अब नेपालमै मोबाइल सेट उत्पादन गरिने….

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर २९, २०७३
|
|
१५४ पटक हेरिएको
Shares

सारांश

  • चितवन, २९ मङ्सिर ।
  • भारतीय मोबाइल उत्पादक कम्पनी फास्टट्रयाक कम्युनिकेसन प्रालिले नेपाली व्यवसायीसँग सहकार्य गरेर नेपालमै मोबाइल सेट उत्पादन गर्ने भएको छ ।
  • उक्त कम्पनीले नेपालका व्यवसायीको कम्पनी प्रभु मोबाइल प्रालिसँग सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।

चितवन, २९ मङ्सिर । भारतीय मोबाइल उत्पादक कम्पनी फास्टट्रयाक कम्युनिकेसन प्रालिले नेपाली व्यवसायीसँग सहकार्य गरेर नेपालमै मोबाइल सेट उत्पादन गर्ने भएको छ ।

उक्त कम्पनीले नेपालका व्यवसायीको कम्पनी प्रभु मोबाइल प्रालिसँग सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । सम्झौतापत्रमा प्रभुका तर्फबाट प्रबन्ध निर्देशक अर्जुन शर्मा र फास्टट्रयाकका तर्फबाट कम्पनीका निर्देशक योगेश चौगले हस्ताक्षर गर्नुभएको छ । चौगले आउँदो एक वर्षभित्रमा नेपालमा मोबाइल सेट उत्पादन कम्पनी स्थापना गरिसक्ने बताउनुभयो ।

काठमाडौँ वा चितवनमध्ये एक ठाउँमा उद्योग स्थापनाका लागि अध्ययन भइरहेको उहाँले बताउनुभयो । सन् २००८ बाट भारतको उत्तरप्रदेशस्थित ग्रेटरनोयडाबाट कम्पनीले लेमन मोबाइल सेट उत्पादन गर्दै आएको छ । कम्पनीले अहिले २८ मोडलका मोबाइल उत्पादन गर्दै आएकामा १६ वटा मोडल नेपाली बजारमा बिक्री वितरण भइरहेको चौगले बताउनुभयो ।

नेपालीले नेपाली उत्पादन मन पराएको आफूले पाएको भन्दै उहाँले नेपालीकै रोजाइ अनुसार उद्योग स्थापना गर्न लागिएको बताउनुभयो । लेमन मोबाइल नेपाली बजारमा अहिले मासिक ३० हजार वटा बिक्री वितरण भइरहेको भन्दै चौगले यहाँको कानुन अनुसार नेपाली लगानीकर्तालाई कम्पनीमा समावेश गर्ने बताउनुभयो ।

प्रभु मोबाइल प्रालिका निर्देशक केशव लामिछानेले नेपालमा पहिलो पटक फास्टट्रयाकसँग मिलेर मोबाइल सेट उत्पादन गर्न लागेको बताउनुभयो । “लागत कति लाग्छ एकिन नभए पनि आवश्यक मात्रामा लगानी गर्न यो समूह तयार छ,” उहाँले भन्नुभयो । कम्पनीले पाँच वटा नयाँ मोबाइल सेट नेपाली बजारमा ल्याएको छ ।

लेमन कम्पनीको मोबाइलको मूल्य बजारमा रु आठ सयदेखि रु तीन हजार तीन सयसम्म पर्छ । नेपालमै यसको उत्पादन हुनसके मूल्य अझै घटाउन सकिने निर्देशक लामिछानेको भनाइ छ । फास्टट्रयाकले भारतमा वार्षिक रु दुई अर्ब बराबरको मोबाइल बिक्री गर्दै आएको बताइएको छ ।

रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?