वाग्मतीको धार परिवर्तन र एकोहोरो कटानले टौदह संकटमा, स्थानीय बस्ती गम्भीर जोखिममा

Asmita-Newsdesk Asmita-Newsdesk
|
बुधबार, आषाढ ३१, २०८३
|
|
३ पटक हेरिएको
Shares
वाग्मतीको धार परिवर्तन र एकोहोरो कटानले टौदह संकटमा, स्थानीय बस्ती गम्भीर जोखिममा

सारांश

  • काठमाडौँको कीर्तिपुर नगरपालिका–६ मा अवस्थित प्रमुख पर्यटकीय गन्तव्य टौदह क्षेत्र वाग्मती नदीको तीव्र कटानका कारण गम्भीर संकटमा परेको छ।
  • विगत दुई वर्षदेखि नदीले आफ्नो प्राकृतिक धार परिवर्तन गरी पश्चिमी किनाराको माटो कटान गर्न थालेपछि टौदहको पूर्व र दक्षिणतर्फका मानव बस्तीहरू जोखिममा परेका हुन्।
  • स्थानीयवासी मिलन खड्काका अनुसार नदी कटानको असर टौदहको मुख्य जलाधारसम्म पुगिसकेको छ।

काठमाडौँको कीर्तिपुर नगरपालिका–६ मा अवस्थित प्रमुख पर्यटकीय गन्तव्य टौदह क्षेत्र वाग्मती नदीको तीव्र कटानका कारण गम्भीर संकटमा परेको छ। विगत दुई वर्षदेखि नदीले आफ्नो प्राकृतिक धार परिवर्तन गरी पश्चिमी किनाराको माटो कटान गर्न थालेपछि टौदहको पूर्व र दक्षिणतर्फका मानव बस्तीहरू जोखिममा परेका हुन्।

स्थानीयवासी मिलन खड्काका अनुसार नदी कटानको असर टौदहको मुख्य जलाधारसम्म पुगिसकेको छ। अहिले टौदहको पूर्वतर्फका कान्लाहरूबाट पानी चुहिन थालेकाले समयमै नियन्त्रणको ठोस पहल नगरे यस ऐतिहासिक पर्यटकीय क्षेत्रको अस्तित्व नै मेटिने खतरा बढेको छ।

नदीको धार एकातर्फ मात्र सोझिनुमा सीमावर्ती स्थानीय तहको एकलौटी विकास निर्माण मुख्य कारण देखिएको छ। वाग्मतीको पारिपट्टि ललितपुर महानगरपालिकाले आफ्नो क्षेत्र जोगाउन पक्की पर्खाल लगाएपछि नदीको सम्पूर्ण बहाव पश्चिम किनारतर्फ केन्द्रित भई एकोहोरो कटान भइरहेको छ।

प्राकृतिक विपत्तिको यो जोखिमलाई पश्चिमतर्फ कीर्तिपुर–४ स्थित दूधपोखरी क्षेत्रबाट बगेर आउने खहरे खोलाले थप चुनौतीपूर्ण बनाएको छ। वाग्मती र खहरे खोला दुवैतर्फबाट भइरहेको क्षतिका कारण ऐतिहासिक दह र आसपासका नागरिकको सुरक्षा व्यवस्था निकै कमजोर बन्दै गएको छ।

छिमेकी दक्षिणकाली नगरपालिकाले खोलाको दक्षिणतर्फ संरक्षण पर्खाल लगाएर आफ्नो क्षेत्र सुरक्षित गरे पनि कीर्तिपुर नगरपालिकाले भने तटबन्ध निर्माणमा उदासीनता देखाएको छ। स्थानीय तहहरूबीच समन्वयको अभाव र फितलो प्रशासनिक पहलका कारण कटान नियन्त्रणको काम अलपत्र पर्दा स्थानीय नागरिकमा त्रास फैलिएको छ।

 टौदहजस्तो राष्ट्रिय सम्पदाको संरक्षण र नागरिकको जिउधनको रक्षाका लागि सम्बन्धित निकायले अविलम्ब दिगो तटबन्ध निर्माण गर्नुपर्ने आवश्यकता देखिन्छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?