नेपाल र भारतका प्रधानमन्त्रीले आ-आफ्नै देशबाट पाइपलाइनको उद्घाटन गर्ने

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण १०, २०७६
|
|
२७ पटक हेरिएको
Shares
नेपाल र भारतका प्रधानमन्त्रीले आ-आफ्नै देशबाट पाइपलाइनको उद्घाटन गर्ने

सारांश

  • नेपाल(भारत पेट्रोलियम पाइपलाइनको उद्घाटन साउन महिनामै गरिने भएको छ ।
  • यो दक्षिण एसियाकै पहिलो अन्तरदेशीय पाइपलाइन हो ।
  •  नेपाल र भारतका प्रधानमन्त्रीले आआफ्नो देशबाट स्वीच थिचेर पाइपलाइनको उद्घाटन गर्नेे उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

नेपाल(भारत पेट्रोलियम पाइपलाइनको उद्घाटन साउन महिनामै गरिने भएको छ । यो दक्षिण एसियाकै पहिलो अन्तरदेशीय पाइपलाइन हो । नेपाल र भारतका प्रधानमन्त्रीले आआफ्नो देशबाट स्वीच थिचेर पाइपलाइनको उद्घाटन गर्नेे उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । यसका लागि तयारी अन्तिम चरणमा पुगेको शुक्रबार आयोजित कार्यक्रममा जानकारी दिइयो ।

पाइपलाइनको उद्घाटन अगाबै सुरक्षा र जाँचपासको यथोचित व्यवस्था छिटो सकाउन भारतीय पक्षले गरेको आग्रहपछि वाणिज्य मन्त्रालयले विभिन्न मन्त्रालयलाई समन्वयको लागि पत्र लेखेको छ ।

पाइपलाइनको सुरक्षाका लागि आवश्यक प्रबन्ध गर्न रक्षा मन्त्रालय र गृह मन्त्रालयलाई पत्र पठाइएको मन्त्रालयकी सहायक प्रवक्ता उर्मिला केसीले बताईन् । यसैगरी अन्य आवश्यक तयारी गर्न गुणस्तर तथा नाप तौल विभाग र नेपाल आयल निगमलाई पत्र पठाईएको उनले जानकारी दिइन् ।

उता भारतले भने आफ्नो भूमितर्फको पेट्रोलियम पाईपलाईन सुरक्षा प्रबन्ध सुरु गरिसकेको काठमाडौंस्थित भारतीय दूतावासले जनाएको छ । भारतको तेल उद्योग सुरक्षा निर्देशनालय (ओइएस आईडी) एवं पेट्रोलियम तथा बिस्फोटन सुरक्षा संगठन पीईएसओबाट सुरक्षा जाँचपासका साथै पेट्रोलियम पाईपलाईन सञ्चालनको सहमति प्राप्त गरिसकेको दूतावासको भनाइ छ । भारतले आफ्नो क्षेत्रको पाइपलाइनको सुरक्षा रेखदेख ड्रोन क्यामेरामार्फत गर्ने बताएको छ ।

भारतको मोतीहारीदेखि नेपालको अमलेखगञ्जसम्म ६९.२ किलोमिटर लामो पाइपलाइनको साउन २ गते सफल परिक्षण सम्पन्न भएको थियो । पाइपलाइनमा नेपालतर्फ ३७.२५ र भारततर्फ ३२.६५ किलोमिटर पर्दछ । पाइपलाइनबाट तत्काल प्रतिघन्टा २ लाख लिटर डिजेल आयात गर्न सकिने नेपाल आयल निगमले जनाएको छ ।

फिफा वरियतामा नेपालको स्थान खस्कियो, शीर्ष स्थानमा बेल्जियम
काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको विश्व वरियतामा नेपाल एक स्थान तल झरेको छ । फिफाले बिहिबार सार्वजनिक गरेको वरियतामा नेपाल एक स्थान तल झरेको हो । नयाँ वरियतामा नेपाल १ सय ६६ औं स्थानमा रहेको छ । यसअघि नेपाल १ सय ६५ औं स्थानमा रहेको थियो ।

दक्षिण एसियाली देशमा नेपाल तेस्रो स्थानमा रहेको छ । नेपाल भन्दा माथि भारत १ सय ३ औं स्थानमा र माल्दिभ्स १ सय ५२ औं स्थानमा रहेको छ ।नेपाल भन्दा तल रहेको बंगलादेश १ सय ८२ औं, भुटान १ सय ८६ औं, श्रीलंका २ सय औं र पाकिस्तान २ सय ४ औं स्थानमा रहेको छ ।

विश्व वरियतामा बेल्जियम शीर्ष स्थानमा छ । ब्राजिल दोस्रो, फ्रान्स तेस्रो, ईङ्ल्याण्ड चौंथो र उरुग्वे पाँचौ स्थानमा रहेको छ । छैटौ स्थानमा पोर्चुगल, सातौंमा क्रोएसिया, आठौंमा कोलम्बिया, नवौमा स्पेन र दशौँमा अर्जे्न्टिना रहेको छ ।

बाढीपछि तराईमा सर्पको त्रास
सर्पले डसेर महोत्तरीको बर्दिबास २ का ४५ वर्षीय शिवनाथ महतोको असार ४ गते मृत्यु भयो। वर्षाले छानो चुहिरहेको थियो। टाली मिलाउन छानोमा हात हालेका उनलाई सर्पले टोक्यो। उनी बर्दिबासस्थित राजमार्गको विश्वकर्मा चोकमा चिया पसल गरेर गुजारा चलाउँथे।

भब्सी खोलाको पुल बाढीले बगाएर यातायात अवरुद्ध थियो। बाढीले खोलाको वैकल्पिक बाटो बन्द थियो। उपचारका लागि उनी सर्लाहीको नवलपुरको सर्पदंश उपचार केन्द्र पुगे। तर उपचार सम्भव भएन। समयमा उपचार नपाउँदा उनले ज्यान गुमाए।

असार ३० गते रौतहटको यमुनामाई गाउँपालिका–१ जृठरहियाका २५ वर्षीया गायत्रीदेवी साहको पनि विषालु सर्पको टोकाईबाट ज्यान गयो। बाढीसँगै आएको विषालु सर्पले डसेर उनको मृत्यु भयो।

असार २५ गते सर्पले डसेर अस्पताल भर्ना भएकी हरिवन नगरपालिका ९ कि अढाई वर्षीया सम्पदा बुढाथोकीको ज्यान गयो। बालिकालाई दुई ठाउँमा गोमन सर्पले टोकेको थियो।

वर्षाका कारण तराईका जिल्लामा सर्पको बिगबिगी बढेपछि स्थानीयवासी त्रसित छन्। असार २७ देखि साउन २ गतेसम्ममा प्रदेश २ का ८ जिल्लामा २४८ जना सर्पदंशको शिकार भएका इपीडीमीयोलोजी तथा रोग नियन्त्रण माहाशाखाका प्रकाश घिमिरेले जानकारी दिए।

‘सर्प बस्ने दुलोमा पानी भरिएर सर्प बाहिर निस्केको छ,’ जनस्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ जनस्वास्थ्य प्रशासक विजयकुमार झाले भने, ‘वर्षाले डुबानको समस्या छ। मानिसहरू घरबारविहीन छन्। साता अघिदेखि पाल टाँगेर सडक, बाँध किनारमा रात काटिरहेका छन्। सर्पको बिगबिगी बढेको छ।’ रातमा बाहिर निस्कँदा टर्चलाइट लिएर मात्र निस्किन उनको सल्लाह छ।

असार २७ देखि साउन २ गतेसम्ममा एक सातामा प्रदेशभरमा १५ जनालाई विषालु सर्पले टोकेको थियो। रौत्तहटको गौर अस्पतालमा एक र जनकपुर अञ्चल अस्पतालमा एकजनाको ज्यान गएको छ। प्रदेश २ का ११ ठाउँमा सर्पदंशको उपचार हुन्छ। अन्नपुर्ण पोष्टबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?