म पसिना पसिना भएँ…
सारांश
- विष्णु फडेरा पानी रोकिएको थिएन ।
- साँझ ढल्किसकेको थियो ।
- तर मलाई भने उज्यालो हुँदैछ र अब बाँकी जीवन सुनाउन पाइन्छ, जसले गर्दा उनी र मबीच आत्मीयता बढोस् जस्तो महसुस भइरहेको थियो ।
विष्णु फडेरा
पानी रोकिएको थिएन । साँझ ढल्किसकेको थियो । तर मलाई भने उज्यालो हुँदैछ र अब बाँकी जीवन सुनाउन पाइन्छ, जसले गर्दा उनी र मबीच आत्मीयता बढोस् जस्तो महसुस भइरहेको थियो । मलाई लाग्थ्यो, मेरो जीवन नै एउटा उपन्यास हो र उसले मलाई पढिदियोस् । तर त्यो सम्भव थिएन । शायद मलाई एउटा कुराको याद आइरहेको थियो, छ र पो वास्ता नहोला तर गुमाएपछि मात्र थाहा हुन्छ कसको महत्व कति हुन्छ भनेर । तर हामीले कसैलाई पाएका थियौँ न त गुमाउनु पर्ने चिन्ता नै ।
त्यत्तिकैमा उनले सोधिन्, “तैले पत्रकारिता बिषय नै पढेको हो ?” अब भने मलाई हाँस्नुको विकल्प थिएन । किनकि शायद पत्रकारिता नगरेको भए आज कसरी भेट हुन्थ्यो ? र, उपन्यासकी पात्र हुन्थ्यौ र ? यति बोलिसकेपछि उनी रिसले चुर भइन् । लाग्थ्यो औँसीको कालो रातमा पनि मडारिएको कालो बादल अब झरीको रुपमा वर्षिदै छ । उनको गोरो अनुहारका रिसले कालो भएको रङ्ग प्रष्ट देखिन्थ्यो । परिस्थितिलाई सामना गर्ने मसँग सामथ्र्य थिएन । किनकि उनको र मेरो लक्ष्य फरक छ । उद्देश्य फरक छ । सोच फरक छ, विचार फरक छ । तर समान छ त केवल मानवीयता मात्र । त्यत्तिकैमा उनले फेरि आफै भनिन्, “कस्तो ढक्कन रैछ ? नेपालका सञ्चारमाध्यममा पत्रकारिता विषय नपढेर पनि पत्रकारिता गरेको देखेको सुनेको छु । तलाई थाहा छ ? पत्रकारिता त्यो मान्छेले गर्ने पेशा हो जोसँग एक्युरिसी (ए)– व्यालेन्स (बी) र क्रेडिबिलिटी (सि) हुन्छ । तर नेपालका मिडिया हाउसमा एबिसी त हुन्छ तर ए– आफ्नो, बि– बन्न सक्नेहरु, सि– चान्समा डान्स गर्न दिनेहरुमात्र पत्रकारितामा टिक्छन् । त्यही भएर तँ पनि त्यस्तै हो कि भनेर ।” यति वाण प्रहार गरिसकेपछि उनी मुस्कुराईन । तर मलाई भने प्रहारले निकै सोच्न बाध्य बनायो मेरो पेशाप्रति । बाँकी कुरालाई तपशिलमा राख्दै मैले पत्रकारिता सूरु गर्नु भन्दा अगाडिको सत्य घटना सुनाए ।
त्यतिखेर म पत्रकारिता बिषय लगेर ११ पढ्दै थिएँ । सायद कोर्षको करिब करिब अन्तिमतिर आइपुगेका थियौँ । हामीले प्रयोगात्मकका लागि फिल्डमा जानुपर्ने भयो । हामी पत्रकारिता विषय लिएर पढ्ने पहिलो व्याजमा ५ जना थियौँ । जसमा ३ जना केटी साथी र २ जना केटा । मैले केटाकेटी किन भनेको भने त्यतिखेर ५ जनामध्य कसैले पनि बिहे गरेका थिएनौँ । प्रयोगात्मकका लागि विषय शिक्षकले फिल्डमा खटाउनु भयो । हाल उहाँ मध्यपश्चिम विश्वविद्यालयको रजिस्टार हुनुहुन्छ । उहाँले खटाउने क्रममा मैले ट्राफिक प्रहरी सम्बन्धी रिपोर्ट बनाउने जिम्मा पाएँ । म कलम र कापी बोकेर कलेजबाट ट्राफिक प्रहरी कार्यालयतिर प्रस्थान गरे । तर म एक्लै जान नसकेर तीनजनालाई साथमा लगेर गएको थिएँ । किनकि मलाई मेरो पत्रकारिताको पहिलो स्टोरी बनाउनु थियो । जुन मलाई ज्ञान त थियो व्यवहारमा लागु भएको थिएन । मेरो सहयोगीका रुपमा मैले दाइ, भाइ र जेठान (हाल) पर्नेलाई लगेर गए ।
करीब आधा घण्टा हिँडेर पुगियो । म पुग्दा सबै आआफ्नो काममा व्यस्त हुनुहुन्थ्यो । कसलाई के भन्नेसम्म पनि मलाई थाहा थिएन । मनमा डर बाहेक अरु केही थिएन । मुटुको धड्कनको कुरा गर्ने हो भने अहिले पनि पसिना छुट्छ मलाई त्यो धड्काई सम्झिँदा । सबैले आफ्नो काम सकाएर हामी भएतिर आउनुभयो । सबिस्तार व्याख्या भएपछि गोल घेरा बनाएर बेञ्चमा राखियो । लाग्दैछ, म कुनै मेरो हुम्लामा बर्षौदेखि चल्दै आएको परम्परा जारीको बिषयमा उजुरी गर्न प्रहरीकहाँ आएको छु र अब कचहरी सुरु हुँदैछ । यति भएपछि सामान्य परिचय भयो । अब के सोध्नुछ, सोध्नुहोस, हामी बताऔंला भन्ने आदेशात्मक स्वीकृति आयो । मैले सुरु गरें, “अहिले अध्यक्ष को हुनुहुन्छ ?” जब मैले यो प्रश्न गरें, तब करिब १० जना प्रहरी सापहरु एकै आवाजमा बोल्नुभयो, “हाम्रोमा अध्यक्ष उपाध्यक्ष हुन्न सर । इन्स्पेक्टर साप हुनुहुन्छ । त्यो भन्दा तल्लो पोस्ट सई साप, त्यसपछि असई साप अनि हवल्दार साप भन्ने हुन्छ । यति बोलिसक्दा मलाई पहिलो गाँसमै ढुंगा लागेको महसुस भयो र म पसिना पसिना भएँ । लाग्यो कि घामले म बाहेक अरु कसैलाई देखेन र भएजतिको प्रकाश मलाई नै फोकस गरेको छ । त्यतिखेर इन्स्पेक्टर सापले नेतृत्व गर्नुभएको रहेछ । उहाँले भन्नुभयो, “तपाईलाई धेरै पसिना आयो । असहज महसुस नगर्नुस । ए भाइ, पानी ल्याइदे त सरलाई । एकजनालाई आदेश दिइसकेपछि पानी पिएँ मैले । अनि लाग्यो नेपाल प्रहरीमा यतिको इमान्दारिता राष्ट्रसेवकहरु छन् र पो राष्ट्रको शिर झुक्न दिएका रैनछन् । तर राष्ट्रको शिर जति निहुराए पनि सबै राजनैतिक व्यत्तिहरुको देन रैछ । मैले सोध्न त सोधें तर…। त्यसपछि खित्का छोडेर हाँसिन् उनी ।
प्रतिक्रिया