धर्मगुरु टुल्कु लामा बलात्कारी ठहर, ३० लाख क्षतिपूर्ति र ७ वर्ष कैदको फैसला

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन १०, २०७६
|
|
२७ पटक हेरिएको
Shares
धर्मगुरु टुल्कु लामा बलात्कारी ठहर, ३० लाख क्षतिपूर्ति र ७ वर्ष कैदको फैसला

सारांश

  • एक महिलामाथि वर्षौसम्म बलात्कार गरेको अभियोग लागेका दक्षिणकालीस्थित गुम्बाका धर्मगुरु टुल्कु लामा अन्ततः बलात्कारी ठहर भएका छन् ।
  • उच्च अदालत पाटनले बलात्कार मुद्दाकी एक पीडितलाई पीडकबाट ३० लाख क्षतिपूर्ति दिलाउने फैसलासहित धर्मगुरु लामालाई सात वर्षको कैद सजाय तोकेको छ ।
  • आफूलाई अवतारी लामा दाबी गर्दै आएका टुल्कु लामालाई दुई वर्षअघि प्रहरीले पक्राउ गरेको थियो ।

एक महिलामाथि वर्षौसम्म बलात्कार गरेको अभियोग लागेका दक्षिणकालीस्थित गुम्बाका धर्मगुरु टुल्कु लामा अन्ततः बलात्कारी ठहर भएका छन् ।

उच्च अदालत पाटनले बलात्कार मुद्दाकी एक पीडितलाई पीडकबाट ३० लाख क्षतिपूर्ति दिलाउने फैसलासहित धर्मगुरु लामालाई सात वर्षको कैद सजाय तोकेको छ । आफूलाई अवतारी लामा दाबी गर्दै आएका टुल्कु लामालाई दुई वर्षअघि प्रहरीले पक्राउ गरेको थियो ।

दक्षिणकालीको आफ्नो गुम्बामा एक महिलामाथि वर्षौं बलात्कार गरेको अभियोग उनी पक्राउ परेका थिए । टुल्कुले उपचारको बहानामा अरू महिलामाथि पनि यौन शोषण गरेको प्रहरी अनुसन्धानले देखाएको छ । उक्त मुद्दामा जिल्ला अदालत काठमाडौंले टुल्कुलाई सफाइ दिएको थियो ।

जिल्ला अदालतको उक्त फैसला उल्ट्याउँदै भदौ २६ गते पाटन उच्च अदालतका न्यायाधीशद्वय टेकनारायण कुँवर र रमेशबहादुर थापाको इजलासले टुल्कु लामालाई ७ वर्ष कैद र ३० लाख क्षतिपूर्तिको फैसला सुनाएको हो ।

अन्तरिम राहत स्वरूप नगद र नगद नभए सुन गरगहनालगायत सामान दिलाउन फैसलामा भनिएको छ । डर, त्रास, झुक्याएर अनुचित प्रभावमा पारी ९ वर्षभन्दा बढी समयसम्म गुम्बाभित्र पीडितलाई यौनदासीको रूपमा राखेको भन्दै टुल्कु लामालाई कुनै सहानुभूति राख्न जरूरी नभएको अदालतले ठहर गरेको छ ।

टुल्कु लामाले गरेको अपराध गम्भीर अपराध भएको हुँदा हदैसम्मको कारबाही र क्षतिपूर्ति दिलाउने फैसला गरिएको उच्च अदालतल पाटनले जनाएको छ ।

लामाले विश्वासको दुरूपयोग गरेको, आश्वासन र लाभको प्रलोभन देखाएको, आफ्नो संरक्षण र नियन्त्रणमा रहेको व्यक्तिविरूद्ध कसुर गरेको, शारिरीक बन्धक बनाएर कसुर गरेको, सुरक्षा गर्नु पर्ने व्यक्तिविरूद्ध कसुर गरेकाले उनको अपराधलाई गम्भीर प्रकृतिको भनिएको छ ।

टुल्कु लामाको नाममा रहेको गुम्बा जग्गा जमिन र मजबुत आर्थिक अवस्था हेरेर पीडितलाई मनासिव क्षतिपूर्ति दिलाएको अदालतले जनाएको छ । रिम्बोर्छे छुल्ठिम दोर्जे योन्जन टुल्कू लामाले आफूलाई तन्त्र र झारफुक गरी उपचार गर्ने भन्दै २०६६ सालमा पहिलो पटक बलात्कार गरेको र त्यसपछि २०७३ सालसम्म शारिरीक र मानसिक यातना दिएको भन्दै २६ वर्षीया ती महिलाले जाहेरी दिएकी थिइन् ।

लामाको गुम्बाबाट भागेर आएपछि उनको बेइज्जत गर्ने नियतले आफूसँग खिचेका फोटाहरू नग्न फोटोहरू अपलोड गरेकाले उनलाई विद्युतीय कारोबारसम्बन्धी कसुर लगाउन पनि उनले माग गरेकी थिइन् ।

उक्त जाहेरीमाथिको अनुसन्धानपछि काठमाडौं दक्षिणकाली नगरपालिका–१ चाल्नाखेलमा अवस्थित पेमा टासी छुल्ठिम घोम्बो कासुङ गुम्वामा धर्मगुरू रहेका टुल्कु लामाले उनलाई मात्र होइन अरू महिलालाई यौन शोषण गर्ने गरेको पाइएको प्रहरीले जनाएको थियो ।

प्रहरीले बलात्कार मुद्दासँगै विद्युतीय कारोबार सम्बन्धी मुद्दा पनि लगाएको थियो । उनलाई सफाई दिने जिल्ला अदालतले नै विद्युतीय कारोबार सम्बन्धी कसुर गरेको ठहर गर्दै एक लाख ५० हजार क्षतिपूर्ति तिराउने फैसला गरेको थियो ।

सिन्धुलीको दुम्जा घर भएका ५८ वर्षीय लामाले चाल्नाखेलमा १२ रोपनी जग्गा लिएर आफैंले गुम्बा बनाएका थिए । आफू भगवानको अवतार भएको भन्दै उनले जस्तोसुकै रोग निको पार्ने शक्ति आफूमा रहेको प्रचार गरेका थिए । उनको गुम्बामा दैनिक २ सयसम्म बिरामी आउँथे । तीमध्ये गुम्बामा आएका महिलालाई टुल्कुले यौनशोषण गर्ने गरेको अभियोगपत्रमा उल्लेख छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?