मधेसमा कत्ल की रातः दारुमांस, ढौवाकौडी र जातभात

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर १९, २०७४
|
|
२४ पटक हेरिएको
Shares
मधेसमा कत्ल की रातः दारुमांस, ढौवाकौडी र जातभात

सारांश

  • १९ मंसिर, कल्याणपुर सिरहा ।
  • मधेसमा चुनावअघिको मौन अवधिलाई ‘कत्ल की रात’ भन्ने गरिन्छ ।
  • कत्ल अर्थात हत्या ।

१९ मंसिर, कल्याणपुर सिरहा । मधेसमा चुनावअघिको मौन अवधिलाई ‘कत्ल की रात’ भन्ने गरिन्छ । कत्ल अर्थात हत्या । चुनाव प्रचार प्रसारका क्रममा उम्मेदवार जतिसुकै बलियो देखिए पनि कत्ल की रातले नतिजा उलटफेर बनाउन सक्छ ।

कत्लकी रातमा के सम्म हुन्छ ?

एक सातासम्म मधेसको चुनावी रिपोर्टिङका क्रममा यस्ता धेरै कहानी सुनिए । साँच्चिकै कत्लकी रातले मधेसमा उम्मेदवारहरुको बेचैनी बढाइदिएको छ । किनकि मौन अवधिका अन्तिम दुई सातले सम्भावित नतिजा बदल्ने गर्छन् ।

दारु मांस, ढौवा कौडी

चुनाव प्रचारको अन्तिम क्षणमा धनुषाको मुसरनिया पुगेका राजपा नेता राजेन्द्र महतोले कत्लकी रातबाट जागा बस्न आफ्ना कार्यकर्तालाई निर्देशन दिए । दारु मांस, ढौवा कौडी लिएर आउनेहरुलाई जसरी पनि रोक्नू ।

त्यसपछि उनले जनतालाई भने- हामी मधेसीहरु किन पछि पर्‍यौं भने आफ्नै कारण पछि परेका हौं । चुनावको एक दिनअघि जसले दारु, मासु र ढौवा कौडी दिन्छ उसैलाई भोट दिएर जिताउँछौं । भोट किनेर जितेको मान्छेले तपाईको कुरा किन सुन्छ ?

मौन अवधिमा मधेसमा भित्री बस्तीहरुमा मासु भात, रक्सी र पैसाको चलखेल शुरु भइसकेको छ । कत्ल की रातसम्म हरेक दिन भोजभतेर चल्नु् सामान्य रहेको महोत्तरीको मटिहानी नगरपालिकाका मेयर हरि मण्डल बताउँछन् । एउटा पक्षले भोज भतेर थालेपछि अर्कोले नगरी सुखै छैन ।

हामी सिरहाको कल्याणपुर पुग्दा स्कूल पछाडि खाली जमिनमा ठूलो भोजभतेरको तयारी भइरहेको थियो । ८० किलो मासु अर्डर गरिसकेको भन्दै एकजना व्यवसायी बजारमा मासु खोज्दै हिँडिरहेका थिए । दिउँसो खाना पकाएर तयार पारिएपछि कसैले गाडीमा राखेर अन्तै लगेर खुवाउछन् भने कसैले त्यहीँ गाउँले जम्मा गरेर भोज लगाउँछन् ।

कम्तिमा मतदानको बिहानसम्म हरेक टोलमा मासु रक्सीसहितको भोज अनिवार्य नै हुने गरेको छ । दलहरुले अलग-अलग मेस सञ्चालन गर्दा स्थानीय व्यवसायीहरुले मनग्गे आम्दानी गर्न पाउँछन् ।

चुनावको अघिल्लो रात कतिपय बस्तिमा रातारात उम्मेदवारले महिलालाई सारी बाँड्छन् । कतिपय अगुवा पुरुषलाई मोबाइल पनि बाँड्छन् । विहानै नयाँ सारी लगाएर मतदान केन्द्रमा गए भने बुझ्नुपर्छ कि कत्लकी रातमा सारी बाँडिएछ ।

ढौवा, कौडीः स्थानीय चुनावले मान्छे बिगार्‍यो

सिराहाको कर्जन्हामा भेटिएका राजपा नेता राजकिशोर यादव तनावमा थिए । क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभाको उम्मेदवार बनेका यादव मुसहर बस्तिमा जाँदा रित्तो हात किन आएको भनेर मतदाताले उनको कुरै सुन्न चाहेनछन् ।

भर्खरै सम्पन्न स्थानीय चुनावले मतदाताको बानी बिगारेको रहेछ । वडा सदस्यसम्मका उम्मेदवारले चुनावभरि हरेक दिन भोजभतेर र भोटका दिन नगद दिएका रहेछन् । त्यसैले उनीहरु अहिले बिनापैसा र बिना भोज कुनै उम्मेदवारका कुरा सुन्नेवाला देखिएनन् ।

‘पैसाको त कुरै नगरौं, भोत भतेर र हातमा क्यास नभई कोही भोट दिनेवाला छैन, स्थानीय चुनावमा एउटै वडाका दर्जनौं उम्मेदवारको पालैपालो खाएर पल्किएका मतदाताको बानी नै बिगि्रसकेको छ’ सिराहा १ बाट उम्मेदवार बनेका कांग्रेस नेता प्रदीप गिरीले हामीसँगको भेटमा चुनावी दुःख पोखे ।

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि अधिकतम २५ लाख रुपैयाँ खर्चको सीमा तोकेको छ । तर २५ लाख त त्यस्तै पर्दा मौन अवधिमा एकै दिनमा खर्च गर्नुपर्ने अवस्था रहेको गिरीले बताए । गिरीका अनुसार पैसाबिना आफ्नै कार्यकर्ता त हिँड्न छाडेछन्, मतदाताको के कुरा ?

‘म चुनाव उठेको छु, अर्को उम्मेदवारले २० लाख खर्च गर्छ भने मैले २५ लाख खर्च गर्नु परेन ?’ गान्धीवादी गिरीले खुलेआम हामीसँग विवशता पोखे । उनले यसो भनिरहँदा एकजना सहयोगीले सखुवा नान्कारपट्टीका एक मुखियाले भेट्न खोजेको सुनाए । सम्भवतः मुखियाले भोटको मोलतोल गर्न खोजे ।

जनकपुरको मिल्स एरियास्थित बिमलेन्द्र निधिको निवासमा हामी कुरा गर्न पुग्यौं । हामीसँग कुरा हुँदाहुँदै उनका सहयोगीले कसैको फोन दिए । निधिले मैथिलीमा कुरा गर्दै सोधे- तपाईको साथमा कति भोट छन् ? उताबाट डेढ सय भोट छन् भन्ने जवाफ आयो । त्यसछि निधिले भने- ठीक छ तपाईलाई म हेर्छु, विश्वासले तपाईसँग कुरा गर्छ ।

मधेसमा -२ नम्बर प्रदेश) स्थानीय तहको चुनावले मतदाताको मुख मीठो बनाइदिएको छ । दुई महिनाअघिमात्र सम्पन्न स्थानीय चुनावमा भोजभतेर र नगदको खोलो बगेको थियो । त्यसबेला पल्किएका मतदाताको अपेक्षा धेरै भएकाले पनि खर्च धान्न नसकिने गरि बढेको प्रदीप गिरीका प्रतिस्पर्धी एमाले नेता गंगाप्रसाद यादवले गुनासो गरे ।

कत्लीका रात-निर्णायक  जात

 

मधेसवादी गठबन्धनका शीर्ष नेता महन्थ ठाकुरलाई पछ्याउँदै हामी महोत्तरीका बिभिन्न गाउँटोलमा पुग्दा त्यहाँ जातीय धु्रवीकरण हामी ‘बहरिया’ र पहरिया (पहाडिया)ले बुझ्ने गरी शुरु भइसकेको थियो । महन्थ ठाकुरको आह्वानमा मधेस आन्दोलनमा कफन बाँधेर हिँडेका युवा आफ्नो जातवाला तर अर्कै पार्टीको उम्मेदवारको प्रचारमा हिँड्न थालिसकेका थिए ।

चुनाव प्रचारको अन्तिम दिन महन्थले मटिहानीका कम्तिमा एक दर्जन सानातिना टोलभेलाहरुलाई सम्बोधन गरे । उनी हरेक भाषणमा भनिरहेका थिए-हामी मधेसीहरु जब चुनाव आउँछ, अनि आफ्नो जात खोज्न थाल्छौं । तपाईहरुलाई सरकारले गोली चलाउँदा बचाउन तपाईको जातवाला आयो ? जब चुनाव आउँछ, अनि जात प्यारो हुन्छ ?

मधेसमा चुनावको अन्तिम बेला पैसा र भोजभतेर भन्दा डरलाग्दो चलखेल जातकै हुने गर्दो रहेछ । तराई मधेसमा अहिले पनि पहाडको भन्दा धेरै जातीय भावना देखिने गरेको छ । चुनावका बेला बलियो संगठन भएको प्रभावशाली नेतालाई सामान्य उम्मेदवारले जातीय मतका कारण पराजित गरेका धेरै उदाहरण छन् ।

आफ्नो जातको उम्मेदवारलाई भोट नदिएर अर्कोलाई भोट दिए पाप लाग्ने त्रासदेखि चुनावपछिका सम्भावित आक्रमणको डर पनि फैलाइन्छ । ०७० को चुनावमा महोत्तरीका एक उम्मेदवारले आफूलाई मत नदिई अर्को जातका उम्मेदवारलाई मत दिएको भनेर चुनाव हारेपछि मतदातामाथि मारपिटमै उत्रिएको समाचार आएको थियो ।

ब्याकवार्ड र फरवार्डको कुराले चुनावको बेला निकै अर्थ राख्छ । मौन अवधि शुरु नहुँदै मधेसका धेरै ठाउँमा उम्मेदवारले आफ्नो अनुकुलतामा जातको कुरा उठाउन थालिसकेका थिए । अब ‘कत्लकी रात’ को अन्तिम प्रहरमा जातका अगुवाहरु भेला भएर उर्दी जारी गर्नेछन्,जसले चुनावी परिणामलाई हेराफेरी गरिदिनेछ ।

र अन्तमा,जे देखियो

मधेसका पाँच जिल्लाका भित्री बस्ती र भारतीय सीमासम्म पुगेर हामीले ‘र्‍यान्डम’ मत सर्वेक्षण गर्‍यौं । हामीसँग कुरा गर्ने ५० प्रतिशत मतदाताले कि त जातको बैठकपछि मत दिने कुरा सुनाए, कि त जसले ढौवा -पैसा) दिन्छ, उसैलाई भोट दिने बताए ।

कतिपय बस्तिमा भने भोटको ठेक्का लिने ‘बिचौलिया’ हुँदारहेछन् । गाउँका हुनेखाने जमिन्दार, चल्तापूर्जा व्यक्ति वा मुखियाले उम्मेदवारसँग आफ्नो टोलको जम्मा मतदाता संख्या देखाएर डिल गर्छन् । त्यो टोलबाट भनेजति मत नआए पैसा फिर्ता गर्नेसम्मको बाचा कबुल हुन्छ ।

जसले बढी पैसा दिन्छ, उसैको पक्षमा भोट खन्याउने ठेक्का उसले पाउँछ । यस्ता ठेकेदारहरु हामीले भेटेका धेरै उम्मेदवारहरु समक्ष प्रत्यक्ष वा अप्रत्यक्ष माध्यमबाट पुगिसकेका थिए । यस्ता ठेकेदारहरु सकेसम्म प्रभावशाली नेता, निर्णायक जातवाला वा बलियो संगठन भएको पार्टीका उम्मेदवारहरुलाई मत बेच्दा आफूलाई सुरक्षित ठान्दा रहेछन् ।

मधेसमा चुनावको अन्तिम रात मुद्दा होइन, मुद्रा बलियो हुन्छ । गरीव, दलित र तटस्थ मतदाताको बस्तीमा अन्तिम रात जसले आफ्नो प्रभाव देखायो,उही हुनेछ बिजेता ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Manoj Lamichhane

    कर्णाली का ले अनुदान को चामल खाना ले सिप बिकाश हुन सकेन? तराई मा २१साल मा बिर्ता ऊन्मुलन भएर पनी बिर्तावाल सिदिएन? जतिसुकै नियम कानुन, योजना परियोजना बनाए पनी सरोकार वाला ले थाहापत्तो पाउदैनन् ? यसरी चुनाव गर्दा आउने को त भन्दा आर्थिक हैसियत भएका, लाठिमुन्ग्री गर्न सक्ने, पहुचवाला को मात्र चुनाव हुने भयो? जहिले पनी तिनी हरू कै बर्चस्व रहने भयो ? यस बिषय मा कस्ले चिन्ता लेला? यदि यहि तरिका लाइ निरन्तरता दिने हो भने बिहारी शैली कै चुनाव भैरहन्छ? बिकाश चाहि आकाश तिर खोज्न जानु पर्छ?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाबुराम भन्छन्- माओवादी रहिनँ, नारायणकाजी भन्छन्- माओवादी थिइनँ
बाबुराम भन्छन्- माओवादी रहिनँ, नारायणकाजी भन्छन्- माओवादी थिइनँ
आइएनजिओकाे खर्चमा कृषि मन्त्रालयका १८९ कर्मचारी विदेश भ्रमणमा
आइएनजिओकाे खर्चमा कृषि मन्त्रालयका १८९ कर्मचारी विदेश भ्रमणमा
पत्नीलाई जबर्जस्तीकरणी गरेको भन्दै पति थुनामा
पत्नीलाई जबर्जस्तीकरणी गरेको भन्दै पति थुनामा
इटालीको रात्रिक्लबमा भागदौड हुँदा ६ जनाको मृत्यु
इटालीको रात्रिक्लबमा भागदौड हुँदा ६ जनाको मृत्यु
११ बर्षीया  निशान खड्काकाे हत्या गर्ने यी हुन् अपहरणकारी
११ बर्षीया निशान खड्काकाे हत्या गर्ने यी हुन् अपहरणकारी
महानगर दियो मन्दिर क्षेत्रका पसल हटाउन २४ घण्टे अल्टिमेटम
महानगर दियो मन्दिर क्षेत्रका पसल हटाउन २४ घण्टे अल्टिमेटम
ओली र प्रचण्डबीच प्रदेशको मन्त्रिमण्डलमा भागवण्डाको यस्तो भयो सहमति
ओली र प्रचण्डबीच प्रदेशको मन्त्रिमण्डलमा भागवण्डाको यस्तो भयो सहमति
कसरी मिल्यो करिना कपुर र सन्नी लियोनिको छोराको अनुहार दुरुस्तै
कसरी मिल्यो करिना कपुर र सन्नी लियोनिको छोराको अनुहार दुरुस्तै
सिमकार्ड हराएमा र बिग्रिएमा स्वयं उपस्थित भई सिम कार्ड प्राप्त गर्न अनुरोध
सिमकार्ड हराएमा र बिग्रिएमा स्वयं उपस्थित भई सिम कार्ड प्राप्त गर्न अनुरोध
नेकपा संसदीय दलको निर्णयः नाम बागमती र राजधानी हेटौंडा
नेकपा संसदीय दलको निर्णयः नाम बागमती र राजधानी हेटौंडा

तपाईंले छुटाउनुभयो कि?