिएको घटनाबारे बोल्दै गृहमन्त्री थापाले यस्तो बताएका हुन् । सांसद पालले केही दिनअघि आफूलाई पेस्तोल देखाएर धम्की दिएको बताएकी थिइन् ।
उक्त सन्दर्भमा संसदमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै गृहमन्त्री बादलले भने, ‘उक्त घटना राजनीति प्रकृतिको देखियो । अहिले पनि विभिन्न मुद्दा उठाएर राजनीतिक अस्थिरता फैलाउन खेल भइरहेको छ ।’ गृहमन्त्री थापाले भने, ‘अहिले देश विकास र समृद्धिको दिशामा अघि बढिरहेको छ । राजनीतिक स्थायीत्व कायम भएको छ । उनले राजनीतिक स्थिरता नचाहनेहरुले अस्थिरता फैलाउन खोजेका पनि बताए । अहिले पनि देशमा धार्मिक, साम्प्रदायिक, जातीय, क्षेत्रीय घटना उठाएर र त्यसलाई अतिरञ्जित गरेर राजनीतिक अस्थिरता फैलाउने काम भइरहेको भन्दै गृहमन्त्री थापाले सरकार यसतर्फ सचेत रहेको बताए ।
यस्तै मन्त्री थापाले केही दिनअघि कञ्चनपुरमा १३ वर्षकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा संलग्नलाई कठोर भन्दा कठोर कारबाही गर्नका लागि सरकार प्रतिबद्ध रहेको पनि बताए। उनले भने, ‘स्थानीय प्रशासन र पीडित पक्षबिच चार बुँदे सहमति भएको छ र त्यहि अनुसार घटनाको सम्बन्धमा अनुसन्धान चलिरहेको छ।’
मदिरा तथा लागु औषध सेवनका कारण घटना भएको देखिएको गृह मन्त्री थापाले बताए । उनले दोषीमाथि कारबाही हुनेमा शंका नगर्न आग्रह पनि गरे।
प्रतिक्रिया