कृष्णबहादुर महराको उपप्रधानमन्त्री पद दंगालीको हातमा
सारांश
- १३ मंसिर, दाङ ।
- माओवादीका शीर्षनेता कृष्णबहादुर महरा पार्टीका तर्फबाट अनवरतरुपमा मन्त्री बनिरहन पाउने भाग्यमानी नेता हुन् ।
- उनी अहिले पनि विनाविभागीय मन्त्री छन् ।
१३ मंसिर, दाङ । माओवादीका शीर्षनेता कृष्णबहादुर महरा पार्टीका तर्फबाट अनवरतरुपमा मन्त्री बनिरहन पाउने भाग्यमानी नेता हुन् । उनी अहिले पनि विनाविभागीय मन्त्री छन् ।
चुनावपछि वाम गठबन्धनले बहुमत ल्यायो भने एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार बन्दा माओवादी नेता महरा सम्भावित उपप्रधानमन्त्री हुन् । चुनाव जितेर नारायणकाजी उपप्रधानमन्त्री बने भने पनि महरा मन्त्री त पक्कापक्की हुन् ।
तर, सांसद पदमा जित हात नपारी मन्त्री बन्न नपाइने भएकाले अब फेरि मन्त्री बन्नका लागि माओवादी नेता महराले चुनाव उनीमाथि जित्नैपर्ने ‘प्रेसर’ छ । तर, अब महराको सम्भावित उपप्रधानमन्त्री वा मन्त्री पद दाङ क्षेत्र नम्बर २ का मतदाताहरुको हातमा छ ।
अहिले दाङ क्षेत्र नम्बर २ ले देशकै ध्यान तानेको छ । किनकि यहाँ हेभीवेट नेताहरुको प्रतिस्पर्धा मात्रै छैन, विगतमा परस्परविरोधी एमाले र माओवादी मिलेर चुनाव लडिरहेका छन् ।
अझ रोचक त के छ भने माओवादी जनयुद्ध उत्कर्षमा रहेका बेला हिंसाको अन्त्य र प्रजातान्त्रिक निकासको पक्षमा जनमत सिर्जना गर्न भन्दै शंकर पोख्रेलले राप्ती अञ्चलका पहाडी जिल्लाहरुमा शान्ति पदयात्राको नेतृत्व गरेका थिए । माओवादी आन्दोलनको अध्ययन र समस्या समाधानका सन्दर्भमा पार्टीले गठन गरेको कार्यदलको सचिवसमेत थिए उनी । भावी मुख्यमन्त्रीका रुपमा शंकरको उम्मदेवारीले दाङ क्षेत्र नम्बर २ विशेष चर्चामा छ ।
अहिले एमाले-माओवादी गठबन्धनबाट पोख्रेल प्रदेशसभाको उम्मेदवार बन्दा जनयुद्धको उदगमथलो त्यही राप्ती अञ्चलको रोल्पा घर भएका महरा दाङ-२ बाट प्रतिनिधिसभा उम्मेदवार छन् ।
कोको छन् उम्मेदवार ?
प्रतिनिधिसभा सदस्यतर्फ उम्मेदवारी दर्ता गराएका ९ जनामध्ये वाम गठबन्धनबाट माओवादीका महरा हेभिवेट नेता हुन् । उनीसँग कांग्रेसका राजु खनाल प्रतिस्पर्धामा छन्, जो दोस्रो संविधानसभा निर्वाचनमा दाङ क्षेत्र नम्बर ३ बाट माओवादीलाई नै हराएर निर्वाचित भएका थिए ।
यीबाहेक नयाँ शक्ति पार्टी नेपालका गगन शाह, राष्ट्रिय जनमोर्चाका गणेश प्रसाद आचार्य, नेकपा मालेका भोजबहादुर विश्वकर्मा, संघीय खम्बुवान लोकतान्त्रिक पार्टी नेपालका टेकमान बुढा, राष्ट्रिय जनमुक्ति पार्टीका ठाकुर रोका, मंगोल नेशनल अर्गनाइजेसनका दिलमाया बुचा पनि उम्मेदवार छन् । यसैगरी बालाराम पौडेल पनि प्रतिनिधिसभा सदस्यतर्फ स्वतन्त्र उम्मेदवार छन् ।
महरा कति सुरक्षित ?
दाङ क्षेत्र नम्बर २ मा बंगलाचुली गाउँपालिका पूरै र जिल्ला सदरमुकामसमेत रहेको घोराही उपमहानगरपालिकाको अधिकांश भूभाग पर्दछन् । घोराही उपमहानगरपालिकाका वडानम्बर ४, ६, ७, ८, ९, १०, ११, १२, १३, १४, १५, १६, १७, १८ र १९ नम्बर वडा पर्दछन् । यसैगरी तुल्सीपुर उपमहानगरपालिकाका वडा नम्बर १६, १७, १८ र १९ नम्बर वडा पर्दछन् ।
यहाँ एक लाख ८ हजार ८७० मतदाता छन् जसमा पुरुषको संख्या ६२ हजार ५५ र महिलाको संख्या ५६ हजार ८१५ छ । मतदान केन्द्र १२८ वटा तोकिएको छ ।
स्थानीय चुनावको नतिजालाई हेर्ने हो भने वाम गठबन्धन नै बलियो छ । घोराही उपमहानगरपालिकामा मेयर र उपमेयर दुबै पद एमालेले जितेको छ । कांग्रेस दोस्रो र माओवादी तेस्रो भएका छन् ।
दुई नम्बर निर्वाचन क्षेत्रभित्र पर्ने घोराही उपमहानगरपालिकाको वडाको नतिजा हेर्दा ७ वटा वडा एमालेले, ५ वटा वडा कांग्रेसले र ३ वटा वडा माओवादी केन्द्रले जितेका छन् ।
त्यसैगरी तुलसीपुर उपमहानगरपालिकाका तीनवटा वडामा एमालेले र एउटा वडामा कांग्रेसले जितेको छ ।
बंगलाचुली गाउँपालिकामा अध्यक्ष, उपाध्यक्षसहित अधिकांश सदस्य माओवादी केन्द्रले जितेको छ । यो आधारमा कांग्रेसभन्दा वाम गठबन्धन दुई नम्बर निर्वाचन क्षेत्रमा बलियो देखिन्छ ।
कांग्रेसका उम्मेदवारहरु भन्दा वाम गठबन्धनका उम्मेदवारहरु हेभिवेटका भएकाले उनीहरुले बढी भोट तान्न सक्ने सम्भावना देखिएको छ । तर, कांग्रेस नेताहरु भने वाम गठबन्धनबाट आधा भोटमात्र तान्न सकियो भने जित्ने आंकलनमा छन् ।
भावी मुख्यमन्त्री पनि यही क्षेत्रमा

दाङ क्षेत्र नम्बर २ ले भावी उपप्रधानमन्त्रीको मात्रै नभएर पाँच नम्बर प्रदेशका भावी मुख्यमन्त्रीको समेत फैसला गर्दैछ । भावी मुख्यमन्त्रीका रुपमा हेरिएका एमाले नेता शंकर पोखरेल प्रदेशसभातर्फ २ (क) मा उम्मेदवार छन् ।
पोख्रेलले कांग्रेसका कमलकिशोर घिमिरेसँग प्रतिस्पर्धा गर्दैछन् ।
यीबाहेक राष्ट्रिय जनमुक्ति पार्टीकी आशा नेपाली, नेकपा मालेका कपिलदेव पोख्रेल, राष्ट्रिय जनमोर्चाबाट खडानन्द खनाल, नयाँ शक्तिबाट पदमा बानिया, संघीय खम्बुवान लोकतान्त्रिक पार्टीबाट बमबहादुर बुढामगर पनि उम्मेदवार छन् ।
स्वतन्त्रतर्फ विश्वनाथ ज्ञवाली र सोमराज रैदास पनि प्रदेशसभाका उम्मेदवार हुन् ।
एमाले नेता पोखरेल ३२ वर्षको उमेरमा पहिलो पटक ०५१ सालमा दाङको क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । ०६४ को पहिलो संविधानसभा निर्वाचनमा भने उनी समानुपातिकतर्फबाट सभासद बनेका थिए । उनी पूर्वसञ्चारमन्त्रीसमेत हुन् ।
त्रिभुवन विश्वविद्यालयबाट एमबीए तहको अध्ययन पूरा गरेका र बैचारिक क्षमता भएको नेताका रुपमा चिनिने पोख्रेल विद्यार्थी राजनीतिबाट अखिलको केन्द्रीय अध्यक्ष हुँदै राजनीतिमा आएका हुन् ।
शंकर पोख्रेलका प्रतिस्पर्धी कांग्रेसका कमलकिशोर घिमिरे व्यवसायी हुन् । उनी कांग्रेसका पूर्वसांसद कृष्णकिशोर घिमिरेको कान्छो भाइ हुन् ।
प्रदेश ‘ख’ मा कोको भिड्दैछन् ?
दाङ क्षेत्र नम्बर २ को (ख) मा ९ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । वाम गठबन्धनबाट एमालेका अमरबहादुर डाँगी क्षेत्री र कांग्रेसका भरतबहादुर न्यौपानेलाई मुख्य प्रतिस्पर्धी मानिएको छ ।
यीसँगै नयाँ शक्ति पार्टीका कृष्णप्रसाद चौधरी, नेकपा मालेका जितबहादुर वली, राष्ट्रिय जनमोर्चाका टीका बहादुर वि., संघीय खम्बुवान लोकतान्त्रिक पार्टीबाट बुद्धिमान चौधरी, देशभक्त जनगणतान्त्रिक मोर्चाबाट राम जी थारु र राष्ट्रिय जनमुक्तिबाट शालिकराम नेपाली उम्मेदवार छन् ।
यस्तै सीताराम रेग्मी पनि प्रदेशसभा २ (ख) मा स्वतन्त्रबाट उम्मेदवार छन् । अन्लाईनखबर बाट
प्रतिक्रिया