काग्रेसको गढ भत्काउदै देउवाको नगरमा रुख ढालेर उदायो सुर्य

Shikharkhabar Shikharkhabar
|
शनिबार, आषाढ १७, २०७४
|
|
१९ पटक हेरिएको
Shares
काग्रेसको गढ भत्काउदै देउवाको नगरमा रुख ढालेर उदायो सुर्य

सारांश

  • अमरगढी (डडेल्धुरा) : जेठ अन्तिम साता राजधानीको सानेपास्थित बीपी स्मृति भवनबाट कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले गृहजिल्ला डडेल्धुराका स्थानीय तहमा चुनाव लड्ने उम्मेदवार घोषणा गर्नुभयो।
  • यता, डडेल्धुरामा बाक्लिएका ‘रूख’ हरू बेस्सरी हल्लिए।
  • त्यो भन्दा एक महिना अघिदेखि नै ‘सूर्य’ अनि ‘हँसिया हथौडा’ जिल्लाभरि बाक्लिइसकेका थिए, चुनाव प्रचारप्रसारमा।

अमरगढी (डडेल्धुरा) : जेठ अन्तिम साता राजधानीको सानेपास्थित बीपी स्मृति भवनबाट कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले गृहजिल्ला डडेल्धुराका स्थानीय तहमा चुनाव लड्ने उम्मेदवार घोषणा गर्नुभयो।

यता, डडेल्धुरामा बाक्लिएका ‘रूख’ हरू बेस्सरी हल्लिए। त्यो भन्दा एक महिना अघिदेखि नै ‘सूर्य’ अनि ‘हँसिया हथौडा’ जिल्लाभरि बाक्लिइसकेका थिए, चुनाव प्रचारप्रसारमा। असार १६ गते, अन्ततः ‘रूख’ले छेक्न सकेन र सदरमुकाम अगरगढीमा पहिलोपटक उदायो ‘सूर्य’।

निर्वाचन रिपोर्टिङका लागि डडेल्धुरा पुग्दा अमरगढी बजारका शिरमा टाँगिएका कांग्रेसी ‘ध्वजा’सँगै बाक्लिइरहेका थिए ‘सूर्य’ अंकित ‘ध्वजा’। नभन्दै शुक्रबार मध्याह्न अमगरगढी बजारमा ‘सूर्य’हरू मुस्कुराउँदै बजारभरि बाक्लिए। प्रधानमन्त्री देउवाको गृहजिल्ला डडेल्धुराको सदरमुकाम अमरगढीमा एमाले उदाएको छ।

पूरै जिल्ला कांग्रेसको गढ मानिएको थियो अहिलेसम्म। एउटै निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा देउवाले अनवरत जित्दै आउनुभएको थियो। स्थानीय निर्वाचनमा पनि कांग्रेसले नै जित्दै आएको थियो, अमरगढीमा।
३७ वर्षका विश्वेश्वरप्रसाद ओझा (बिपीन) ले कांग्रेसको गढमा एमालेको झन्डा फहराइदिनुभएको छ। ११ हजार ७ सय ८३ मतदाता रहेको अमरगढीमा ८ हजार ७ सय मत खसेको थियो। तीमध्ये ३ हजार ७ सय ६८ मतदाताले ओझा विजयी हुनुभयो। कांग्रेसका उम्मेदवार डिल्लीराज जोशीलाई भने ३ हजार ६ सय ४० मत प्राप्त भयो।

१ सय २८ मतको झिनो अन्तरले कांग्रेसी गढ भत्किएको छ। यो झिनो मतान्तर टिकट वितरणका बेला चुलिएको कांग्रेसभित्रकै असन्तुष्टिको उपज हो।

कांग्रेसकै सक्रिय सदस्य चन्द्रभान पार्कीले सदरमुकाम अमरगढीकै मेयरका लागि ‘स्वतन्त्र’ उम्मेदवारी दिएर अन्तिम बेलासम्म प्रचारप्रचारमा जुटिरहनुभएको थियो। उहाँ मात्रै होइन, टिकट वितरणपछि असन्तुष्ट भएका जिल्लाका २० जना कांग्रेसीले बागी उम्मेदवारी दिएका थिए।

कांग्रेसका जिल्ला पार्टी सभापतिसमेत उम्मेदवार घोषणापछि सडकमा निस्किएर देउवाविरुद्ध नाराबाजी गरेका थिए। सडकमै छताछुल्ल कांग्रेसी असन्तुष्टिले कांग्रेसको ‘साख’ मै चुनौती खडा गरिदिएको थियो। अहिलेसम्म बचेको ‘साख’ त्यही झिनो मतान्तरले मेटाइदियो।

अमरगढीका लागि उपमेयरको दौडमा थिइन् कांग्रेसकी पार्वती झुकाल। उनले पनि कांग्रेसको त्यही ‘साख’ जोगाउन अन्तिमसम्म एमालेकी संगीता भण्डारीलाई पछ्याइरहिन्। संगीताले ३ हजार ५ सय ८ मत आयो भने कांग्रेसकी झुकाल ३ हजार २ सय ८ मा सीमित भइन्।

एमाले अमरगढी नगर कमिटीका अध्यक्ष ओझा त्यहाँका लोकप्रिय युवा नेता मानिनुहुन्छ। कांग्रेसका पूर्वजिल्लासभापति जोशी समाजसेवीका रूपमा चिनिनुहुन्छ। पर्यावरण संरक्षणमा लागेका यी अभियन्ताले पहिलोपटक गुराँसको फूलबाट जुस निकालेर राष्ट्रिय पुरस्कारसमेत पाइसक्नुभएको छ। उहाँले टिकट पाइसकेपछि कांग्रेसको असन्तुष्टि सडकमै पोखियो।

जिल्लामा धेरै विवाद भएपछि देउवा आफैंले टिकटको टुंगो लगाउनुभएको थियो। उम्मेदवारी घोषणा भएको केही दिनसम्म पार्टीका जिल्लास्तरका नेता तथा कार्यकर्ताले सडकमा देउवाविरुद्ध नाराबाजी गरेका थिए।

एमालेले ६ वटा वडासहित मेयर र उपमेयरमा जित हासिल गरेको छ। अमरगढी नगरपालिकाका ११ वडामध्ये वडा नं ४, ५, ७, ९, १० र ११ मा एमालेले जितेको छ। यी वडा सदरमुकामको मुख्य बजार क्षेत्रमा पर्छन्। कांग्रेसले भने १, २, ३, ६ र ८ मा जितेको छ।

चुनावी परिणामपछि जिल्लाका कुनै कांग्रेसी नेताले प्रतिक्रिया दिन चाहेका छैनन्। तर, कांग्रेसका पूर्वपार्टी सभापति गजेन्द्रबहादुर शाहीको सटीक विश्लेषण छ, ‘टिकट वितरण प्रक्रिया नै गलत थियो, त्यही असन्तुष्टिले पार्टीभित्र द्वन्द्व सिर्जना भयो र त्यसको फाइदा अर्काे शक्तिलाई भयो।’

त्यस्तै, कांग्रेसको भ्रातृ संगठन नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष कर्ण मडैको पनि यस्तै बुझाइ छ। ‘टिकट स्थानीयस्तर हेरेर दिनुपर्ने थियो तर केन्द्रकै पहुँच हेरेर दिइयो’, उहाँ भन्नुहुन्छ, ‘त्यसैको परिणाम हो, कांग्रेसले आफ्नो साख जोगाउन सकेन।’

मेयरमा विजयी ओझाले अमरगढीलाई नमुना ‘पहाडी’ सहर बनाउने घोषणा गर्नुभएको छ। एमालेका जिल्ला अध्यक्ष डा.ताराप्रसाद जोशीले एमालेले चुनाव जित्नुमा कांग्रेसभित्रको असन्तुष्टि मात्रै होइन, वर्षाैंदेखि मजबुत पार्दै आएको संगठन तथा उम्मेदवारको क्षमता रहेको दाबी गर्नुभयो।

(www.sapns2.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?