यस्ता छन् कलाकारका तिहार योजना
सारांश
- तिहारले छपक्कै छोपिसक्यो।
- कलाकारहरूलाई पनि तिहार नलाग्ने कुरै भएन।
- तर चाडमा पनि चलचित्रकर्मीहरू आफ्नो फिल्मको प्रमोसनमा व्यस्त हुन्छन्।
तिहारले छपक्कै छोपिसक्यो। कलाकारहरूलाई पनि तिहार नलाग्ने कुरै भएन। तर चाडमा पनि चलचित्रकर्मीहरू आफ्नो फिल्मको प्रमोसनमा व्यस्त हुन्छन्। गायकगायिकाहरू देशविदेशमा सांगीतिक कार्यक्रम गर्नमा व्यस्त हुन्छन्। कतिपय कलाकार भने चाडपर्वमा घरपरिवारसँगै रमाउन चाहन्छन्।
अभिनेता तथा लेखक खगेन्द्र लामिछाने यसपालिको तिहार काठमाडौंमै मनाउँदै छन्। दसैंमा गृहजिल्ला स्याङ्जा जाने गरे पनि तिहार प्रायः काठमाडौंमै मनाउँछन्। ‘चलचित्र पानीफोटोको सुटिङ हालै सकियो’, उनले भने, ‘अब बहिनीहरूसँग टीका लगाएर तिहार यतै मनाउँछु।’ तिहारमा देउसीभैलो खेल्न नजाने भएकाले सामान्य रूपमा मनाउने उनले बताए।
त्यस्तै युवा गायक स्वप्न सुमनले पनि तिहारको पूरै समय परिवारलाई दिने भएका छन्। सांगीतिक कार्यक्रम र गीत रेकर्डिङमा निकै व्यस्त रहने स्वप्न भन्छन्, ‘म प्रायः सबै चाडपर्व परिवारसँग बिताउन मन पराउँछु।’ तिहारपछि मात्र सांगीतिक कार्यक्रमको समय मिलाएको उनले बताए। तिहार निकै मन पराउने स्वप्न आफ्ना बहिनी र भाइसँग यस चाडमा रमाउँदै छन्।
नायिका केकी अधिकारीलाई पनि तिहार निकै मन पर्छ। दाजुभाइ काठमाडौंमै रहेकाले उनी यतै तिहार मनाउँदै छिन्। ‘तिहारमा पशुपन्छीको पनि सम्मानपूर्वक पूजा गरिने हुँदा मलाई यो चाड निकै मन पर्छ’, केकी भन्छिन्, ‘तिहारमा देउसीभैलो र झिलिमिली बत्तीको रमाइलो नै छुट्टै हुन्छ।’
लोकदोहोरी गायिका राधिका हमाल यसपालिको तिहार आफ्नै घर रोल्पामा मनाउँदै छिन्। परिवारसँग रमाउन मन पराउने उनी भन्छिन्, ‘परिवारसँग चाडपर्व मनाउनुको रमाइलो नै बेग्लै छ। यस्ता पर्वको अवसरमा सबै आफन्त दाजुभाइसँग भेट हुँदा खुसी लाग्छ।’
यस तिहारमा सधैंझै सिस्नोपानी नेपालको जोडदार हास्यव्यंग्य रह्यो । आइतबार प्रज्ञा भवनमा सिस्नोपानीले वर्तमान सरकारसँग जनताको असन्तुष्टिलगायत समाजका विकृति विसंगतिको तिखो व्यंग्य गर्यो । अन्नपुर्ण पोष्टबाट
प्रतिक्रिया