काठमाडौं महानगरपालिकाको मेयरमा बालेन शाह विजयी

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ ११, २०७९
|
|
५० पटक हेरिएको
Shares
काठमाडौं महानगरपालिकाको मेयरमा बालेन शाह विजयी

सारांश

  • काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन शाहले जितेका छन् ।
  • गन्न बाँकी मतभन्दा निकटतम प्रतिस्पर्धी उम्मेदवारसँग उनको मतान्तर बढी भएपछि जित सुनिश्चित भएको हो।
  • निर्वाचन आयोगको पछिल्लो अपडेटअनुसार बालेन शाहले ५५ हजार ७४७ मत प्राप्त गरेका छन् ।

काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन शाहले जितेका छन् । गन्न बाँकी मतभन्दा निकटतम प्रतिस्पर्धी उम्मेदवारसँग उनको मतान्तर बढी भएपछि जित सुनिश्चित भएको हो।

निर्वाचन आयोगको पछिल्लो अपडेटअनुसार बालेन शाहले ५५ हजार ७४७ मत प्राप्त गरेका छन् । उनको निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना श्रेष्ठले ३५ हजार ३७१ मत प्राप्त गरेकी छन् ।

बालेन र निकटतम प्रतिस्पर्धी सिर्जनाबीचको मतान्तर २० हजार ३७६ रहेको छ । काठमाडौं महानगरमा अब गणना गर्न बाँकी रहेको मत मात्र १९ हजार ३२३ रहेको छ ।

मतगणना गर्न बाँकी रहेको मतमध्ये एक मत पनि बालेनको पक्षमा नआए पनि उनले जित्नेछन् ।

हालसम्मको मतगणना अनुसार काठमाडौं महानगरको प्रमुखमा नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३४ हजार ६२६ मत प्राप्त गरेका छन् । स्थापितकोभन्दा बालेनले २१ हजार १२१ बढी मत पाएका छन् ।

काठमाडौं महानगरको प्रमुखमा अर्का स्वतन्त्र उम्मेदवार सुमन सायामीले १० हजार ३२२ मत प्राप्त गरेका छन् ।

गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकामा १ लाख ९१ हजार १२५ मत खसेको थियो । पछिल्लो अपडेट अनुसार १ लाख ७१ हजार ८०२ मतगणना भइसकेको छ । अब १९ हजार ३२३ मत गन्न बाँकी रहेको छ ।

हालसम्म गणना भएकोमध्ये बालेनले ३२ प्रतिशत, सिर्जनाले २१ प्रतिशत, स्थापितले २० प्रतिशत, सुमनले ६ प्रतिशत र बाँकी अन्य उम्मेदवारहरुले प्राप्त गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?