‘एक साताभित्र’ कोरोनाभाइरस परीक्षण नेपालमै

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ १३, २०७६
|
|
३० पटक हेरिएको
Shares
‘एक साताभित्र’ कोरोनाभाइरस परीक्षण नेपालमै

सारांश

  • काठमाडाैं।
  • एक-दुई दिनदेखि एक साताभित्र नेपालमै कोरोनाभाइरसको परीक्षण गर्ने व्यवस्था मिलाउन लागिएको अधिकारीहरूले बताएका छन्।
  • नेपालमा हाल उक्त भाइरस परीक्षणको व्यवस्था नहुँदा हङ्‌कङ पठाएर परीक्षण गरिएको अधिकारीहरूले जानकारी दिए।

काठमाडाैं। एक-दुई दिनदेखि एक साताभित्र नेपालमै कोरोनाभाइरसको परीक्षण गर्ने व्यवस्था मिलाउन लागिएको अधिकारीहरूले बताएका छन्।

नेपालमा हाल उक्त भाइरस परीक्षणको व्यवस्था नहुँदा हङ्‌कङ पठाएर परीक्षण गरिएको अधिकारीहरूले जानकारी दिए।

गत शुक्रवार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चीनबाट आएका एकजना नेपालीलाई कोरोनाभाइरस सङ्क्रमण भएको पाइएको जनाएको थियो।

उनी हाल स्वस्थ भइसकेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले बताए।

उनले भने, "हामीले नेपालमै कोरोनाभाइरसको परीक्षणको व्यवस्था मिलाउन सबै तयारी गरिसकेका छौँ।"

"सम्भवत: एक-दुई दिनभित्रै हामी त्यस्तो व्यवस्था मिलाउनेछौँ। ढिलो भएमा पनि एक साताभित्र परीक्षणको सुविधा यहाँ नै उपलब्ध हुन्छ।"

उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चीनबाट आउने मानिसहरूलाई विशेष निगरानी गर्न थालिएको बताए।

उनले भने "हामीले चीन गएर आएका सबैको निगरानी गरिरहेका छौँ। कोही रुघाखोकी लागेको मानिस आएको छ भने त उसलाई हामी त्यहाँबाटै अस्पताल पुर्‍याउँछौँ।"

"आज पनि एकजना व्यक्तिलाई विमानस्थलबाटै अस्पताल पुर्‍यायौँ।"

यस्ता व्यक्तिहरूलाई विभिन्न अस्पतालमा बनाइएका आइसोलेशन वार्डमा राखिने श्रेष्ठले बताए।

श्रेष्ठका अनुसार तातोपानी र रसुवागढीमा पनि परीक्षण केन्द्रहरू राखिएको र त्यहाँ पनि त्यस्तै निगरानी सुरु गर्न लागिएको छ।

अधिकारीहरूले प्रदेशहरूलाई पनि विशेष निगरानी गर्न भनिएको जानकारी दिए।

विशेषगरी पर्यटकीय सहरहरूका अस्पतालमा आइसोलेशन वार्डहरू बनाउन भनिएको बताइएको छ।

चीनबाट सुरु भएको कोरोनाभाइरसको प्रकोप अहिले विभिन्न देशहरूमा पनि देखिएको छ।

मानिसबाट मानिसमा सर्ने भएकाले यो भाइरसलाई घातक मानिएको छ।

चीनका राष्ट्रपति सी जिन्पिङले कोरोनाभाइरस तीव्र गतिमा फैलिरहेको चेतावनी दिएका छन्।

चिनियाँ नववर्षका दिन बिदाको बेलामा आयोजित एउटा उच्चस्तरीय बैठकपछि उनले वरिष्ठ चिनियाँ अधिकारीहरूलाई देश "गम्भीर परिस्थिति" मा रहेको बताए।

चीनको वुहानमा उक्त भाइरस फैलिएको पत्ता लागेपछि कम्तीमा ५६ जनाको मृत्यु भइसकेको छ।

झन्डै २ हजार व्यक्ति सङ्क्रमित भएको पुष्टि भएको छ।

चिनियाँ अधिकारीहरूले लक्षण देखिनुअघि नै सङ्क्रमित व्यक्तिबाट उक्त भाइरस अन्य व्यक्तिमा सर्ने भएकाले त्यसको नियन्त्रण गर्न एकदमै कठिन भएको बताएका छन्।

चीनका स्वास्थ्यमन्त्री मा शियाओवेले उक्त भाइरसको फैलिने क्षमता बढेको पाइएको संवाददाताहरूलाई बताएका छन्।

यूकेका अनुसन्धानकर्ताहरूले चीनले उक्त भाइरस नियन्त्रण गर्न नसक्ने सम्भावना भएको चेतावनी दिएका छन्।

यसैबीच विकट हिमाली जिल्ला हुम्लाका दुईवटा गाउँपालिकामा रुघाखोकीले पाँच जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रवक्ता श्रेष्ठका अनुसार हिउँ परेर चिसो बढेकाले वृद्ध र पहिले देखि नै विभिन्न रोग लागेकाहरूको निधन भएको हो।

स्वास्थ्य सेवा कार्यालय हुम्लाका सरुवा रोग शाखाका संयोजक मनबहादुर रोकायाका अनुसार हालसम्म प्रयोगशाला परीक्षण नभएकाले उक्त रुघाखोकी मौसमी हो वा अन्य भन्ने पत्ता लाग्न सकेको छैन।

विकट हिमाली जिल्ला हुम्लामा यातायात र सञ्चारजस्ता पूर्वाधारको समेत अभाव रहेको छ
चंखेली र सर्केगाड गाउँपालिकामा यस्तो रुघाखोकी फैलिएको हो।

स्वस्थ्य मन्त्रालयका प्रवक्ता श्रेष्ठले त्यस क्षेत्रका लागि स्वास्थ्य टोली परिचालन भइसकेको बताए।

जुम्लास्थित बीबीसी संवाददाता कृष्णमाया उपाध्यायका अनुसार आइतवार कर्णाली प्रदेश स्वास्थ्य विकास मन्त्रालयको टोली त्यसतर्फ प्रस्थान गरेको छ।

औषधि र स्वास्थ्यकर्मी सहितको टोली त्यता प्रस्थान गरेको चंखेली स्वास्थ्यचौकी प्रमुख सुरवीर शाहीले बताए।

उनले त्यस क्षेत्रबाट नमुना सङ्कलन गरेर काठमाण्डू पठाइन लागेको जानकारी दिए।

तिब्बतसँग सीमाना जोडिएको हुम्लामा अहिले अत्यधिक चिसो मौसम रहेको अधिकारीहरू बताउँछन्।

बिरामीहरू रहेको क्षेत्र पुग्न हुम्ला सदरमुकामबाट झण्डै ३ दिन पैदल हिड्नुपर्छ।

त्यहाँ टेलिफोनको सुविधा पनि नभएको बताइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?